२०८३, कार्तिक १५ गते आइतबार

बाढीपहिरा प्रभावित जिल्लामा रेडक्रसले पठायो डेढ करोडका राहत सामग्री

बाढीपहिरा प्रभावित जिल्लामा रेडक्रसले पठायो डेढ करोडका राहत सामग्री


  • मेरोभ्यूज
  • आषाढ २७, २०८१ बिहीबार

  • बाढीपहिरा प्रभावित जिल्लामा रेडक्रसले पठायो डेढ करोडका राहत सामग्री

    काठमाडाैं । नेपाल रेडक्रस सोसाइटीले बाढीपहिरो प्रभावितलाई एक करोड ५० लाखको गैरखाद्य सामग्री आफ्ना जिल्ला शाखालाई पठाएको छ । रेडक्रसले त्रिपाल, कम्बल, म्याट्रेस, भाँडाकुँडालगायत सामग्री प्रभावित जिल्लामा पठाएको हो । 

    नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालका अनुसार विभिन्न सहयोगी निकायसँगको सहकार्यमा विपद्मा परेका तीन सय ७६ र रेडक्रसबाट दुई सय नौजनालाई तयारी खाना वितरण गरिएको छ । हालसम्म एक सय ९१ परिवारलाई त्रिपाल, एक सय चार परिवारलाई कम्बल र २२ परिवारलाई भाँडाकुँडा सेट वितरण गरिएको छ ।

    बाढीपहिरोबाट प्रभावित क्षेत्रका पाँच सय ८५ जनाको उद्धार गरिएको अध्यक्ष नेपालले बताउनुभयो । वर्षाका कारण यही असार १२ देखि हालसम्म २७ जिल्ला प्रभावित भएको रेडक्रसले जनाएको छ ।

    नेपाल रेडक्रसको आपतकालीन कार्य सञ्चालन केन्द्रबाट मनसुनको अवस्था र प्राप्त विवरणका आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नियमित सूचना सम्प्रेषण भइरहेको रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले बताए।

    रेडक्रसले राष्ट्रियस्तरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र र अन्य सरोकारवाला निकाय तथा अन्तर्राष्ट्रिय रेडक्रस अभियानका सदस्य निकायमा सूचना सम्प्रेषण भइरहेको उनको भनाइ छ ।

    बाढीको उच्च जोखिममा रहेका बाँके, बर्दिया र कैलालीका १२ पालिकमा रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घको विपद् प्रतिकार्य आपत्कालीन कोष (डिआरइएफ) को सहयोगमा बाढी पूर्वकार्य सञ्चालन भइरहेको रेडक्रसले जनाएको छ ।

    रेडक्रसले मनसुनजन्य विपद्मा तत्काल आपत्कालीन प्रतिकार्यका लागि सातै प्रदेश र ७७ जिल्ला शाखामा तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सबै प्रदेश र जिल्लामा मनसुन पूर्वतयारी र प्रतिकार्य सञ्चालनका लागि कार्ययोजनासहित अभिमुखीकरण कार्य सम्पन्न भएको रेडक्रसले जनाएको छ ।

    गोदामघरमा राहत सामग्रीको भण्डारण र विपद् अतिजोखिम जिल्लामा पूर्वतयारीका लागि राहत सामग्री पठाइएको महामन्त्री श्रेष्ठले बताए । राहत सामग्री भण्डारण गर्ने र आवश्यकतानुसार तत्काल प्रतिकार्यका लागि प्रदेश र जिल्ला शाखाबाट प्रदेश र स्थानीय तहमा समन्वय भइरहेको उनले बताए ।


    प्रकाशित : बिहीबार , आषाढ २७ २०८१०९:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार