२०८३, कार्तिक १३ गते शुक्रबार

‘क्यानभास’मा ‘धार्चे’को कलासंस्कृति र भूगोल 

‘क्यानभास’मा ‘धार्चे’को कलासंस्कृति र भूगोल 


  • मेरोभ्यूज
  • बैशाख २९, २०८१ शनिबार

  • ‘क्यानभास’मा ‘धार्चे’को कलासंस्कृति र भूगोल 

    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रुपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’मा उतारिएको छ । 

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा धार्चे गाउँपालिका आयोजनामा स्थानीय खोर्लाबेँसीमा भएको ‘धार्चे चित्रकला कार्यशाला’मा २० कलाकारले पालिकाको लोकपरम्परा, परिवेश, प्रकृति, जीवनशैली, रीतिरिवाज, भूगोल, वास्तुकला र जीवनशैली तथा मुहार चित्र आदि विषयवस्तुलाई ‘क्यानभास’मा उतारे । 

    कार्यशालामा सिर्जना गरिएका ४० कलाकृति एक समारोहकाबीच प्रतिष्ठानका लोककला विभाग प्रमुख प्राज्ञ प्रदीप अधिकारीले गाउँपालिकालाई हस्तान्तरण गरे । कार्यशाला अगाडि कलाकारहरुले पालिकाको कलासंस्कृति, जीनवशैली, रितिरिवाज र भूगोग बुझ्न खोर्लाबेँसीदेखि हुलचुकसम्म भ्रमण गरेका थिए । 

    Dharche3.jpg

    सो अवसरमा उहाँले पालिकाको सम्पदालाई जीवन्त राख्न कलाकारले आफ्नो स्थानबाट योगदान दिएको र अब यी कलाबाटै गाउँको प्रचार–प्रसार गर्न पालिकालाई सहज हुने धारणा राखे । अधिकारीले कलाकृतिलाई पर्यटनसँग जोडेर सङ्ग्र्रहालयको अवधारण तयार गर्न पनि पालिकालाई सुझाव दिए । 

    कलाकार दीपेन्द्रमान बनेपालीले धार्चे गाउँपालिकामा भरपुर पर्यटकीय सम्भावना रहेको औंल्याउँदै आगामी दिनमा कला, संस्कृति र साहित्यका कार्यक्रमबाट आन्तरिक पर्यटकलाई आकर्षित गर्न सुझाव दिए । 

    गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले कलाकृतिलाई उचित संरक्षण गर्ने र आगामी दिनमा अझ बृहत् कार्यक्रमको आयोजना गर्ने योजना रहेको बताइन् । उनले कार्यशालामा सहकार्य तथा समन्वय गरेकामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरिन् । 

    Dharche2.jpg

    कार्यशालामा प्राज्ञ अधिकारी, मन गुरुङ, केशवराज खनाल, एनबी गुरुङ, पृथ्वी श्रेष्ठ, अशुराम खाइजु, डिबी राई, लीलाधर केसी, विके नरबहादुर, सुरेम देशार, केदार दाहाल, सुचिन श्रेष्ठ, रूपक राई, प्रितम थापा, दीक्षा राई, श्रीमिला श्रेष्ठ र कोपिला राईलगायतले कलाकृति सिर्जना गरेको गाउँपालिकाले जनाएको छ । 

    गण्डकी प्रदेशअन्तर्गत गोरखाको उत्तरपूर्वी क्षेत्रमा धार्चे गाउँपालिका अवस्थित छ । धार्चे जिल्ला सदरमुकाम गोरखाबाट करिब ७२ किमी उत्तरपश्चिममा रहेको छ । पूर्वतर्फ धादिङ जिल्ला र चीनको स्वसाशित क्षेत्र तिब्बतसँग जोडिएको उक्त गाउँपालिकाको दक्षिणतर्फ आरुघाट गाउँपालिका र धादिङ जिल्ला, उत्तरमा चुमनुब्री गाउँपालिका र पश्चिममा बारपाक सुलिकोट गाउँपालिका रहेका छन् । 

    Dharche1.jpg

    पर्यटन पदयात्रा तथा सांस्कृतिक, धार्मिक तथा प्राकृतिक मनोरम दृश्यावलोकनका लागि धार्चे प्रसिद्ध रहेको छ । कृषि तथा पशुपालन मुख्य मेरुदण्डका रुपमा रहेको धार्चे पछिल्लो समय पर्यटकीय क्षेत्रका रुपमा पनि विकास हुँदै गइरहेको छ । 

    गाउँपालिकाले पर्यापर्यटन, साहसिक, सांस्कृतिक तथा धार्मिक पर्यटनलाई विशेष जोड दिई धार्चेमा रहेको विभिन्न समुदाय र उनीहरुको मौलिक संस्कृतिसँग सम्बन्धित चाडपर्व, जात्रा तथा नाचलाई विभिन्न माध्यमबाट प्रचारप्रसार गर्दै आइरहेको छ । 


    प्रकाशित : शनिबार, बैशाख २९ २०८११२:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार