२०८३, कार्तिक १५ गते आइतबार

‘मधेशमा जताततै सपेताः पानी बेपत्ता’

‘मधेशमा जताततै सपेताः पानी बेपत्ता’


    आषाढ ११, २०८१ मंगलबार

  • ‘मधेशमा जताततै सपेताः पानी बेपत्ता’

     महोत्तरी । मधेसका धेरैजसो ठाउँमा घु¥यानदेखि खेतबारीका आलीमा इक्युलिप्टिस वनस्पति लगाइएका देखिन्छन् ।

     करिब चार दशक पहिलेदेखि खोजीखोजी लगाइएको यो वनस्पतिले जग्गा रुखो बनाउने र आसपासमा पानीका स्रोत सुक्न थालेका भन्दै अहिले विरोध गर्न थालिएको छ ।

    यो वनस्पतिलाई मधेशमा बोलीचालीमा सपेता, भिक्स र मसाला पनि भनिन्छ ।

    पहिले खोजीखोजी यो वनस्पति लगाउनेहरूले नै अहिले पानीका स्रोत सुक्न थालेको भन्दै विरोध गर्न थालेका हुन् ।

    “बौवा, अई ठाम कइटा भूल छल, जहिया स मसला रोपाक हुर्कैत गेला एम्भर सब भूल सुखागेल बाबु, यहाँ कति जरुवा पानीका मूल थिए, रोपिएका मसालाका रुख हुर्कदै गएपछि जरुवाका मूल सबै सुके”, आफ्नो बस्तीको पुरानो बडहरी जलाधार भएको ठाउँ देखाउँदै महोत्तरीको भङ्गाहा-४ रामनगरका ७० वर्षीय शेष जव्वार भन्छ, “आब जल्दी यी नइ हटाओल गेल त पियवाला पाइन आब नई भेटत अब चाँडै यो हटाइएन भने केही दिनपछि खानेपानी भेटिने छैन । ”

    जव्वारमात्र होइन यहाँका धेरैले मधेशमा पानीको सङ्कटका धेरै कारणमध्ये एक मसाला पनि रहेको बताउन थालेका छन् । आफ्ना बस्तीका जोकाहा, भुताहा, झिल, टोका, पलारसहितका कैयौँ जरुवा पानीका मूल देख्दादेख्दै सुकेका भङ्गाहा-४ कै ८० वर्षीय चौठी बाँतर बताए ।

     “पानीका मूल सुक्ने अरु कारण पनि होलान्, यो पढेलेखेकाहरूले बताउलान् तर एउटा कारणचाहिँ यो मसलाको रुख नै हो”, उनले भने ।

    मधेसमा केही दशक पहिले स्थानीयलाई आयआर्जनमा प्रोत्साहित गर्न वन सम्बद्ध निकाय र विभिन्न सङ्घ संस्थाले ‘आइरआइरमें सपेता, गरिबी सब बेपत्ता’ आलीआलीमा सपेताः गरिबी सबै बेपत्ता भन्दै यो वनस्पति रोप्ने लहर नै चलेको थियो ।

     सुरूमा विसं २०४० को दशकमा महोत्तरीसहितका चारकोसे झाडीभित्रको पूर्व-पश्चिम राजमार्गदेखि दक्षिण भागमा सरकारी निकायले नै साल, कर्मासहितका रुख कटाएर मसला रोपेपछि यो अमूल्य चिज नै हो भन्ने आममान्छेमा परेको थियो ।

    “सरकार आफैँले साखुका रुख ढालेर भिक्स रोप्न लाग्यो, हामीलाई लाग्यो, यो खास चिज हो, देखासिकीले हामीले पनि बिरुवा मगाएर रोप्यौं, आज यही समस्याको कारण बन्यो”, बर्दिबास-१२ बिजलपुराका ७५ वर्षीय रामसुन्दर ठाकुरले जानकारी दिए, “चारैतिरका इनार, पोखरी र जरुवा पानीका मूल सुके ।

     एक समयमा ‘आइरआइरमें सपेता, गरिबी सब बेपत्ता’ भन्ने नारा अब जहाँ सपेता, त्यहाँ पानी बेपता भनेजस्तै भएको छ ।” चाँडै हलक्क बढ्ने हुँदा काठको माग आपूर्तिमा सहज हुने र त्यतिखेर विद्युत पोल खाँबाका लागि पनि उपयोगी हुने अभिप्रायसाथ विदेशबाट झिकाएर रोपण गरिएको थियो ।

    रौतहट, सर्लाही र महोत्तरीसम्म फैलिएको सागरनाथ वन विकास परियोजनाको १३ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये अधिकांश भागमा २०३५ सालदेखि सरकारले मसला रोप्न थालेको थियो ।

     त्यही सिको गरेर यस भेगका स्थानीयले घु¥यानदेखि खेतबारीसम्म मसला लगाउन थालेका गौशाला-१० लक्ष्मीनियाँका ७० वर्षीय लक्ष्मीप्रसाद महतो बताउछ ।

     कालान्तरमा मसला वरदान नभएर जमिनमुनिको पानी सोसेर जग्गा मरुभूमि बनाउने अभिशाप बनेको उनको भनाइ छ ।

    यस भेगमा अहिले सर्वसाधारण मात्र नभएर स्थानीय तह, सामाजिक सङ्घ संस्था र विज्ञहरूसमेत मसलाविरुद्ध जनमत बनाउन र यी रुख हटाएर अन्य बिरुवा रोपण गर्नु पर्ने अभियानमा जोडिएका छन् ।

     धनुषाको धनुषाधाम र मिथिला नगरपालिकाको नगरसभाले त मसला मास्ने र खाली हुने ठाउँको माटो विज्ञबाट परीक्षण गराइ उपयुक्त बिरुवा रोपण गर्ने औपचारिक निर्णय नै गरिसकेका छन् ।

    “जताततै पानीका मुहान सुक्नुमा मसलाको रुख पनि कारण रहेको विज्ञहरुले बताए, त्यसैले पानीको थप सङ्कट बढ्न नदिन मसलाका रुख उखेल्ने निर्णय गरिएको हो ।

    अब माटो परीक्षण गरेर मात्र नयाँ बिरुवा रोपिनेछन्”, मिथिलाका उपप्रमुख सुनितासिंह बुढाथोकी जानकारी गराए ।

     अब स्थानीयको मागअनुसार मसलाका रुख उखेल्न यान्त्रिक उपकरणको बन्दोबस्त गर्ने तयारी गरिएको मिथिलाका उपप्रमुख बुढाथोकीले जानकारी दिए ।

    मधेसका खोल्साखोल्सी, इनार, पोखरी, तालतलैया र चापाकल सुक्दै गएर पानीको हाहाकार बढेसँगै यहाँ मसलाका रुख बारे बढेको आमधारणासँग विज्ञ पनि सहमत छन् ।

    चुरे तथा जलाधार विज्ञ डा विजयकुमार सिंह दनुवार पानीका मुहान सुक्नुमा विश्वव्यापी जलवायु परिवर्तनलगायत यस्तै मानव सिर्जित समस्या रहेका बताए ।

     “मानव सिर्जित समस्यामा वन विनास, चुरे क्षेत्रको अनियन्त्रित उत्खनन र जलाधार क्षेत्रको अतिक्रमण मुख्य कारण हुन् ।

     मसला रुख पनि पानीको स्रोतका मुहान सुक्ने कारण भएको बारे अहिले व्यापक अभिमत बढेको छ”, डा सिंहले भने ।

    यस बारे थप अध्ययन गर्न आवश्यक रहेको डा सिंहको भनाइ छ । चुरे तथा जलाधार विज्ञ नागदेव यादवले पनि इक्युलिप्टिस पानीका स्रोत सुक्ने कारणमध्ये एक भएको जानकारी दिए ।

    एउटा वयस्क इक्युलिप्टिसको रुखले दैनिक ८७ लिटर पानी सोस्ने विज्ञबाट पुष्टि भएको उनले बताए ।

    “पानीका स्रोत सुक्नुका धेरै कारण छन्, यसमध्ये मसलाका रुख मुख्य कारण हुन् । यी रुख जतिसक्यो चाँडो हटाउँदा राम्रै हुन्छ”, उन भन्छ,“ मसलाको रुखले जमिनमुनिको पानी निकै सोसेपछि पानीको सतह गहिरिँदै गएर सङ्कट बढेकामा धेरै सत्यता छ । यसले उर्वरा शक्ति घट्दै गएर उब्जाउ जग्गा पनि वञ्जड बनेका छन् ।”

    अमेरिकाको नेसनल लाइबे्ररी अफ मेडिसिनले मसलाका रुखका पातमा एसिडको मात्रा हुने हुँदा माटोको उर्बरा शक्ति ह्रास हुने र यसले जमिन मुनिको पानी धेरै सोस्ने निष्कर्ष निकालेको पनि डा यादवले जानकारी गराए ।

     परिस्थितिक तथा जैविक प्रणालीको दृष्टिले यो रुखले अरुको अस्तित्व स्वीकार नगरेको स्पष्ट देखिएको हुँदा मधेसबाट यो रुखलाई तत्काल विस्थापित गरिनु पर्ने आवाज बलियो बन्दै गएको उनले बताए ।

    “ मसलाका रुखमा न चराचुरुङ्गीका गुँड देखिन्छन्, न किरा फट्याङ्ग्रा लाग्छन्”, यादव भन्छ, “त्यसैले यो सन्तुलित पर्यावरणको बाधक छ ।”

    सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घ युएनको फुड एण्ड एग्रीकल्चर अर्गनाइजेसनले गरेको अध्ययनमा चार सय मिलिलिटर एमएलदेखि एक हजार दुई सय एमएलसम्म वार्षिक वर्षा नहुने ठाउँमा यो रुख लगाउन दिन नहुने सुझाव दिइएको यादवले उल्लेख गरे ।

    मसलाको रुखले अक्सिजन प्रवाहमा पनि खासै योगदान नदिने विज्ञ बताउँछन् ।

    अष्ट्रेलियाका जलवायु विज्ञ एलन रुटले पनि आफ्नो एक आलेखमा यो रुख पानीका स्रोतका लागि प्रतिकूल हुने उल्लेख गरेको छ ।

    अष्ट्रेलियाको सिमसार र भासिने हिलो भएको ठाँउलाई सुख्खा बनाउन यो रुख लगाइएको उक्त आलेखमा उल्लेख छ ।

    इक्युलिप्टिस अष्ट्रेलियाकै तास्मिनिया टापुमा विकास भएको वनस्पति मानिन्छ ।

    अष्ट्रेलिया, ब्राजिल हुँदै संसारका ५० भन्दा बढी देशमा यो रुख लगाइएको विज्ञले बताएका छन् ।

     अष्ट्रेलिया र ब्राजिल दुवै देशका सिमसार क्षेत्रमा यो रुख लगाइएपछि ती ठाउँ सुक्खा भएका जानकारहरू बताउँछन् ।

    नेपाल सरकारका पूर्वसहसचिब रामबहादुर भुजेल विभिन्न अध्ययनलेसमेत लाभदायी नभएको निष्कर्ष निकालेका रुख मधेशमा ल्याउनु नै गलत भएको भज्न्दै अब यसको विकल्प खोज्न जरुरी रहेको बताए ।

     “मधेशमा पानीका स्रोत सुकेर निकै समस्या आइसकेको छ । त्यसैमा यहाँ उपयुक्त नहुने रुख रोपेर पानी सङ्कटलाई थप योगदान गर्ने काम भएको छ ।

    अब यसको साटो यहाँको माटो सुहाँदा अन्य वनस्पति र फलफूल रोपणमा जोड दिन आवश्यक छ”, पूर्वसहसचिब भुजेलले भने ।


    प्रकाशित : मंगलबार, आषाढ ११ २०८१०९:०५
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार