२०८३, कार्तिक १५ गते आइतबार

मोरङमा बढ्दो वन, यस वर्ष रोपियो ५७ हजार बिरुवा

मोरङमा बढ्दो वन, यस वर्ष रोपियो ५७ हजार बिरुवा


  • मेरोभ्यूज
  • श्रावण १, २०८१ मंगलबार

  • मोरङमा बढ्दो वन, यस वर्ष रोपियो ५७ हजार बिरुवा

    मोरङ । जिल्लास्थित डिभिजन वन कार्यालयले यस वर्ष ३६ हेक्टर बाँझो जमिनमा ५७ हजार छ सय बिरुवा रोपेका छन् ।

     ‘जहाँ बाँझो त्यहाँ वृक्षरोपण, जहाँ वन त्यहाँ व्यवस्थापन’ भन्ने नाराका साथ सरकारले सुरु गरेको वृक्षरोपण अभियानलाई सफल बनाउन कार्यालयले विभिन्न प्रजातिका ५७ हजार छ सय बिरुवा रोपेको हो ।

    जिल्लाको कूल एक लाख ८५ हजार पाँच सय ५० क्षेत्रफलमध्ये हाल ४४ हजार पाँच सय ४० हेक्टर जमिनमा वन रहेको कार्यालयका सूचना अधिकृत रामलखन ठाकुरले जानकारी गराए ।

     एक सय ३७ सामुदायिक, चार साझेदारी, १२ धार्मिक र छ सय १८ वटा निजी वन रहेका छन् ।

    नदी उकास क्षेत्रमा खयर र बाँस, चुरे महाभारत क्षेत्रमा तेजपाल, टिमुर, हर्रो, बर्रो, सहरी क्षेत्रमा कल्की, अशोक, अमला र अम्बक, सामुदायिक वनमा साल, सतिसाल, कर्मा र किसानको निजी वनमा मसला, टिक, टाँकीलगायत बिरुवा लगाइएको सूचना अधिकृत ठाकुरले जानकारी दिए ।

    सूचना अधिकृत ठाकुरका अनुसार वनको विकास र विस्तार गर्न मोरङमा २२ स्थानमा उत्पादन गरिएका बिरुवा वितरण गरी लगाइएको हो । वनले ९० प्रजातिका बिरुवा उत्पादन गरेको छ ।

     लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति बेलबारीद्वारा बेलबारी नगरपालिका-११ स्थित लक्ष्मीमार्गमा पाँच दशमलव पाँच हेक्टर जग्गामा विभिन्न प्रजातिका आठ हजार बिरुवा रोपिएको समितिका अध्यक्ष सुजय गौतमले जानकारी दिए ।

    जिल्लामा ९६ प्रतिशत वन पूर्व-पश्चिम राजमार्गदेखि उत्तरतर्फ छ । राजमार्गको दक्षिणी क्षेत्रमा वन क्षेत्र बढाउन वृक्षरोपण गर्नुपर्ने आवश्यकता भएकाले मठमन्दिर, नदी किनार, गौचरन र सार्वजनिक एवं खाली जग्गामा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

     “जिल्लामा पछिल्लो चार वर्ष क्रमशः उत्पादित काठको बिक्री घटेको तथ्याङ्क रहको छ”, उनले जानकारी दिए ।

    आर्थिक वर्ष २०७७/७८ मा एक लाख ५४ हजार दुई सय ३८ घनफिट काठ बिक्री भएको थियो । आव २०७८/७९ मा ९८ हजार पाँच सय २५ घनफिट, २०७९/८० मा ६६ हजार ६१ घनफिट र २०८०/८१ मा अनुमानित ३५ हजार चार सय घनफिट काठ बिक्री भएको तथ्याङ्क रहेको वन कार्यालयका वन अधिकृत घनश्यामकुमार यादवले जानकारी दिए ।

    काठको उत्पादनमा वार्षिकरुपमा कमी आएकाले बिक्री घटेको उनले बताए । वनजङ्गलमा देखिएको निकै पुराना रूखले गर्दा नयाँ बिरुवा हुर्कन नसक्ने र पछि जङ्गल पातलिने भएकाले वनलाई घना बनाई व्यवस्थित गर्न सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरेको थियो ।

     विसं २०७७ माघदेखि उक्त कार्यक्रम बन्द भएको छ । उक्त कार्यक्रम बन्द भएपश्चात् क्रमशः काठको उत्पादन घटेको वन अधिकृत यादवले बताए ।

    वर्षमा तीनपटकसम्म काठ बिक्रीका लागि निवेदन माग गर्दा विगतका वर्षहरुमा तीन सयभन्दा बढी निवेदन आउने गरेकामा पछिल्लो समय ५० को हाराहारीमा मात्र निवेदन पर्ने गरेको वन अधिकृत यादवले जानकारी  गराए ।

    उनको अनुसार ‘ए’ ग्रेडको सालको मूल्य रु एक हजार दुई सय ५० प्रतिघनमिटर, ‘बी’ ग्रेडको रु एक हजार, ‘सी’ ग्रेडको रु ६ सय र ‘डी’ ग्रेडको रु तीन सय ५० प्रतिघनमिटरका साथै भ्याट शुल्क, सङ्कलन बापतको शुल्क र प्रतिघनमिटरको रु सात प्रदेश सेवा शुल्क जोडेर बिक्री हुने गरेको छ ।

    हाल करिब ९० हजार घनमिटर काठ घाटगद्दीमा भण्डारणमा रहेको भन्दै काठको उत्पादन घटेसँगै माग नबढेको वन प्रमुख घिमिरेले बताए ।

    “उपभोक्ताबाट काठको मागमा कमी आएको छ । नयाँ घर निर्माणमा कमी, वैकल्पिक निर्माण सामग्रीको प्रयोगलगायत कारणले माग घटेको हुनसक्छ”, वन प्रमुख घिमिरेले बताए ।


    प्रकाशित : मंगलबार, श्रावण १ २०८१०७:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार