म्याग्दी । मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ ।
चराविद् सञ्जय श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेको नेपाल पक्षीविद् सङ्घले जनाएको छ ।
नेपाल बर्ड रेकर्ड कमिटि (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति)का अध्यक्ष डा तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले उक्त तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलो पटक भेटिएको विज्ञप्तिमार्फत जानकारी दिए ।
स्पोटेड फ्लाइक्याचर (Spotted Flycatcher) अंग्रेजी नाम भएको उक्त चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा (Muscicapa Striata) रहेको कमिटिका अध्यक्ष सुवेदीले जानकारी दिए ।
समुद्री सतहबाट तीन हजार छ सय ५० मिटर उचाइमा यही साउन २ गते बिहान पदयात्राका क्रममा श्रेष्ठ र तिवारीले खिचेको सो चराको तस्विर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटिमा पठाएको थियो ।
उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्तराष्ट्रिय पक्षीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले जानकारी गराए ।
धर्से अर्जुनकसहित नेपालमा चरा प्रजातिको सङ्ख्या आठ सय ९६ वटा पुगेका छन् ।
अर्जुनक प्रजातिको सङ्ख्या २४ पुगेको छ । नेपालबाट सबैभन्दा नजिक मङ्गोलिया, उत्तरी चीनको विभिन्न ठाउँ, पश्चिमतर्फ अफगानिस्तान, पाकिस्तानमा यो चरा पाइन्छ ।
जाडो याममा यिनीहरु नियमितरुपमा दक्षिणतिर बसाइँ सर्छन् । मुस्ताङमा भेटिएको यो चरा बसाइँसराईको क्रममा बाटोमा फिरन्तेरुपमा आइपुगेको हुन सक्ने अनुमान गरिएको चराविद् सञ्जय था श्रेष्ठले बताए ।
“देशका लागि नयाँ चरा पहिचान गर्न सकेकोमा खुसी लागेको छ”, वाइल्डलाइफ फोटोग्राफरसमेत रहेका श्रेष्ठले भने, “यसले चरा पर्यटनमा लाग्न उत्साह थपिएको छ । चराका फोटो खिच्न उत्प्रेरित गरेको छ ।
” नेपाल बर्ड रेकर्ड कमिटीले नेपालमा नयाँ चराको अभिलेख राख्ने गर्दछ । श्रेष्ठले सन् २०२० मा मनोहरामा सेतोजुँगे बगेडी चरा मुलुकका लागि पहिलो पटक अभिलेख गरेको थियो ।

