कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन ।
राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उनले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आएको छ । दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गरको छ । तरकारी हेरचाह गर्न छाप्रो बनाएर बसेकी उनी फुर्सदको समयमा पहिरन सिउने काममा व्यस्त हुनुहुन्छ । “आजभोलि लुगा सिउने मेसिनले कपडा सिउँदा निकै सजिलो भएको छ ।
परम्परागत पहिचान बोकेका पहिरन लगाउने क्रम अहिले घट्दो छ”, उनले भने, “कुनै कार्यक्रम, चाडबाडमा मात्रै यस्तो लुगा लगाउँछन् । पहिचान संरक्षणका लागि टेवा पु¥याउन सकेकोम खुसी लाग्छ ।” रानाथारु समुदायले लगाउन अङ्गिया चोली, घगरिया, उनिया चुन्नीलगायतका पोसाक तयार पार्ने गरेको उनले बताए ।
ती कपडामा फूलजस्तै देखिने फुर्का लगाउनुपर्छ । आमाबाट सिकेको सीपले मेहनत गर्दै आकर्षक पहिरन तयार पारेर पस्किने गरेको छ ।
“ आमासँग लुगा सिलाउने सिकँे । अहिले त्यहीँ सीपले गुजारा चलेको छ । एक जोर लुगा तयार गर्न एक महिनाभन्दा बढी समय लाग्छ ”, उनले भने, “लुगा आफैँले ल्याएर तयार गरेको रु आठ हजार लिन्छौँ । हामीले नै लुगा किनेर तयार पारेको पहिरनको रु २० हजारसम्म लिने गरेका छौँ ।”
डाँडाजाइँकै घुम्नी राना पनि आफ्नो समुदायका मौलिक पोसाक बनाउने काम सक्रिय हुन्छ । सानैमा आमा र हजुरआमाबाट उहाँले पहिरन सिलाउने सीप सिकेको हो । तत्कालीन समयमा हातले नै पहिरन सिउने गरिएको उनि बताउछ । “हातले पहिरन बनाउन निकै बढी समय लाग्थ्यो । हातले बनाउनेबाट अहिले मेसिनको प्रयोग हुनथालेको छ ।
यसले छोटो समयमै लुगा तयार गर्न सकिन्छ”, उनले भने, “वर्षमा दश जोर लुगा सिलाउँछु । बालबालिकाको पठनपाठनदेखि घरखर्च राम्रैसँग चलेको छ ।” पहिरन बनाउन गाउँकै मानिस उनको घरमा आउने गर्छन् ।
पहिरन बनाउन आवश्यक पर्ने कपडादेखि फुर्क बनाउने साम्रगी स्थानीय बजारमा नपाइदा केही असहजता हुने गरेको घुम्नीको भनाइ छ । “बेलौरीमा खोजेकोजस्तो सबै सामान पाइँदैन । महेन्द्रनगर, धनगढी नभए भारततिर जानुपर्छ”, उनले भने, “सितारा, ऊनी धागो, विभिन्न रङका कपडा बढी मात्रामा आवश्यक पर्छ ।”

