तनहुँ । पहाडको खोंच, जङ्गलै जङ्गले घेरिएको ठाउँ । हरियाली मनमोहक ठाउँ । अग्लो डाँडाबाट ढुङ्गामा ठोक्किँदै झरेको पानी । डाँडाबाट खस्दा आउने आवाजले तनहुँको व्यास नगरपालिका-१४ छाब्दी नजिक रहेको छाङ्गा बाराही झरनाले यहाँ पुग्ने सबैलाई लोभ्याउँछ तर यसको प्रचार-प्रसार हुन नसक्दा पर्यटकीय गतिविधि बढ्न सकेका छैनन् ।
सदरमुकाम दमौली हुँदै बाराही मन्दिरबाट पूर्वतर्फको यात्रा गरेपछि करिब ३० मिनेटमा यहाँ पुगिन्छ । कही उकालो र कही समथल बाटोको यात्रा गरेपछि यहाँ पुग्दा जो कोही मोहित हुन्छन् र थकान मेटिएको आभाष हुन्छ ।
यहाँ गाउँपालिका वडा नं १४ कुलुङ गाउँबाट आउने पानीले झरनाको रूप लिएको छ । पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने यो ठाउँ प्रचार-प्रसारको कमीले ओझेलमा परेको झरनामा घुम्न पुगेका व्यास नगरपालिका-२ बागबजार निवासी सुदीप गफ्फारले बताए ।
दमौलीको उखरमौलो गर्मीका बेला यहाँको शीतलताले आनन्दित बनाएको उनको भनाइ छ । “झरनाको पानी एकदम चिसो, गर्मीका बेला त साह्रै आनन्द आउने । हरियाली वातावरणले झनै आकर्षित गर्ने ठाउँ रहेछ”, उनले भने । यस ठाउँलाई धार्मिक पर्यटनसँग जोड्नसके धेरै लाभ लिन सकिने भन्दै गफ्फारले जानकारी दिए ।
उनले भने, “छाब्दी बाराही मन्दिर दर्शन गर्न आउने भक्तजनलाई यस ठाउँसम्म आउने वातावरण सिर्जना गर्नुपर्छ । त्यसो भएमा यो राम्रो पर्यटकीय क्षेत्र बन्न सक्छ ।” व्यास नगरपालिका-१ का सुनिल श्रेष्ठले चिसो पानी, मनमोहक वातावरणले यहाँ पुग्ने जो कसैको मन लोभ्याउने उल्लेख गरे ।
प्रचार-प्रसारका कारण यस झरनामा सोचेजति चहलपहल नभएकाले स्थानीय तहले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । व्यास नगरपालिका-१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ यस ठाउँको पर्यटन प्रवर्द्धनका लागि केही वर्ष पहिला झरनामा ‘क्यानोनिङ’ (चट्टानमा डोरीको सहाराले हाम्फाल्ने) शुभारम्भ गरिए पनि त्यसले सार्थकता नपाएको बताए ।
वडाध्यक्ष श्रेष्ठले भने, “छाब्दी बाराही मन्दिर दर्शनका लागि विभिन्न जिल्लाबाट हजारौँ भक्तजन आउँछन् । यहाँ आउने भक्तजनलाई झरनासम्म पुर्याउन सकिरहेका छैनौं । छाब्दीमा आउनेलाई झरनासम्म पुग्ने वातावरण बनाउन पाए पर्यटन प्रवर्द्धनमा टेवा पुग्थ्यो तर हाम्रो प्रयासले मात्र सम्भव भएको छैन ।”
झरनासम्म पुग्ने बाटोमा करिब एक सय मिटर ढलान गरिएको छ । वडाको सीमित बजेटले मात्रै यहाँ पूर्वाधार निर्माण गर्न कठिनाइ भएको श्रेष्ठको भनाइ छ । वडाध्यक्ष श्रेष्ठले भने, “वडाको सानो बजेटबाट धेरै काम गर्न सकिएको छैन । पूर्वाधार निर्माण गर्नका लागि स्रोत छैन । अब पालिका र अन्य सरोकार भएकाहरूले पनि यसमा सहयोग गर्नुपर्छ, अनि मात्रै आवश्यक पूर्वाधार निर्माण तथा प्रचार-प्रसारका काममा सहज हुन्थ्यो ।”

