नुवाकोट । कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका-२ स्थित पिमलटारको सयौं रोपनी धानखेत बगरमा परिणत भएको छ ।
नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ । स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्णरुपमा बगर बनेको छ ।
“बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ”, उनले भने, “दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ ।”
बाढीको कारण स्थानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलमा पनि क्षति भएको छ ।
स्थानीय किसान अरुण राईले व्यावसायिकरूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति भयो । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत सङ्कलन गरेर किसानलाई सक्दो सहयोग गर्न आफू तत्पर रहेको बताए ।

