२०८३, कार्तिक १५ गते आइतबार

सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री प्रचण्ड

सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री प्रचण्ड


  • मेरोभ्यूज
  • जेठ ११, २०८१ शुक्रबार

  • सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री प्रचण्ड

    लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताएका छन् ।

    २५६८औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा आयोजित चित्रकला प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बुद्धले शाश्वत वाणीहरू विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताए ।

    “बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “म विश्वस्त छु, बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबीच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ ।”

    लुम्बिनी आउँदा आफूलाई सँधै खुशी अनुभूत हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लुम्बिनीले विश्वका सम्पूर्ण मानवका लागि शान्तिको केन्द्रका रूपमा ऐतिहासिक र सांस्कृतिक महत्त्व राख्ने बताए । उनले भने, “नेपाल सरकारले लुम्बिनीलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलको रूपमा मात्र नभई बुद्ध धर्मको स्रोत र शिक्षा र बौद्धिक खोजको केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता पटक-पटक व्यक्त गरेको छ ।”

    सांस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विशिष्ट कलाकारहरूको सिर्जनशीलता र जोश प्रेरणादायी भएको बताए ।

    नेपाल-भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै प्रधानमन्त्री दाहालले दुई देशका जनतालाई प्राचीन कालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको उल्लेख गरे ।

    “हाम्रो सांस्कृतिक सम्पदा गर्वको स्रोत मात्र होइन,” प्रधानमन्त्री प्रचण्डले भने, “यो ज्ञान, मूल्य र परम्पराहरूको खजाना हो, जसले हाम्रो जीवनलाई समृद्ध बनाउँछ र हाम्रो पहिचानलाई आकार दिन्छ ।”

    परस्पर समझदारी, विश्वास, सम्मान र सहयोगले नेपाल-भारत प्राचीन कालदेखि चलेको बहुआयामिक सम्बन्धलाई परिभाषित गर्ने बताउँदै प्रधानमन्त्री दाहालले भौगोलिक निकटता र विभिन्न तहमा बढ्दो क्रस-सेक्टोरल र बहुपक्षीय संलग्नताद्वारा अझ बलियो बनाइएको स्पष्ट पारे ।

    “हाम्रा जनताको आकांक्षाअनुसार नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उपलब्ध अवसरहरूको सन्दर्भमा विभिन्न क्षेत्रमा अर्थपूर्ण साझेदारीको लागि बदलिँदो वास्तविकता र अवसरहरूलाई ध्यान दिनुपर्नेछ ।”


    प्रकाशित : शुक्रबार, जेठ ११ २०८१११:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार