२०८३, कार्तिक १५ गते आइतबार

फलेवास-अर्मादी सडक खण्ड छ वर्षदेखि अलपत्र

फलेवास-अर्मादी सडक खण्ड छ वर्षदेखि अलपत्र


  • मेरोभ्यूज
  • आषाढ ५, २०८१ बुधबार

  • फलेवास-अर्मादी सडक खण्ड छ वर्षदेखि अलपत्र

    पर्वत । निर्माणाधीन उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास-अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुनसकेको छैन । करिडोरको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास-अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र छ ।

    पटकपटक म्याद थप गर्दा पनि अहिलेसम्म सडकले पूर्णता पाउन नसकेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ । विसं २०७३ असार २२ मा सम्झौता भई २०७५ जेठ २१ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै २० प्रतिशतभन्दा बढी काम बाँकी छ । सम्झौता अवधि सकिएको छ वर्षसम्म पनि सडकको काम अलपत्र बनेको हो । सुरुआतमा ठेकेदारले विभिन्न कारण देखाएर काममा ढिलाइ गरेको र अहिले भिरमा बम विस्फोट गरेर चट्टान फुटाउनु पर्ने भएका कारण कामले गति लिन नसकेको हो ।

    नौ करोड १७ लाख ४९ हजार दुई सय ४५ को लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकबाट मोदीवेणीसम्म ट्र्याक खुलिसकेको छ । मोदीखोलामा मोटरेबल पुल दुई निर्माण भइसकेको छ । मोदीवेणीबाट अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक गत वर्ष खुलेको भए पनि सवारीसाधन सहजरूपमा चल्नसक्ने अवस्था छैन ।

    पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय इन्जिनियर सुरेन्द्र गौतमका अनुसार मोदीवेणीबाट अर्मादीसम्मको खण्डमा ठूलो भिर रहेको र कडा चट्टान विष्फोटक पदार्थ प्रयोग गरेर फुटाउनुपर्ने भएकाले ढिलाइ भएको हो । विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने ठाउँको माथिपट्टि कुश्मा-कैया झोलुङ्गे पुल छ । विष्फोटक पदार्थ प्रयोग गर्दा पुललाई असर गर्ने भन्दै जिल्ला समन्वय समितिले वैकल्पिक उपाय अपनाउन पत्राचार गरेपछि काम रोकिएको छ । उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सूर्य कन्ट्रक्सनले चट्टान फुटाउन वैकिल्पक उपायको खोजी भइरहेको जनाएको छ । उक्त खण्ड १४ किलोमिटर लामो छ ।

    कार्यालयले ट्रयाक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा टेवा पर्खाललगायतको काम गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । यो कम्पनीसँग चौथोपटक थप गरिएको म्याद आगामी असोज ३० मा पूरा हुँदैछ । कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । पर्वत खण्डअन्तर्गत सेतीवेणीबाट फलेवाससम्म कालोपत्र भइसके पनि बाँकी १४ किलोमिटरको स्तरोन्नतिका लागि बजेट विनियोजन नभएको आयोजना कार्यालयले जनाएको छ ।


    प्रकाशित : बुधबार, आषाढ ५ २०८१०९:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार