कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-६ कसरौलकी ४८ वर्षीया कन्या राना एक वर्षदेखि दुना टपरी बनाउने पेसामा संलग्न छन् ।
सालको पातलाई मेसिनमार्फत एकापसमा गाँसेर दुना टपरी बनाउँदै आएकी हो । पाँच प्रकारका दुना टपरी उनले एक वर्षदेखि मेसिनमा राखेर बनाउँदै आएको छ ।
उनले उत्पादन गरेका दुना टपरी महेन्द्रनगर, धनगढीका व्यापारीले घरमै पुगेर खरिद गर्छन् । गाउँघरमा भोजभतेर, विवाह, व्रतबन्ध, सत्यनारायण कथालगायत धार्मिक आयोजनलगायतका अवसरमा प्रयोग हुने दुना टपरी बनाउने जिम्मा उनलाई नै दिइने गरिन्छ ।
उनले यसैमार्फत मासिक रु पाँच हजारदेखि रु १० हजारसम्म कमाई गर्दै आएका छन् । विवाहलगायतको याममा एकै महिनामा रु २५ हजारदेखि रु ३० हजारसम्म कमाई हुने गरेको उनी बताउछिन ।
“एक वर्षअघि दातृ निकायले सञ्चालन गरेको तालिममा सहभागी हुँदा दुना टपरी बेचेर पनि कति नै कमाई होला भनेर पहिला सोच्ने गर्दथे”, उनले भने, “दातृ निकायले मेसिन अनुदान दिएर महिलाको समूह बनाइ दियो, केही दिन समूहका महिलासँग कार्य गरे, सुरुसुरुमा थोरै कमाई हुँदा आबद्ध महिलाले साथ छाडे ।” त्यसपछि एक्लैले कामलाई निरन्तरता दिँदा ठाउँठाउँमा चिनजान बढेसँग दुना टपरीको माग आउन थाल्यो । अहिले नसोचेको कमाइ हुँदा आफैँ दङ्ग पर्ने गरेको उनी बताउछिन ।
“पढेलेखेको थिइन्”, उनले भने, “अधिकांश समय मेलापात र घरकै भान्साको काममा व्यस्त हुन्थे, आफूलाई आवश्यकता परेका बेला श्रीमान्कै मुख ताक्नु पर्दथ्यो ।” गाउँमै दुना टपरी बनाउने तालिम आएपछि सहभागी भए सीप सिकेपछि अहिले त्यसैबाट घर खर्च चल्न थालेको उनले सुनाए ।
उनी भन्छिन, “पहिला श्रीमान्बाट पैसा माग्थेँ, अहिले पैसा नभएका बेला श्रीमान्ले माग्नुहुन्छ , परनिर्भरता भएर बस्नुपरेको छैन ।” सीप सिकेपछि कामलाई निरन्तरता दिए बेरोजगार भएर बस्नु नपर्ने उनले सुनाए ।
रुख चढेर सालका पात टिप्न नसक्ने भएकाले उनले अरुले टिपेका पात किनेर दुना टपरी बनाउन्छिन ।
देखतभूलीका बासिन्दाले रुखबाट टिपेका पात प्रतिबोरा रु दुई सयदेखि रु तीन सयमा खरिद गर्न्छिन । “पात टिप्नेले पनि रोजगारी पाएका छन्, मैले पातबाट दुना टपरी बनाएर उद्यम चलाउन थालेको छु”, उनले भने ।
उनले सानो दुना टपरी प्रतिगोटा एक रुपैयाँ पचास पैसादेखि रु दुई र ठूलो रु पाँच प्रतिगोटाका हिसाबले बेच्न्छिन ।
एक सय वटा दुना टपरीको प्याकेट बनाएर बजारमा बिक्री हुने उनी बताउछिन । उनी जस्तै कैलालीको गोदावरी नगरपालिको अत्तरियाका हिरा घर्तीमगरले पनि दुना टपरी बनाउने उद्योग नै खोलेर उद्यम गर्दै आएको छ ।
उद्योगमा उनले चार जनालाई रोजगारी पनि दिएको छ । उनको दुना टपरी उद्योगको वार्षिक आम्दानी रु तीन लाख ५० हजारदेखि रु पाँच लाखसम्म हुने गरेको छ ।
पाँच वर्षअघि घर्तीले रु ५० हजार लगानीमा मेसिन खरिद गरी दुना टपरी उद्योग सञ्चालनमा ल्याएको हो । “काम सानो र ठूलो हँुदैन”, उनले भने, “सानै काम गरे पनि जीवन सहजरुपमा चलाउन सकिन्छ, त्यसका लागि लगनशीलता आवश्यक पर्छ ।”
हिन्दू संस्कारअनुसार जन्मदेखि मृत्युसम्म दुना टपरीको आवश्यकता पर्ने उनले बताए । दुना टपरी स्थानीय अत्तरिया, धनगढी, महेन्द्रनगरलगायत बजारमा मात्रै नभएर डडेल्धुरा, डोटीको दीपायल, कास्कीको पोखराबाट माग आउने गरेको छ ।
दैनिक दुई हजार दुना टपरी उनको उद्योगबाट उत्पादन हुने गरेको छ । यस वर्ष वन क्षेत्रमा अधिक डढेलो लाग्दा मागअनुसार पातको आपूर्ति गर्न नसक्दा उत्पादन थोरै हुँदा आम्दानी घटेको उनको भनाइ छ ।
“सिधै माग भएका ठाउँमा पु¥याउन सकिए आम्दानी सोचेभन्दा बढी नै हुन्थ्यो”, उनले भने, “विचौलीयाले बढी नाफा खाने भएकाले उत्पादन गर्नेले थोरै आम्दानीमै चित्त बुझाउनु परेको छ ।”
दुना टपरीको उद्योग सञ्चालनसँगै घर्तीले माग भएका ठाउँमा प्रशिक्षक भएर दुना टपरी बनाउने तालिममा प्रशिक्षण दिने काम गर्दै आएको छ ।
“उद्योगको कमाई त छँदैछ”, उनले भने, “यसका अतिरिक्त तालिममा प्रशिक्षक भएर काम गरेबापत कमाई हुने गरेको छ ।”
शुक्लाफाँटा नगरपालिकाको उद्यम शाखका संयोजक धनबहादुर चौधरी दुना टपरीको प्रयोगले प्लास्टिकका प्लेटले जस्तो वातावरणमा प्रदूषण नगर्ने र स्वास्थ्यमैत्री भएकाले यसको प्रयोगलाई बढावा दिनुपर्ने बताए ।
“दुना टपरीको प्रयोगलाई बढावा दिन जनचेतनाको खाँचो छ”, उनले भने, “दुनाट परी एक पटकका लागि प्रयोगमा ल्याइने भएकाले सङ्क्रामक रोगबाट बच्न सकिन्छ, त्योसँगै होटेललगायतका व्यवसायमा संलग्नले दुना टपरीको प्रयोगलाई बढावा दिए भाँडाकुँडा धुनका लागि कामदार राखिरहनु पर्दैन ।”
शुक्लाफाँटा नगरपालिका-७ का अध्यक्ष चक्रबहादुर खड्का दुना टपरी बनाउने तालिम सञ्चालन गरी आर्थिकरुपमा विपन्न परिवारको जीवनस्तर माथि उठाई स्वरोजगार बनाउनका लागि काम अगाडि बढाएको बताए ।
“दुना टपरी सीपमूलक तालिम सञ्चालन गरी विपन्न परिवार, महिला, दलित, जनजाति, युवालाई स्वरोजगारमा संलग्न गराउने योजना छ”, उनले जानकारी दिए, “त्यसका लागि वडाको बजेटले भ्याउने गरी मागका आधारमा तालिम सञ्चालन गरिरहेका छौँ, केहीलाई चालु आवमा तालिममा सहभागी गराएका छौँ, बाँकीलाई आगामी आवको तालिममा संलग्न गराई अनुदानमा मेसिनको व्यवस्था गरी दुना टपरी उद्योगमा आबद्ध गराउँछौँ ।”

