२०८३, कार्तिक १५ गते आइतबार

नागढुङ्गा सुरूङमार्ग माटो सुहाउँदो नयाँ दस्तावेज हुन्छ : प्रधानमन्त्री प्रचण्ड

नागढुङ्गा सुरूङमार्ग माटो सुहाउँदो नयाँ दस्तावेज हुन्छ : प्रधानमन्त्री प्रचण्ड


  • मेरोभ्यूज
  • बैशाख ३, २०८१ सोमबार

  • नागढुङ्गा सुरूङमार्ग माटो सुहाउँदो नयाँ दस्तावेज हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुने बताएका छन् । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक-थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको भौगोलिक बनौटका आधारमा सुरूङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।

    राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने, “मैले प्रत्यक्ष रूपमा आयोजनाको समस्या समाधान र सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजनाको ‘भर्चुअल मनिटरिङ्ग’ गर्दै आएको छु ।”

    “निर्माणाधीन कोशी, कर्णाली करिडोरहरूले पहाडी क्षेत्रलाई तथा काठमाडौँ तराइ-मधेश फास्ट ट्रयाकले पहाड मधेशलाई सडक सञ्जालमा जोड्ने मात्र नभएर वस्तु तथा सेवाको लागत घटाउनेछ,” उनले भने, “यी परियोजनाले नेपालको आर्थिक क्षेत्रमा गुणात्मक योगदान गर्नेछ ।” नेपालले पूर्वाधार विकाससँगै औद्योगिक विकासको क्षेत्रमा सँगसँगै अगाडि बढाउनु पर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै उनले वस्तुको आपूर्ति तथा वितरणमा हुने लागत, इन्धन, समय आदिको लाग्ने खर्च घटाउँदै प्रतिस्पर्धी क्षमता बढाउनु पर्नेमा जोड दिए ।

    “काठमाडौँबाट नारायणगढ, भैरहवा, वीरगञ्ज, पोखरा विराटनगरलगायतका ठाउँसम्म कम समय र थोरै लागतमा ढुवानी हुन सक्ने द्रूतमार्गहरू बनाउनु पर्छ,” प्रधानमन्त्री दाहालले भने, “पूर्वाधार विकासमा फड्को मार्न यस्तै बृहत् र फराकिलो तथा एकीकृत सोचसहितको राष्ट्रिय पूर्वाधार गुरूयोजना निर्माणलाई प्राथमिकता दिनै पर्छ ।” उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट निजी क्षेत्रलाई उत्साहित बनाउने र नेपालमा ठूला पूर्वाधार विकासमा लगानी आकर्षित गरिने बताए ।

    विश्वव्यापीकरणको उच्चतम लाभ लिँदै नेपालले आधुनिक पूर्वाधार विकासका लागि चाहिने आवश्यक पुँजी र प्रविधिलाई विशेष जोड दिनुपर्ने बताउँदै उनले त्यस कार्यका लागि नीतिगत सुधार र विश्व बजारसँग वित्तीय उपकरणलाई जोड्न पहल गर्नुपर्ने स्पष्ट पारे । 


    प्रकाशित : सोमबार, बैशाख ३ २०८१११:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार