२०८३, कार्तिक १५ गते आइतबार

खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन

खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन


  • मेरोभ्यूज
  • श्रावण १०, २०८१ बिहीबार

  • खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन

    खोटाङ । यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ ।

    गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो । दश स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिच्चीको व्यावसायिक खेती गर्ने गरिएको छ ।

     यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिए ।

    दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई मेट्रिक टन तथा हलेसी तुवाचुङमा २० दशमलव ५० मेट्रिक टन लिच्ची उत्पादन भएको छ ।

    जन्तेढुङ्गा गाउँपालिकामा नौ मेट्रिक टन, बाराहापोखरीमा शून्य दशमलव ५०, खोटेहाङमा ३६, दिप्रुङ चुइचुम्मामा १८ दशमलव ५०, साकेलामा छ मेट्रिक टन, केपिलासगढीमा शून्य दशमलव ५० मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक मेट्रिक टन लिच्ची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    जिल्लामा उत्पादित लिच्चीलाई प्रशोधन गरेर बिक्री गर्ने वातावरण सरकारले मिलाउनु पर्ने रावाबेँसी गाउँपालिका-१ कुभिण्डेका स्थानीय बासिन्दा एवं उद्यमी रामबहादुर राईले बताए ।

     “जिल्लामा उत्पादित लिच्ची दाना नै बिक्री गर्ने चलन छ । यसलाई प्रशोधन गरेर जुसलगायत पेय पदार्थ बनाउन सकिन्छ”, उनले भने, “यसप्रति तीनवटै तहका सरकारले योजना बनाउनुपर्छ । जबसम्म कृषि उपज उत्पादनलाई सरकारले प्राथमिकता दिँदैन तबसम्म देश विकास सम्भव छैन ।”

    जिल्लामा उत्पादित लिच्ची स्थानीय हाटबजार तथा राजधानी काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ ।

     जिल्लामा उत्पादिन लिच्ची बिक्रीबाट किसानले वार्षिक करोडौँ आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

     लिच्चीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकार यसप्रति उदासिन देखिएको किसानको गुनासो छ । आफूहरूले उत्पादन गरेको लिच्चीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने किसानको माग छ ।

    लिच्ची उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय सरकारले लिच्चीका बिरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ । एकपटक रोपिएका बिरुवाले १० देखि १५ वर्षसम्म फल दिने भएकाले जिल्लाका अन्य किसान पनि लिच्चीको व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् ।


    प्रकाशित : बिहीबार , श्रावण १० २०८११०:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार