२०८३, कार्तिक १५ गते आइतबार

व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम

व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम


  • मेरोभ्यूज
  • श्रावण ११, २०८१ शुक्रबार

  • व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम

    भोजपुर । यहाँका केही युवाले व्यावसायिकरूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् ।

     पौवादुङमा गाउँपालिका-६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुन । उनी व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुटेका छन् ।

    उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आएको छ ।

    बङ्गुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बङ्गुरपालनसँगै फलफूलखेती गरिरहेको उनले बताए ।

    व्यवसायी राईको फार्ममा अहिले ४१ वटा बङ्गुर छन् । भविष्यमा बङ्गुरपालन तथा फलफूलखेतीबाट वार्षिक रु ५० देखि ६० लाखसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको उनले बताए ।

     विदेशमा सात वर्ष बिताएका राईले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेको बताए।

     “वार्षिक रु १२ देखि १५ लाखसम्म कारोबार हुन्छ । त्यसबाट खर्च कटाउँदा वार्षिक रु आठदेखि दस लाखसम्म आम्दानी हुन्छ ।”

    स्वदेशमा व्यावसायिकरूपमा काम गर्न सके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उनी बताउँछन् ।

    आफ्नो फार्ममा उत्पादन भएका बङ्गुर खरिद गर्न ठेकेदार घरमा आउने उनले बताए ।

    फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बङ्गुरलगायत पालन गरिरहेको उनले जानकारी गराए ।

    फार्ममा एक सय २० केजीदेखि एक सय ५० केजीसम्मको बङ्गुर छन् । “बङ्गुर बिक्रीको कुनै समस्या छैन”, उनले भने, “ धरान, विराटनगरबाट ठेकेदार नै आउँछन् । मागलाई धान्न धौ धौ छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।”

    कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताए ।

    उनलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन् । व्यावसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नु पर्ने उनको धारणा छ ।

    बङ्गुरपालन, फलफूल तथा तरकारीखेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी राई बताउँछ ।


    प्रकाशित : शुक्रबार, श्रावण ११ २०८१०९:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार