२०८३, कार्तिक १५ गते आइतबार

निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ

निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ


  • मेरोभ्यूज
  • श्रावण ८, २०८१ मंगलबार

  • निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ

    चितवन । विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ ।

    निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भूइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ ।

    सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरमार्फत शवदाह गृह निर्माण भइरहेको छ ।

    कार्यालय प्रमुख झपटबहादुर थापाले निर्माणस्थल छनोटमा ध्यान नपुगेको र काम अत्यन्तै ढिलो हुँदा समस्या भइरहेको बताए । सुरक्षाको काम गर्न नपाएको बताए ।

    कार्यालय प्रमुख थापाले बाढीबाट जोगाउन थप सुरक्षा संरचनाको काम गर्न आवश्यक देखिएकाले नारायणी नदी व्यवस्थापन आयोजनालाई पत्राचार गरी तटबन्ध निर्माण गरिदिन आग्रह गरिएको जानकारी दिए ।

    बाढीले गृहको भूइतलामा एक दशमलव पाँच फिटसम्म पानी भरिएको र सोही तलामा शव जलाउने उपकरण राखिने भएकाले पानी पस्नबाट रोक्नु पर्ने जरूरी भएको थापाको भनाइ छ ।

    विसं २०७५ माघदेखि निर्माण सुरु भएको शवदाह गृह अझै सम्पन्न हुन सकेको छैन ।

     विसं २०७७ साउनमा सम्पन्न गर्ने गरी मिलिनियम सिद्धगढी जेभि काठमाडौँसँग सम्झौता गरिएकामा हालसम्म ४५ प्रतिशत काम मात्रै भएको छ ।

    शवदाह गृह रु ११ करोड २१ लाख आठ हजारमा ठेक्का लगाइएको थियो ।

    चारपटक मिति थप गरेर ताकेता गर्दासमेत गर्दा काम द्रुतगतिमा अगाडि नबढ्दा समस्या भएको कार्यालय प्रमुख थापाको भनाइ छ ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल केही दिन अघि आएको बाढीले गृहको सुरक्षाका लागि बनाइएको बाँध ढल्ने अवस्थामा रहेकाले तत्काल सुरक्षाको काम गर्नुपर्ने बताए ।

     देवघाटमा हाल दैनिक आठदेखि दस वटा शव ल्याइने गरेको र हिउँदमा यो सङ्ख्या बढी हुने गरेको कार्यकारी निर्देशक बरालले जानकारी दिए ।


    प्रकाशित : मंगलबार, श्रावण ८ २०८११०:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार