बर्दिया । लुम्बिनी प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिले बर्दियाको गुलरिया नगरपालिकास्थित खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रको अनुगमन गरेको छ ।
संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत कृष्णसारको प्राकृतिक बासस्थान क्षेत्र नास हुन थालेको गुनासा बढेपछि समितिको टोलीले त्यस क्षेत्रको अवलोकन भ्रमण गरेको हो ।
लुम्बिनी प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमुख सचेतक तुलसी चौधरीले कृष्णसारलाई बाह्य जनावरको आक्रमणबाट जोगाउन आवश्यक रहेको बताए ।
कृष्णसारको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारको अहम् भूमिका रहने उल्लेख गर्दै उनले त्यस कार्यमा प्रदेश सरकारले पनि सहयोग गर्नु पर्नेमा जोड दिए ।
“कृष्णसारको प्रचारप्रसार र संरक्षण गरी पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन जरूरी छ । त्यसका साथै यहाँ आउने पर्यटकलाई केही दिन टिकाउनसक्ने पूर्वाधार विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकमार्फत स्थानीय समुदायको आयआर्जन बढाउने गरी सरकारले पहल गर्नुपर्छ”, एमालेका प्रमुख सचेतक चौधरीले जानकारी गराए ।
नेपाली कांग्रेस, लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले कृष्णसार संरक्षण क्षेत्रको पर्यटन प्रवर्द्धनमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।
नेपाली कांग्रेस, लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तिमिल्सिनाले बासस्थान क्षेत्रमा घाँसे मैदान व्यवस्थापन र मिचाहा प्रजातिको न्यूनीकरण आवश्यक देखिएकाले कृष्णसारको बासस्थान क्षेत्रको संरक्षणमा प्रदेश सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।
कृष्णसार संरक्षण क्षेत्र कार्यालयका प्रमुख सूर्य खड्काले त्यहाँको अवस्थाबारे जानकारी गराएको थियो । उनले स्याल, चितुवालगायत भुस्याहा कुकुरको आक्रमणका कारण कृष्णसार संरक्षणमा चुनौती रहेको बताए ।
हाल खेरापुर क्षेत्रमा दुई सय २४ कृष्णसार रहेका जानकारी दिँदै उनले संरक्षण क्षेत्रको अतिक्रमित बस्ती व्यवस्थापन नहुँदा समस्या भएको जानकारी गराए । खड्काले भने, “संरक्षण क्षेत्रभित्र व्यवस्थापन गर्नु पर्ने बासस्थान गोठको सङ्ख्या एक सय ४२ रहेकामा हाल त्यो सङ्ख्या एक सय ९६ पुगेको छ ।
तिनको व्यवस्थापनका साथै यहाँ पर्या-पर्यटन प्रवर्द्धनका लागि कार्यालयले योजना बनाएको छ ।

