२०८३, कार्तिक १५ गते आइतबार

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने


  • मेरोभ्यूज
  • आषाढ १३, २०८१ बिहीबार

  • नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने

    तनहुँ ।  तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित खड्गदेवी मन्दिर दैनिकरुपमा खुला गरिएको छ ।

    बन्दीपुर गाउँपालिका-४ मा रहेको उक्त मन्दिर वर्षमा नवरात्रका नौ दिन मात्रै खुल्दै आएकामा अवदेखि दैनिकरुपमा खुला गरिएको र सबैका लागि दर्शनको व्यवस्था मिलाइएको मन्दिर सञ्चालक समितिले जनाएको छ ।

    समितिका अध्यक्ष आनन्दमान जोशीले लामो समयको प्रयासपछि मन्दिर सबैका लागि खुला गर्ने निर्णय गरिएको जानकारी दिए ।

    करिब छ सय वर्षभन्दा पुरानो दावी गरिएको यस मन्दिरमा कामी, मगर र बाहुन गरी तीन पुजारी रहेकाले जातीय सहिष्णुताको प्रतीक मानिने गरेको छ ।

    यहाँ हिन्दू धर्मावलम्बीले भगवान् मान्ने गरिएका शिवजीले राजा मणिमुकुन्द सेनलाई तरबार दिएकामा सेनले एक ब्रह्माणीको घरमा छाडेर गई देवघाटमा गएर समाधि लिएको र तरबारले नागको रुप लिएको विश्वास गरिन्छ ।

     नागले परिक्रमा गरिरहेको बेला धार्मिक अनुष्ठान गरिएको र नागले पुनः तरबारको रुप धारणा गरी उडेर बन्दीपुर डाँडामा खसेको, भगवान् शिवजीको सन्देशस्वरुप खड्गदेवीको रुपमा प्रकट भई स्थापना भएको किंवदन्ती छ ।

    यहाँका बन्दीपुरेले इष्ट देवताको रुपमा पुजिने देवीको यो मन्दिर वर्षको नौ दिन नवरात्रको अवधिमा मात्र खुल्दै आएको थियो ।

    केही समय जमिन छोडेर हावामा सयर गरेर मन्दिर दर्शन गर्दा चिताएको मनोकाङ्क्षा पूरा हुने आशीर्वाद पाइन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।

     विशेष गरी सेना, प्रहरी र फलामसम्बन्धी कार्य गर्नेका लागि मन्दिर दर्शन फलदायी हुने मन्दिरका पुजारी भरतमणि भट्टराईले जानकारी दिए ।

    मन्दिर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मन्दिर खुला रहने मन्दिर प्रमुख मगर खाँडे पुजारी रामकुमार आलेले बताए ।

    यस मन्दिरमा फूलपातीको दिनमा खड्ग यात्रामा प्रयोग गरिने देवीको गहना विसं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा अङ्कित झल्लरमा उल्लेख छ ।

     मन्दिरमा पूजाआजाका लागि विसं १९१६ मा एक गुठीको स्थापना गरी सञ्चालन गरिएको ‘नेपाल अधिराज्यमा तनहुँ’ नामक डिल्लीराम मिश्रद्वारा लिखित पुस्तकमा उल्लेख छ ।

    खड्गदेवी मन्दिरमा हरेक दशैँको फूलपातीका दिन विशेष मेला लाग्छ । मन्दिरको खड्गलाई शोभायात्रासहित बजार परिक्रमा गरिन्छ । मन्दिर पहिले ढुङ्गैढुङ्गाबाट निर्माण गरिएको थियो । पछि राजा चन्द्र शमशेरको पालामा दरबार शैलीमा मन्दिर रुपान्तरण गरियो । अहिले भने यहाँ तामाको छाना रहेको छ ।


    प्रकाशित : बिहीबार , आषाढ १३ २०८११०:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार