२०८३, कार्तिक १५ गते आइतबार

मगर   समुदायको बाहुल्यता भएको बागलुङको ताराखोलामा असारेको रमझम

मगर   समुदायको बाहुल्यता भएको बागलुङको ताराखोलामा असारेको रमझम


  • मेरोभ्यूज
  • आषाढ ३१, २०८१ सोमबार

  • मगर   समुदायको बाहुल्यता भएको बागलुङको ताराखोलामा असारेको रमझम

    गण्डकी । मगर बाहुल्य भएको बागलुङको ताराखोला संस्कृतिले धनी छ । बर्सेनि असारको तेस्रो मङ्गलबारदेखि यहाँ ‘असारे’ मेलाको छुट्टै रौनक चल्छ ।

    ‘असारे’ त्यहाँ बसोबास गर्ने तरामीमगरको पुस्तैनी मेला हो । रैथाने मेला असारेलाई खुसी साट्ने, मीठो-मसिनो खाने, प्रकृति र देवीदेवता पूज्ने पर्वका रुपमा लिइन्छ ।

    मेला आयोजक असारे युवा क्लबका अध्यक्ष ओमबहादुर रोकाले असारे मेलाका अवसरमा विविध सांस्कृतिक कार्यक्रम र खेल प्रतियोगिता राखिएको जानकारी दिए ।

    मौलिक गीत नाच र झाँकी मेलाका विशेष आकर्षण हुन् । मेलामा पुरुष तथा महिला भलिबल, प्रौढ पुरुष भलिबल, धनुषवाण, स्लो बाइक रेस, भाले छुने, रस्साकस्सी, छेलो, सामूहिक नृत्यलगायतका प्रतियोगिता सञ्चालन भइरहेको क्लबले जनाएको छ ।

    नयाँ पुस्ताले ‘असारे मेला’का रुपमा संस्कृतिको जगेर्ना गरेपनि जनबोलीमा भने ‘असारे’ भनेर प्रचलित रहेको अध्यक्ष रोकाले जानकारी दिए  ।

    बर्खाको खेतीपाती भ्याएर विश्राम लिन असारे बस्ने गरिएको मगर समुदायका बूढापाका बताउँछन् ।

    आराम र मनोरञ्जनका लागि ‘असारे मेला’ सुरु भएको विश्वास गरिन्छ । संस्कृतिकर्मी झकबहादुर घर्तीका अनुसार डोल्पाको ताराभोटबाट आएका पूर्वजले असारेको चलन बसालेका थिए ।

    असारको उजेली पक्ष पारेर असार मनाउने परम्परा रहेको उनको भनाइ छ । मेलाका अवसरमा पूजाआजासहित बली पनि चढाउने गरिन्छ । अघिल्लो दिन गहुँ, चामलको रोटी खाने र भोलिपल्ट असारेको पहिलो दिन बूढापाकाले लठ्ठो बाट्ने, युवाले पिङ राख्ने चलन छ ।

    असारेलाई साँचेर कुल घरमा राखिएको जमरालाई त्यही पिङ्मा चढाउने र बाचा बाँध्ने गरिएको संस्कृतिकर्मी घर्तीले बताए । यसपालिको असारे मेला सोमबारसम्म चल्ने क्लबका अध्यक्ष रोकाले बताए ।

    भलिबलको फाइनल स्पर्धासहित समापन समारोह आयोजना गरी यस वर्षको असारेलाई बिदाइ गरिने उनले सुनाए । गाउँलेले उक्त मेलालाई ‘असारे बस्ने’ भनेर पनि चिन्छन् । असारे बसेका बेला खेतीपातीको काम गर्न नहुने मान्यता छ ।

    वर्षात्मा बाढीपहिराजस्ता प्रकोप नहोस्, रोगव्यादी नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै प्रकृति पूज्ने चलन रहेको संस्कृतिकर्मी घर्तीले बताए ।

     मुखियाको घर (हेम्थो घर)को बारीमा रहेको थानमा राँगाको बली दिने गरिएको उनको भनाइ । “पहिलेपहिले यहाँ आउँदा बालबालिका हराउने गरेको र पछि ढुङ्गामा बली चढाएर पूजा गर्न थालेपछि हराउन छाडेको भन्ने धार्मिक विश्वास छ”, उनले भने ।

    विसं १७६६-०६७ तिर डोल्पाबाट बसाइँ सरेर आएका तरामीमगरले थातथलो बसाएको ताराखोला गाउँपालिका-४ र ५ मा असारे विशेषरुपमा मनाइन्छ । बली र पूजापाठ वडा नं ४ को तारागाउँमा हुने गरेपनि मेला भने ५ को करिमेलामा चल्छ ।

     असारेलाई ताराखोलावासीले आफ्नो मौलिक संस्कृति मान्छन् । बर्खे झरीकोसमेत पर्वाह नगरी मानिसहरु हर्षोल्लासपूर्वक असारेमा रमाउँछन् । तारागाउँमा रहेको थानमा पूजाआजापछि करिमेलामा साँस्कृतिक कार्यक्रम तथा खेलकुदको आयोजना हुने क्लबले जनाएको छ ।

    तीन सय वर्षअघिदेखि असारेको थिती बसेको स्थानीयवासीको विश्वास छ । असारे ताराखोलाको ऐतिहासिक र साँस्कृतिक महत्वको मेला भएको ताराखोला गाउँपालिकाका पूर्वअध्यक्ष प्रकाश घर्तीले बताए ।

     मेलामा युवायुवती पिङ खेल्ने, मिठा परिकार खाने, असारे गीत तथा नाचमा रमाउने गर्छन् । खेतीपातीपछि आराम गर्ने, आफन्त र मित्रजनसँग भेटघाट हुने अवसरका रुपमासमेत असारे मेलालाई लिइन्छ ।

     पछिल्लो समय मेलाको स्वरुप केही फेरिँदै गएको छ । धार्मिक आस्था, मान्यता र परम्परासँगै मेलालाई नयाँपन दिन थालिएको हो । मेला धार्मिक, सांस्कृतिक मान्यतासँग पनि जोडिएको छ । मेला भर्न हिल, अर्गल, हटिया, हरिचौर, तमान, खुङ्गा म्याग्दीको रुम, निस्कोट, किमचौरलगायतका ठाउँबाट सर्वसाधारण आउँछन् ।

    तराखोला गाउँपालिका-२ अर्गल, वडा नं ३ हिल, वडा नं  १ अमरभूमिलगायतका गाउँमा पनि बर्खे मेला आयोजना गर्ने गरिएको छ । हिलमा साउने सङ्क्रान्तिमा मेला लाग्छ ।

    पाल्पाको अर्गली र डोल्पाको ताराभोटबाट बसाइँ सराइ गरी आएका मगरका पूर्वजले ताराखोलाका विभिन्न गाउँमा मेलापर्वको चलन बसालेका हुन् ।

     भदौरे सिस्नो खोस्ने पर्व, कात्तिकको भुस पोल्ने पर्व, माघे सङ्क्रान्ति, श्रीपञ्चमीलगायत पर्वलाई ताराखोलाका मगर समुदायले विशेषरुपमा मान्दै आएको छन् ।


    प्रकाशित : सोमबार, आषाढ ३१ २०८१११:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार