२०८३, कार्तिक १५ गते आइतबार

डिभिजन वन कार्यालय बाँकेले एक लाख दस हजार वृक्षरोपण

डिभिजन वन कार्यालय बाँकेले एक लाख दस हजार वृक्षरोपण


  • मेरोभ्यूज
  • श्रावण १२, २०८१ शनिबार

  • डिभिजन वन कार्यालय बाँकेले एक लाख दस हजार वृक्षरोपण

    बाँके । डिभिजन वन कार्यालय बाँकेले यो वर्ष ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ ।

     वृक्षरोपणअन्तर्गत विभिन्न जातका एक लाख १० हजार बिरुवा रोपिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

    डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीका अनुसार एक हेक्टर जमिनमा एक हजार छ सय बिरुवाका दरले वृक्षरोपण गरिएको हो ।

    कृषि वन तथा बृहत्तर हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत गौरी सामुदायिक वन क्षेत्रको चार, जलहन सामुदायिक वन क्षेत्रको २२, जलनधारा सामुदायिक वन क्षेत्रको ११, भुवर भवानी सामुदायिक वन क्षेत्रको तीन दशमलव ८१ र सिद्धेश्वर सामुदायिक वनक्षेत्रको सात दशमलव ५३ गरी ४७ दशमलव ३४ हेक्टर खाली जमिनमा उक्त बिरुवा लगाइएको वन अधिकृत शाहीले जानकारी दिए ।

    डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाले राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत वन अतिक्रमण हटाई पुनरुत्पादन व्यवस्थापन गरी मितेरी सामुदायिक वनको ११ हेक्टर र समय भवानी सामुदायिक वनको पाँच हेक्टर गरी १६ हेक्टर जग्गामा वृक्षरोपण गरिएको बताए ।

    उनका अनुसार वन, वन्यजन्तु, जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत पोखरा माता सामुदायिक वन क्षेत्रको १३ हेक्टर खाली जमिनमा तारबार गरिएको र पाँच हेक्टर जमिनमा वृक्षरोपण गरिएको छ ।

    उक्त खाली जमिनमा खयर, असिना, मौवा, जामुन, बर्रो, बेल, विजयसाल, सिरिष, सिसौ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, राज वृक्षलगायतका बिरुवा लगाइएको रोकाले जानकारी गराए ।

    सूचना अधिकारी रोकाले ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा एक लाख दस हजार वृक्षरोपण तथा तारबार गर्न ६९ लाख ८० हजार खर्च भएको जानकारी दिए ।

    डिभिजन वन कार्यालयले बर्सेनि सामुदायिक वन, अतिक्रमित क्षेत्र, नदीका किनारा, बगरलगायतका खाली क्षेत्रको पहिचान गरी वृक्षरोपण गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार बिरुवा रोपिएको थियो ।


    प्रकाशित : शनिबार, श्रावण १२ २०८१११:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार