मध्यपुरथिमी । नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिको आयोजनामा मध्यपुर स्काउटको २३औँ स्थापना दिवस एक समारोहबीच सम्पन्न भएको छ ।
मध्यपुर थिमि नगरपालिकाका उप–प्रमुख बिजयकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा सदस्यता वृद्धि आयुक्त भुवनचरण श्रेष्ठले स्वागत मन्तव्य राख्दै मध्यपुर स्काउटको गौरवशाली इतिहासको चर्चा गरे ।
बिद्यार्थीलाई असल नागरिक बन्न सहयोगी स्काउटिङ्ग एक सशक्त अनौपचारिक अभियान हो भन्दै प्रमुख अतिथि श्रेष्ठले मध्यपुर स्काउटको इतिहासको तारिफ गर्दै भविष्य पनि उज्ज्वल रहेको बताए र मध्यपुर स्काउटसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
विशेष अतिथिको मन्तव्य राख्दै नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्यले मध्यपुर स्काउटको स्थापनाकालदेखिको संक्षिप्त इतिहासको चर्चा गर्दै सक्षम नेतृत्वका कारण आज मध्यपुर स्काउट देशकै नमुना स्काउट बन्न सफल भएकोमा खुशी व्यक्त गरे ।
त्यसैगरी, कार्यक्रमका अतिथि तथा मध्यपुर स्काउटका पूर्व स्थानीय आयुक्त हरिबहादुर श्रेष्ठले बिबिध विषम परिस्थितिमा मध्यपुर स्काउटले खेलेको बहादुरीपूर्ण भूमिकाको स्मरण गर्दै हालै सम्पन्न स्काउट निर्वाचनले स्काउटिङ्ग अभियानलाई व्यक्तिप्रधान नभई नीतिप्रधान भई अघि बढ्न मार्ग–प्रशस्त गर्ने बिश्वास व्यक्त गरे ।
नेपाल स्काउट, बागमती प्रदेश स्काउटका महिला सदस्य सानू चक्रधर, राष्ट्रिय सह–प्रशिक्षक दिलकृष्ण प्रजापति, मध्यपुर स्काउटका कार्यसमिति सदस्यहरू, स्थानीय स्काउटरहरूलगायत रोभर–रेञ्जर तथा स्काउटहरूको सहभागितामा सम्पन्न सो समारोह स्काउट भवनसँगै जोडिएको थिमी सेरामिक्सको सभाहलमा सम्पन्न भएको थियो ।
मध्यपुर स्काउट कार्यसमिति सदस्य रबिना बजूले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमका सभापति तथा स्थानीय आयुक्त तुल्सीहरि प्रजापतिले सहयोगी एवम् सहभागी सम्पूर्णमा धन्यवादज्ञापन गर्दै मध्यपुर स्काउटले बिगत २ बर्षे तदर्थ समिति कार्यकालमा सञ्चालन गरेका बिबिध सकारात्मक एवम् रचनात्मक गतिविधिको संक्षिप्त चर्चा गर्दै स्काउटिङ्ग अभियान बिश्वासको जगमा मात्र बलियो हुने धारणा व्यक्त गरे ।
-----

