२०८३, कार्तिक १५ गते आइतबार

ओलीप्रति प्रचण्डको कटाक्ष
‘संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा सडकबाट बचाइएको हो, त्यसरी नै बचाइनेछ’

‘संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा सडकबाट बचाइएको हो, त्यसरी नै बचाइनेछ’


  • मेरोभ्यूज
  • आषाढ २८, २०८१ शुक्रबार

  • ‘संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा सडकबाट बचाइएको हो, त्यसरी नै बचाइनेछ’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट निर्मित वर्तमान संविधानको रक्षार्थ आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) निरन्तर लडिरहने बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा उनले यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा बढी लगानी रहेको र आफ्नो पार्टीले संविधानलाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले भने, ‘उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।’

    निरन्तर आफ्नो राजिनामा मागिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राजीनामाको नाम दिएर नतर्सिन सुझाव दिए। ‘केही साथीहरू डराइरहनुभयो र राजीनामा मागिरहनुभयो । साथीहरूको आपसी विश्वास कमजोर भएर हो वा षड्यन्त्र आफैं सधै कमजोर हुने भएर हो, तर्सिरहनुभयो,’ उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गर्नुभयो ।’

    बाढीपहिरोको चपेटामा देश परेर सरकार चौबीसै घण्टा खटेर उद्दार र राहतमा लागिरहेको बेला वक्तव्यबाजी गरेर कर्मचारीतन्त्रलाई धम्क्याएर र फकाएर सरकारलाई प्रभावहीन बनाउन कोसिस गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले एमालेले विश्वासको मत फिर्ता लिएपछि दीर्घकालीन असर पर्ने निर्णय र कुनै पनि नियुक्ति नभएको स्पष्ट पारे । 

    उनले भने, ‘तपाईंहरूले कहिल्यै देखाउनुभएको छ यो नैतिकता ? अल्पमतमा परेपछि पनि विगतमा एमाले नेतृत्वले कस्ता कस्तासम्म निर्णय गर्नुभएको छ, त्यो रेकर्ड इतिहासमा सुरक्षित छ ।’

    विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले दलहरूलाई पारदर्शी राजनीति गर्न सुझाव दिए । ‘मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म बिल्कुल चिन्तित छैन’, उनले भने, ‘जनतालाई नझुक्याउनु होला ।’

    पछिल्ला नाटकीय घटनाक्रमबाट आफू चिन्तित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदको पहिलो र दोश्रो ठूलो दललाई विश्वासले नभइ डरले जोड्नु चिन्ताको विषय भएको दाबी गरे । उनले भने, ‘दुई पार्टी डरले जोडिनुभयो, त्यो सुशासनको डर हो । जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफैं मूल्याङ्कन गरिरहनुभएको होला ।’



    प्रकाशित : शुक्रबार, आषाढ २८ २०८१०४:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार