२०८३, कार्तिक १५ गते आइतबार

ओझेलमा दाङको खुमखानी

ओझेलमा दाङको खुमखानी


  • मेरोभ्यूज
  • आषाढ १२, २०८१ बुधबार

  • ओझेलमा दाङको खुमखानी

    तुलसीपुर । दाङ आफैँमा विकसित जिल्ला हो तर अझै पनि दाङको खुमखानीलगायत कतिपय गाउँहरूमा सडक सुविधा नपुगेको मात्र होइन, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि पुग्न सकेको छैन ।

     तुलसीपुर उपमहानगरपालिका-४ स्थित यस गाउँका बासिन्दा सडक नहुँदा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै धेरैले ज्यान गुमाउनुपरेको छ ।

    पढाइका लागि त्यहाँ एउटा कक्षा ५ सम्मको विद्यालय भए पनि दरबन्दीको अभावमा राहतका एक र बाल विकासका एक गरी दुई शिक्षक मात्रै छन् ।

    कक्षा ५ भन्दा माथिको अध्ययनका लागि बजार नै जानु पर्ने हुँदा आर्थिक अवस्था कमजोर परिवारका बालबालिकाले पढाइलाई निरन्तरता दिन सकेका छैनन् । अहिलेसम्म त्यो गाउँका छ-सात जनाले मात्रै कक्षा १२ सम्म पढेका छन् ।

    कुनै समय राजाले राज्य गरेको यो ऐतिहासिक ठाउँ पनि हो । बाइसे-चौविसे राज्य भुरेटाकुरे राजाहरूले राज गरेको इतिहास खुमखानीमा छ ।

     स्थानीय ओपबहादुर थापाका अनुसार वारि खुमखानी राजा र पारि छिल्लीकोटे राजाबीच वारिपारि लडाइँ हुन्थ्यो । त्यसका केही-केही अवशेषहरू अहिले पनि भेटिने गरेको ६९ वर्षीय थापाले जानकारी गराए ।

     त्यहाँ केही आकर्षक ढुङ्गाहरू भएको स्थान भेटिन्छ, जसलाई ‘हनुमान ढोका’ भन्ने गरिएको उनको भनाइ छ ।

     हनुमान ढोकाभन्दा तल रहेको ठूलो वन क्षेत्रलाई ‘टुँडिखेल’ भनिन्छ । टुँडिखेलमा पहिले राजाहरूका सिपाहीहरूले कवाज खेल्ने ठाउँका रूपमा थियो ।

    तुलसीपुर बजारबाट खुमखानी हेर्दा आकर्षक पनि देखिन्छ । अग्ला डाँडाकाँडा भएकाले जिल्लाका सबै भू-भागसहित रुकुम, रोल्पा, सल्यान, प्यूठानसहित भारतका केही ठाउँहरू पनि देखिने हुँदा यहाँ पर्यटकीय सम्भावना पनि रहेको छ ।

    खुमखानीमा उपल्लो गाउँ, तल्लो गाउँ, च्यानडाँडा र झारगाउँ गरी चारवटा गाउँ छन् । कुनै समय त्यहाँ ६०-६५ घर थिए । विकासको पूर्वाधार राम्रो नहुँदा अहिले त्यहाँ ३२ घर छन् ।

    तर, अलिकति जीवनस्तर सुध्रियो भने त्यहाँबाट बजारतिर बसाइँ सरिहाल्ने गरेको स्थानीय अमरबहादुर घर्तीले बताए । “पहिले यहाँ ६०-६५ घर थियो”, स्थानीय घर्तीले भने “तर, यहाँको दुःख देखेर अहिले अलिकति हुनेखाने भएपछि बजारतिर झरिहाल्छन्, अहिले हामीहरू त्यहाँ ३२ घरको हाराहारीमा छौँ ।

    ” खुमखानी गाउँ स्वास्थ्यका हिसाबले समेत पछाडि परेको छ । “गाउँमा सामान्य उपचार पनि हुँदैन । सिटामोल किन्नुपर्यो भने पनि बजार नै झर्नुपर्छ”, घर्तीले भने, “सामान्य घाउचोट लाग्यो भने बजार नै पुग्नुपर्छ । सडक सुविधा नहुँदा बिरामीलाई डोकोमा बोकेर बजार पुर्याउनु पर्ने अवस्था रहेको छ ।”

     यहाँका बासिन्दा कृषि र पशुपालनमै निर्भर छन् । यहाँ अहिले विद्युत् र खानेपानीको सुविधा भने पुगेको छ । विद्युत् पुगेसँगै त्यहाँका बासिन्दा खुसी भएका छन् । “हामीले विद्युत् पाउने कल्पना पनि गरेका थिएनौँ, अहिलेसम्म सडक पनि पुगेको छैन”, स्थानीय छवि विकले भने ।

    सोलारको प्रयोग गरी लिफ्टिङ गरेर खोलाबाट पानी ल्याइएकाले खानेपानीमा भने केही सहज भएको छ । यसअघि घण्टौँ हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको थियो भने विद्युत् नहुँदा सोलार र टुकीको भर पर्नु पर्ने अवस्था थियो ।

    यस गाउँसम्म सडक पुर्याउन चालु वर्षमा लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको रु ३० लाख बजेटबाट केही सडक ट्रयाकको काम सुरु भएको छ भने आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले रु एक करोड बजेट विनियोजन गरेको छ ।


    प्रकाशित : बुधबार, आषाढ १२ २०८१११:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार