धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थनसहित दाबी परेपछि सिंहलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
उनलाई सङ्घीय सत्ता गठबन्धनमा रहेका दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायत बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।
सिंह सप्तरी निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित हुन् । यसअघि उनी २०७४ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए । २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि आम निर्वाचनमा जनमतबाट उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
१४ सदस्यीय मन्त्रिपरिषद् गठन

नवनियुक्त मुख्यमन्त्री सिंहले प्रदेश प्रमुख भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । उनले सत्ता गठबन्धनका अन्य दलसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नवनियुक्त सबैले मन्त्रीले शुक्रबार अपराह्न शपथ ग्रहण गरेका छन् ।
माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्रीमा प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई नियुक्त भएका छन् ।
एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या तथा केशव राय स्वास्थ्य राज्यमन्त्री र शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
एकीकृत समाजवादीका तर्फबाट संसदीय दलका नेता नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, बेची लुङ्गेली ऊर्जा, सिँचाइ र खानेपानीमन्त्री, नेपाल सङ्घीय समाजवादी पार्टीका तर्फबाट विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहलाई श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ ।

