२०८३, कार्तिक १५ गते आइतबार

प्रधानमन्त्रीले जेठ ७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने

प्रधानमन्त्रीले जेठ ७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने


  • मेरोभ्यूज
  • जेठ ४, २०८१ शुक्रबार

  • प्रधानमन्त्रीले जेठ ७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । उनले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 

    सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२)  बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । 

    प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्दछ ।

    वर्तमान सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत दलले समर्थन गरेका छन् । 

    प्रधानमन्त्री दाहाललाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका उनले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

    यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १५७ सांसदको समर्थन पाएका थिए ।

    उनले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाएका थिए । पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका दाहालले दोस्रोपटक १७२ सांसदको साथ पाएका थिए । तेस्रोपटक उनले दोस्रोपटकको तुलनामा १५ मत कम पाएका थिए ।


    प्रकाशित : शुक्रबार, जेठ ४ २०८१०८:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार