भोजपुर । जिल्लाको टेम्केमैयुङ गाउँपालिका-९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् ।
वर्षाका कारण पाँचधारे-भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो ।
वर्षाले बगेको सडक तीन सातासम्म बन्द रहेकाले स्थानीयवासीको सक्रियतामा मर्मत गरेर सञ्चालनमा ल्याइएको वडाध्यक्ष नवराज माङपाहाङले जानकारी गराए ।
“ अवरूद्ध सडक मर्मत गरेर सञ्चालनमा ल्याएका छौँ”, वडाध्यक्ष माङपाहाङले भने, “सडक मर्मतपछि लामो समयबाट बन्द रहेको सडक सञ्चालन भएको छ ।
खहरे भएकाले पानी आउनासाथ सडकमा ठूलो क्षति हुन्छ । खोलाको कटानका कारण बर्सेनि ठूलो क्षति हुने भएकाले वैकल्पिक बाटो खोज्न आवश्यक छ ।”
राउतेखोलाको शिरमा रहेको रुपाथुम्की आसपासको अर्को सडक पनि पहिराले बगाउँदा आवतजावतमा समस्या भएको उनले जानकारी दिए ।
करिब ७० जना स्थानीय भेला भएर तत्कालका लागि राउतेखोलाको अवरुद्ध सडक खुलाएको स्थानीयवासी अमृत लुइँटेलले बताए ।
वडा कार्यालयको अगुवाइमा भइरहेको श्रमदान अभियानमा गाउँले सहभागी भएर सडक मर्मत गरिएको उनले बताए ।
यो सडक भएर छिमेकी जिल्ला खोटाङका नागरिकसमेत आवतजावत गर्दै आएका छन् ।
सडक अवरोध बनेपछि भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङका नागरिकलाई आवतजावत दैनिक उपभोग्य वस्तुको ढुवानी समस्या हुने गरेको स्थानीयवासी अंजित गुरुङले बताए ।
हामी पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङवासीकमा निम्ति पनि महत्त्वपूर्ण सडक हो, उनले भने, “सडक अवरोध हुँदा यहाँको दैनिकी निकै कष्टर हुन्छ । राज्यले यो सडकलाई बिना अवरोध बाह्र महिना सञ्चालनमा ल्याउन पहल गर्न आवश्यक छ ।”

