बाँके । पक्की सडक निर्माणसँगै जिल्लाको खजुरा गाउँपालिकाका ग्रामीण बस्ती सुगम बन्दै गएका छन् ।
खजुरा-१ मा भारतीय सीमाक्षेत्रसँगै जोडिएको जलपोखरी, सैनिकलगायत राधापुरका बस्तीसम्म पक्की सडक निर्माण भएका छन् ।
परसपुर-गौघाट सडकको विकल्पमा लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको बेलभार-राधापुर हुँदै सीतापुरसम्मको पक्की सडकले खजुरा-१ क्षेत्रको स्वरुप परिवर्तन भएको स्थानीय भीम ओलीले बताए ।
“पहिला कच्ची बाटो हुँदा आवत-जावतमा कठिनाइ हुने गथ्र्यो, अहिले पक्की सडकले यहाँका गाउँबस्ती पनि सुगम हुँदै गएका छन्”, स्थानीय ओलीले भने, “गौघाट-परसपुर मुख्य सडकअन्तर्गतको किरणनाला पुल भत्किएपछि अहिले यस क्षेत्रका सबैजसो सैनिक-बेलभार सडकबाट आवत-जावत गर्ने गरेका छन् ।”
गाउँमा पक्की सडक बनेपछि अहिले चहल-पहल बढेको स्थानीय न्याउलीडाँडा निवासी अञ्जली सुनारले सुनाए ।
निर्माणाधीन परसपुर-गौघाट सडक अलपत्र परेपछि अहिले खजुरालगायत बर्दियाको जमुनी क्षेत्रमा जाने सर्वसाधारणले यही सडक प्रयोग गर्न थालेका छन् ।
पक्की सडक बनेपछि राधापुरबाट आधा घण्टामा सदरमुकाम नेपालगञ्ज पुग्न सकिने उनले उल्लेख गरे ।
“राधापुर क्षेत्रका दुर्गम गाउँबस्तीमा फराकिला सडक बनेर सवारीसाधन गुड्लान भनेर धेरैले सोचेकै थिएनन्, अहिले विकासले गति लिएको छ”, सुनारले बताए, “बेलभार-राधापुर पक्की सडक निर्माण भएपछि यससँगै जोडिएका गाउँबस्ती पनि सुगम भएका छन् ।”
आठ वडा रहेको खजुरा गाउँपालिकाको वडा नं १ भारतीय सीमासँग जोडिएको छ ।
पक्की सडक निर्माणले राधापुरका गाउँबस्ती सुगम भएका गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं २ का वडाध्यक्ष धनीराम ओलीले बताए ।
खजुरामा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
“यहाँका नागरिकको आवागमन सहजताका लागि सडक तथा पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम थालेका छौँ, लगातारको प्रयासले अहिले गाउँपालिकामा पक्की सडक बनिरहेका छन” ।
गाउँपालिकाका प्रवक्ता ओलीले भने, “गाउँपालिकाको बजेटले मात्रै पूर्वाधार विकास सम्भव नभएकाले प्रदेश र सङ्घीय सरकारसमक्ष योजना पेस गरेका छौँ ।” चालु आर्थिक वर्षमा पनि निर्माणाधीन पक्की सडकका योजनालाई सम्पन्न गर्ने र केही नयाँ सडक कालोपत्र गर्नेगरी योजना निर्माण भएका उनले जानकारी दिए ।

