२०८३, कार्तिक १२ गते बिहीबार

क्यान बोर्ड सदस्यको आग्रह- नियोजित ढंगले राष्ट्रिय खेलाडीमाथि गरिएको कारबाही फिर्ता गरियोस्

क्यान बोर्ड सदस्यको आग्रह- नियोजित ढंगले राष्ट्रिय खेलाडीमाथि गरिएको कारबाही फिर्ता गरियोस्


  • मेरोभ्यूज
  • पौष ७, २०७८ बुधबार

  • क्यान बोर्ड सदस्यको आग्रह- नियोजित ढंगले राष्ट्रिय खेलाडीमाथि गरिएको कारबाही फिर्ता गरियोस्

    काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान) का केही केन्द्रीय सदस्यले राष्ट्रिय टोलीका चार सदस्यीय खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

    क्यानका केन्द्रीय कार्यसमितिका सदस्य छुम्बी लामा, ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज सिंहले आज पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका हुन् ।

    क्यानको अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरे बमोजिम खेलाडी आचार संहिता उल्लङ्घन गरेको भन्दै क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो ।

    मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो । पत्रकार सम्मेलनमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामाले खेलाडीमाथि नियोजित तरिकाले कारबाही गरेको भन्दै कारबाही फिर्ता गर्नुपर्ने बताए ।

    खेलाडीले वर्गीकरणमा असहमति जनाएपछि उनीहरूसँग सम्वाद गरेर विवाद सल्टाउनुपर्नेमा झन् निहुँ खोजेर कारबाही गरिएको क्यान सदस्यले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    हेर्नुहोस् प्रेस विज्ञप्तिको पूर्ण पाठ
    एशोसिएट राष्ट्रको रूपमा नेपाली क्रिकेटले एकपछि अर्को फड्को मार्दै गर्दा अभिभावकीय भूमिकामा रहने नेपाल क्रिकेट संघ (क्यान)ले पछिल्ला दशक व्यहोर्नुपरेको आरोह अवरोहबारे हामी सबै जानकारनै छौं। 

    वि.स २०७३ वैशाखमा नेपाल क्रिकेट संघ निलम्बनमा परेकोमा हामी सबैको अथक प्रयास जिल्ला प्रदेशको एकजुटको भावनाको कारणले २०७६ आश्विन ११ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसि) को रोहवरमा केन्द्रिय कार्यसमितिको निर्वाचन भयो।

    निर्वाचनबाट नेपाल क्रिकेट संघको नयाँ नेतृत्व चयन गर्दै गर्दा नेपाली क्रिकेट समर्थक तथा खेलप्रेमीमा अब नेपाली क्रिकेटको विकासले गति लिन्छ, निलम्वन पूर्ण रूपमा फुकुवा हुन्छ भन्ने विश्वास जागेको थियो।

    तर सवा दुई वर्षको अवधिमा आईसिसिबाट पूर्ण निलम्बन फुकुवा हुने वातावरण सकेनौं नैं, आफ्नो मेहनत, परिश्रम र टिम भावनाका साथ नेपाललाई एक दिवसीय मान्यता दिलाउन महत्वपूर्ण योगदान गरेका क्रिकेट खेलाडीलाई सम्मानको बदला अनुशासनको नाममा नेतृत्वकर्ताले जुन किसिमका नियोजित कारबाही गरेएको छ, यसको हामी घोर भत्सना गर्दछौं।

    विडम्वना छ, अनुशासन समिति गठन हुँदाहुँदै सो समितिलाई कार्य गर्न नदिनु, एक्कासी संयोजकलाई हटाउनु, छानविन समितिको नाममा निर्णयकर्ता नै संयोजक भएर बस्नुले नै स्वतन्त्र छानविन हुने कुरालाई शंकाको घेरामा पुर्‍याउँछ। छानविन प्रतिवेदन हामी बोर्ड सदस्यलाई समेत जानकारी नगराउनु र हाम्रो असहमतिका बाबजुद खेलाडीको भविष्यमाथि खेलवाड हुने गरी कारबाही गरिनुले नेपाली क्रिकेटलाई कहाँ पुर्‍याउन खोजिएको हो भन्ने गम्भीर प्रश्न उठेको छ।

    मिति २०७८ साल असोज २० र २१ गते बोर्ड बैठकमा एक्कासी खेलाडीको ग्रेडिङको मापदण्ड र त्यसअनुसार ग्रेडिङको प्रस्ताव ल्याइयो, त्यसबेला नै हामीले कप्तानलगायतसँग परामर्श गर्नुपर्छ भन्ने हाम्रो मत राखेका थियौं। विगतमा पनि ग्रेडिङका क्रममा संघको तर्फबाट त्रुटि भएकाले अब त्यस्तो नहोस् भन्ने चाहेका थियौं। तर नेतृत्वले हाम्रो आवाजलाई सुन्न चाहेन, बुझ्न चाहेन । दूर्भाग्य, हामीले जे नहोस् भनेका थियौं, त्यही भयो। मापदण्ड र ग्रेडिङमा खेलाडीहरुले असन्तुष्टि जनाए।

    यो थाहा पाएपछि हामीले उनीहरुसँग सम्वाद गरेर विवाद सल्टाउने र अबका दिनमा यस्तो अवस्था आउन नदिन कसरी जाने भन्नेतिर जानुपर्ने थियो। तर समस्या सुल्झाउनेभन्दा निहुँ खोजेर कारबाही गर्ने भन्नेतिर लाग्यौं कि भन्ने भान हुन थालेको छ। वर्षौसम्म राष्ट्रिय टिममा रहेका खेलाडीलाई हचुवाको भरमा नियोजित तरिकाले कारबाही गर्दा आउँदो दिनमा हुने महत्वपूर्ण प्रतियोगितामा पर्ने असरका साथै नेपाली क्रिकेटको शाख खस्कने अवस्था आउन सक्नतर्फ जिम्मेवार नेतृत्वले सोचेको छ?

    वि.सं २०७६ आश्विन ११ गते भएको निर्वाचनमा निर्वाचित भएपश्चात नयाँ नेतृत्व आएपछि पनि पूर्ण रूपमा निलम्बन फुकुवा हुन सकेको छैन, यसमा मुख्य त नेतृत्व जिम्मेवार छ। अहिले पनि विधि पद्धतिअनुसार क्रिकेट संघलाई चलाउने प्रयास भएको देखिदैन। बरू जे जस्ता काम भएका छन्, त्यसले अर्को दुर्घटना निम्तिने त होइन भन्ने चिन्ता बढेको छ ।

    कार्यसमितिको बैठकमा एजेण्डा वितरण नगरी आफू खुसी प्रस्तावहरु ल्याएर छलफल गर्ने, निर्णय पनि आफ्ना अनुकुलतामा लेख्ने तथा कतिपय निर्णयहरु छलफल नै नगरी लेख्ने र हामी सदस्यहरुले समेत त्यस्ता निर्णयहरु प्रेस बिज्ञप्तिमार्फत थाहा पाउनुपर्ने अवस्था बनेको छ। 

    कार्यसमितिको बैठक भएकै दिन निर्णयहरु नलेख्ने तथा एउटा बैठकको निर्णय अर्को बैठकमा समेत जानकारी नगराउँदा असहमति हुँदाहुँदै पनि आफ्ना धारणा राख्ने अवस्था बनेको छैन। तर क्रिकेट संघ जसरी चलेको छ, यसले विधि र पद्दतिबाट चलेको छ कि नेतृत्वकर्ताको स्वेच्छाचारितामा भन्ने प्रश्न गम्भीर रुपमा उठ्दै आएको छ।

    संघको वार्षिक साधारण सभा पुस १४ र १५ गते धनगढीमा गर्ने निर्णयमा भनिएको छ, तर विधानत २०७८ कात्तिकमा ४ वर्षे कार्यकाल समाप्त भएका २० जिल्लाको अधिवेशन हुन सकेको छैन।

    यसले २० जिल्लाबाट विधानत भाग लिन पाउनुपर्ने प्रतिनिधिको साटो आफ्ना अनुकुलताका प्रतिनिधि छनोट गरी साधारणसभा आयोजना गर्न खोजिएको छ। यसप्रकार निस्क्रिय भइसकेको जिल्लाबाट प्रतिनिधिहरु तोकी सम्पन्न हुने केन्द्रिय साधारण सभाको वैधानिकतामा नै प्रश्नको घेरामा देखिन्छ। विधानको विपरितका यस्ता कार्यले नेतृत्वले कुन किसिमबाट क्रिकेट संघ सञ्चालन गर्दैछ भन्ने प्रष्ट हुन्छ।

    संघमा कर्मचारी दरबन्दी कायम नगरी आफू खुसी भर्ना गरेको र सो कर्मचारीको काम कर्तव्य तथा तलव सुविधाबारे कुनै निर्णयबारे जानकारी गराइएको छैन। प्रदेशमा प्रशिक्षक नियुक्त गर्दा लेभल वान प्रशिक्षक माग गरेकोमा प्राय प्रशिक्षकलाई नियुक्ति दिनकै लागि लेभल वानको प्रशिक्षक ट्रेनिङ दिलाई नियुक्ति दिएको तथा प्रदेश क्रिकेट संघसँग समन्वय नगरी नेतृत्वमा बसेकाले भागवण्डाका आधारमा आ-आफ्ना प्रदेशमा दुई-दुईजना प्रशिक्षक नियुक्ति गरेका देखिन्छ।

    संघले हालसम्म वार्षिक क्यालेन्डर बनाउन सकेको छैन। हचुवाको भरमा राष्ट्रिय खेलकुद परिषद र महानगरपालिकाको कार्यक्रम अनुसारका सिमित प्रतियोगितामा रूमलिएके देखिन्छ। नेतृत्वमा आएको २ वर्ष बितिसक्दा पनि संघको नामको राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न नसक्नु, संघको जनरल मेनेजर र क्रिकेट मेनेजरको नियुक्ति भएको १ वर्ष अवधिमा निजहरुबाट पदीय जिम्मेवारीअनुसार काम लिन नसकेको देखिन्छ।

    वि.स २०७६ असोज ११ गते भएको निर्वाचनमा निर्वाचित भए पश्चात नेतृत्व तहबाट नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता क्रिकेट संघले आफैले सञ्चालन गर्ने प्रतिवद्दता गरेको थियो। नेपाल टी-२० क्रिकेट प्रतियोगिता सञ्चालनको लागि सेभेन थ्री स्पोर्टस कम्पनीसँग सम्झौता भएकोमा कुन कारणवश प्रतियोगिता सञ्चालन हुन नसक्नु साथै सेभेन थ्रि स्पोर्टस कम्पनीले धम्कीपूर्ण भाषामा इमेल लेख्नुको जिम्मेवारी कसले लिने?

    प्रदेश र जिल्ला क्रिकेट संघलाई प्रदान गर्ने भनिएको क्रिकेट सामाग्री खरिद प्रक्रियामा प्रश्न उठेको छ। बोर्डमा छलफल र निर्णय नगरी ठूलो राशीको सामान खरिद गरिएको छ, तर खरिद ऐनअनुसार नभएको भन्ने छ। यसबाहेक कार्यालय निर्माण तथा व्यवस्थापनका नाममा खर्च भएको रकममाथि प्रश्न उठेको छ। 

    राखेपले आ.व. २०७७/७८ मा त्रिवी मैदानमा रहेको जिम सेन्टर व्यवस्थित गर्न ४० लाख रूपैयाँ विनियोजन गरेको थियो। तर यो रकम फ्रिज हुनु - सो को जिम्मेवारी कसले लिने?

    नेपाल क्रिकेट संघ विधि र पद्दति अनुसार चलोस्, आर्थिक कारोवारलगायत विधानमा उल्लेख भएअनुसार पारदर्शी ढंगले कार्ययोजना अनुसार सञ्चालन होस् भन्ने हाम्रो मान्यता हो। 

    यदि संघमा त्यसो हुन सकेको छैन भने सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण समेत गराउँछौं। साथै नेपालमा सञ्चालन भएको ट्राइ नेसन टी-२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गर्दछौं।

    ऋषिराम गौतम, केन्द्रीय सदस्य
    अमितवीर पाण्डे, केन्द्रीय सदस्य
    करन महतारा, केन्द्रीय सदस्य
    मोहम्मद दाउद अन्सारी, केन्द्रीय सदस्य
    सञ्जय राज सिंह, केन्द्रीय सदस्य
    छुम्बी लामा, केन्द्रीय सदस्य (राखेप प्रतिनिधि)

     


    प्रकाशित : बुधबार, पौष ७ २०७८१०:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार