गण्डकी । आठ वर्षअघि पोखराको लेखनाथ रङ्गशालामा निर्माण थालिएको बहुउद्देश्यीय ‘कभर्ड हल’ बीचमै अलपत्र परेको छ ।
तीन वर्षदेखि कभर्ड हल निर्माण ठप्प अवस्थामा छ । बनेका संरचना पनि जीर्ण बन्न थालेका छन् ।
पोखरा महानगरपालिका-२९ भण्डारढिकमा निर्माणाधीन उक्त कभर्ड हल बजेट अभावमा अलपत्र परेको हो ।
निर्माण समितिका अध्यक्ष सुवास खड्काले पछिल्ला दुई आवमा कभर्ड हललाई कतैबाट पनि बजेट नपरेको बताए ।
पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुद प्रेमी निराश छन् । “बजेट नभएका कारण कभर्ड हल निर्माण रोकिएको हो,” अध्यक्ष खड्काले भने ।
पोखरा महानगरसहित सङ्घ र प्रदेश सरकारबाट बजेट ल्याउन समितिले प्रयास गरेपनि सम्बन्धित निकायबाट सुनुवाई नभएको उनको भनाइ छ ।
अहिलेसम्म कभर्ड हलमा रु एक करोड दस लाख खर्च भइसकेको निर्माण समितिले जनाएको छ ।
आव २०७४/७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्टिएको रु ११ लाख बजेटबाट कभर्ड हलको निर्माण सुरु गरिएको थियो । त्यसयता राष्ट्रिय खेलकुद परिषद्को रु ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको रु २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट कभर्ड हलमा भुइँतलाको पिलर र गारो लगाउने काम भएको छ । “सबै संरचना तयार गर्न अझै तीन करोड जति बजेट लाग्छ”, अध्यक्ष खड्काले जानकारी दिए ।
“भलिबलदेखि मार्सल आर्टलसम्मका प्रायः सबै ‘इन्डोर’ खेललाई हुने गरी कभर्ड बनाउन लागिएको हो ।” कभर्ड हल नहुँदा खेलाडी खुला चौरमा खेल्न बाध्य छन् । प्रशिक्षक हेमन्त विकले सात वर्षदेखि खुला आकाशमुनि कराते सिकाउँदै आएको सुनए ।
“घाँसे मैदानमा प्रशिक्षण चलाउनु पर्ने बाध्यता छ, कभर्ड हल छैन, बर्खामा ट्रयाक हिलाम्मे हुँदा खेलाडी दौडन पनि पाउँदैनन्”, विकले दुःखेसो पोखे, “रङ्गशाला मात्र भनेर के गर्ने खेल पूर्वाधार छैन ।
” बहुउद्देशीय कभर्ड हल ४५ मिटर लामो र २६ मिटर चौडा हुने गरी निर्माण सुरू गरिएको थियो । सुरुमा रु तीन करोडको बजेट अनुमान गरिए पनि महँगीका कारण अब लागत पनि बढ्ने भएको छ ।
नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता पोखरामा हुँदा राखेप सदस्य सचिव टङ्कलाल घिसिङले उक्त कभर्ड हलको अवलोकन गरी बजेटका लागि पहल लिने आश्वासन दिएको थियो ।
प्रदेश सरकारका प्रतिनिधिले पनि पटक-पटक बजेटको कमी हुन नदिइने बताउँदै आएका छन् ।
तर बजेटकै कारण महत्त्वपूर्ण खेल पूर्वाधार वर्षौँदेखि अलपत्र छ । कभर्ड हलमा हालसम्म भएको लगानी यसै खेर जाने हो कि भन्ने चिन्ता स्थानीय खेलप्रेमीहरूलाई छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलगायत खेल क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थाले बजेट नभएर कभर्ड हल अलपत्र परेपछि तीनै तहका सरकारको ध्यानाकर्षण गराइएका थिए ।
लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाई गर्नुपर्ने स्थानीयवासीको माग छ । खेलाडी उत्पादनदेखि र खेल गतिविधि सञ्चालनका लागि लेखनाथ रङ्गशाला उपुयक्त ठाउँमा रहेकाले पूर्वाधारमा राज्यले लगानी गर्नुपर्ने अध्यक्ष खड्काको भनाइ छ ।

