काठमाडौं । राष्ट्रिय संयुक्त सङ्घर्ष समिति नेपालले मुलुकमा सुशासन स्थापना र जनजीविकाका सवाल सम्बोधन गर्न माग गर्दै आमरण अनशनरत नौ जनाको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ । काठमाडौंको कलङ्की चोकमा भद्र अवज्ञासहित आमरण अनशनमा बसेका नागरिकको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको उल्लेख गर्दै समितिले तत्काल माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
समितिले स्वदेशमा काम गर्नुपर्ने वातावरण बनाउन तथा नेपाललाई वैदिक सनातन धर्मसापेक्ष राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै आमरण अनसन घोषणा गरेको थियो । सोही घोषणाअनुसार समितिका तर्फबाट नौ जनाले गत वैशाख २४ गतेदेखि भद्र अवज्ञासहित आमरण अनसनमा बसेका छन् ।
यसैबीच, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले विभिन्न माग राखी काठमाडौँमा अनशनरत सामूहिक सत्याग्रहीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घले प्रेस विज्ञप्ती जारी गर्दै १२ दिनदेखि काठमाडौँस्थित कलङ्की चोकमा राष्ट्रिय संयुक्त सङ्घर्ष समितिको व्यानरमा आमरण अनशन बसिरहेका सामुहिक सत्याग्रहीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।


