कञ्चनपुर । पर्या-पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेलौरी नगरपालिका-५ शोभा तालमा डुङ्गा (वाटर बोट) सञ्चालनमा ल्याइएको छ ।
पर्यटकीय क्षेत्र अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षितगरी नगरपालिकाले सङ्घीय सरकारको शसर्त अनुदानमा पाँच वटा डुङ्गा खरिद गरी सञ्चालनमा ल्याएको हो ।
सोही बजेटबाट पर्यटकीय क्षेत्रलाई थप आकर्षक बनाउन भगवान् गौतमबुद्धको मूर्ति पनि ल्याइएको छ ।
डुङ्गा सञ्चालनको जिम्मा शोभा ताल संरक्षण समितिलाई दिइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नगरपालिकाले शोभा ताल पर्यटकीय क्षेत्रको आठ हेक्टर क्षेत्रफलमा रहेका पाँचवटा तालमध्ये दुईमा डुङ्गा सञ्चालन, दुईमा माछापालन र एउटामा स्वीमिङ पुल निर्माण गरिएको नगर उपप्रमुख जोगराम चौधरीले जानकारी दिए ।
उनका अनुसार तालमा वर्षभरि एकनासको पानी प्रवाहको व्यवस्था मिलाउन ताल क्षेत्रमा दुईवटा बोरिङ जडान गरिएका छन् ।
शोभा तालको भौतिक पूर्वाधार विकासमा हालसम्म रु २५ करोडको खर्च भइसकेको नगर उपप्रमुख चौधरीले जानकारी दिए ।
उनका अनुसार पर्यटकको सुविधाका लागि ‘सेल्फी’ क्षेत्र, आकर्षक पखेटा, सभाहल, अतिथि गृह, पर्खाल, गेट, ठाउँठाउँमा विश्राम गर्न गोलघर, फुटपाथ, मनोरञ्जनात्मक तथा अन्य कार्यक्रम गर्न मञ्च निर्माण गरिएको छ ।
“यसअघि यहाँ आउने पर्यटकलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको थियो”, उपप्रमुख चौधरीले भने, “पर्यटकीय क्षेत्रमा टिकट काउन्टरको व्यवस्था गरी प्रवेश तथा डुङ्गा सवार गरेको शुल्क लिने गरेका छौँ ।
पर्यटक र पर्यटकीय क्षेत्रको सुरक्षा गर्न कर्मचारी राख्ने योजनासहित प्रक्रिया अगाडि बढाएका छौँ ।
” यस कार्यले पर्यटकीय क्षेत्रका भौतिक पूर्वाधारको सुरक्षा हुनुका साथै नगरपालिकाको आन्तरिक आयमा वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।
शोभा ताल संरक्षण समितिका अध्यक्ष जगदीश चौधरीले पर्यटकीय गतिविधिमा वृद्धि भएसँगै स्थानीय बासिन्दाको रोजगारीका अवसरमा समेत वृद्धि हुने बताए । “यहाँको व्यापार व्यवसाय फस्टाउँछ । रोजगारीका नयाँ अवसर सिर्जना हुन्छन्”, उनले भने, “पर्यटकीय गतिविधिले आयमा वृद्धि भई स्थानीयको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ ।”

