२०८३, कार्तिक १५ गते आइतबार

कावासाेतीकाे टरुवा ताल संरक्षणमा जुटे स्थानीय

कावासाेतीकाे टरुवा ताल संरक्षणमा जुटे स्थानीय


  • मेरोभ्यूज
  • आषाढ ८, २०८१ शनिबार

  • कावासाेतीकाे टरुवा ताल  संरक्षणमा जुटे स्थानीय

    नवलपरासी । नवलपरासी-बर्दघाट सुस्तापूर्व-नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल संरक्षणका लागि जुटेका छन् ।

    ताललाई जलकुम्भीसहित झारले ढपक्क ढाकेर चौर जस्तै बन्न थालेपछि आफूहरू सरसफाइसहित संरक्षणमा जुटेको ताल संरक्षण तथा सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम सापकोटाले बताए ।

    सरसफाइ नहुँदा तालको अस्तित्व नै सङ्कटमा पर्न थालेकाले यसको सरसफाइमा जुटेको उनले बताए । “यो जिल्लाकै महत्वपूर्ण ताल हो तर संरक्षण हुन नसक्दा सङ्कटमा पर्दै गएकाले स्थानीयको सक्रियतामा ताल सफा गर्ने अभियान सञ्चालन गरेका छौँ”, अध्यक्ष सापकोटाले जानकारी गराए ।

     दैनिकरूपमा स्थानीयको सक्रियतामा तालभित्र रहेको जलकुम्भी झार हटाउने काम भएको उनले बताए ।

    पानी भएको स्थानको जलकुम्भी हटाउने काम करिब सकिएको र जेसिबीको सहायताले छेउछाउमा सफा गर्नुपर्ने देखिएको उनले बताए ।

    कावासोती नगरपालिका वडा नं ७ र ८ मा फैलिएको ताल पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको नवलपुर होटल व्यवसायी सङ्घका अध्यक्ष एवं स्थानीय सन्तोष रानाले बताए ।

    दिगोरूपमा संरक्षणको योजना बनाएर अघि बढ्न सके टरुवा ताल जिल्लाकै महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्ने उनको भनाइ छ । “बजार क्षेत्रबाट नजिक रहेको र पानीको पर्याप्त स्रोत भएको हुँदा यसको दिगोरूपमा संरक्षणको योजना बनाउँदै अघि बढ्न आवश्यक छ । त्यसो गरेमा आर्थिक विकाससमेत टेवा पुग्नेछ”, रानाले जानकारी दिए ।

    हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ । बजार क्षेत्र मानिने कावासोती वडा नं २, ३ र ८ मा तत्कालीन बस्ती विकासको समयमा खानेपानीको उपलब्धता नहुँदा यही तालको पानीले स्थानीयले आवश्यकता परिपूर्ति गर्ने गर्दथे । सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईवस्तुलाई खुवाउनदेखि घर निर्माणका कार्यमा प्रयोग गर्ने गर्दथे । करिब ३ दशमलव ५२ हेक्टर क्षेत्रफलमा ताल फैलिएको छ ।

     टरुवा तालसँगै हरियाली वातावरण, नजिकै रहेको नर्मदेश्वर महादेव मन्दिर, ताल परिसरसँगै जोडिएको गुम्बा आफैँमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन् । यसलाई जोडेर एकीकृतरूपमा विकास गर्न सके जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने अध्यक्ष रानाले बताए ।

    दुई वडामा फैलिएकाले संरक्षण कसले गर्ने भन्ने अन्योलता छ । ताल संरक्षणका लागि भनेर विभिन्न समिति निर्माण भएका छन् तर ती समितिले एकीकृत कार्ययोजना निर्माण नगर्दा संरक्षणमा नै चुनौती थपिएको यहाँका स्थानीयको बुझाइरहेको छ ।


    प्रकाशित : शनिबार, आषाढ ८ २०८१०८:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार