तनहुँ । जिल्लाको देवघाट गाउँपालिका-२ बेसारघारीमा ३५ हेक्टर क्षेत्रफलमा अहिले सिँचाइ पुगेको छ ।
आकाशे पानीको भरमा यहाँका सुन्तला खेती गर्दै आएका यहाँका किसान अहिले सौर्य ऊर्जामार्फत सिँचाइ सुविधा पाउँदा उत्साहित भएका छन् ।
भिरालो र सुक्खा क्षेत्रमा सिँचाइको अभावमा समस्या झेल्दै आएका किसानलाई सौर्य ऊर्जामार्फत सिँचाइ पुगेपछि सहज भएको हो ।
एक सय चार मिटर उचाइमा रहेका सुन्तला बारीमा लिफ्टिङ प्रविधिबाट सिँचाइका सुविधा पुगेपछि खेती गर्न सहज भएको किसान तिलबहादुर थापाले जानकारी दिए ।
बेसारघारी सिँचाइ आयोजनाअन्तर्गत उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थापाले भने, “यहाँका बासिन्दालाई सिँचाइमा समस्या थियो । हामीले आकाशे पानीको भरमा परम्परागत विधिबाट खेती गर्दै आएका थियौँ । सोलार प्रविधिबाट पानी तानेर अहिले सहजरुपमा सिँचाइ गर्न पाएका छौँ ।”
सहज सिँचाइ सुविधा पाएपछि अहिले व्यावसायिकरुपमा सुन्तलासँगै अन्य खेतीतर्फ जोडिँदै गएको थापाले बताए ।
उनले भने, “केही फाइदा र बेफाइदा हुने रहेछ । पानीको मुहान सुक्दा समस्या हुन्छ । पहिलेभन्दा सहज भएको छ । सिँचाइका लागि मुहानमा पर्याप्त पानी आवश्यक पर्दछ ।” देवघाट-२ बेसारघारीमा सौर्य ऊर्जाका माध्यमबाट पानी लिफ्टिङ गरी सिँचाइको व्यवस्था गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इन्जिनियर जगन्नाथ चापागाईंले जानकारी दिए ।
उनका अनुसार रु एक करोड २१ लाखको लागतमा बेसारघारी लिफ्टिङ योजना निर्माण गरिएको हो ।
बन्दीपुर गाउँपालिका-३ मा कोल्पाटा सिँचाइ आयोजनामार्फत १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याइएको छ । रु ५१ लाख ८७ हजारको लागतमा उक्त आयोजना निर्माण भएको सूचना अधिकारी चापागाईंले बताए ।
व्यास नगरपालिका-६ चापाटारस्थित याङ्दी खोला सिँचाइ योजनामार्फत रु ५७ लाख २२ हजारको लागतमा सिँचाइ सुविधा पु¥याइएको छ । यसले १५ हेक्टर क्षेत्रफलमध्ये १२ हेक्टरमा सिँचाइ हुने उनले जानकारी दिए ।
भानु नगरपालिका-१० स्थित पदेलफाँट लुइँटेलफाँट सिँचाइ आयोजना निर्माणाधीन छ । यसले १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने कार्यालयले जनाएको छ । उक्त आयोजना रु ६५ लाख ८० हजारमा निर्माण भइरहेको छ ।
आर्थिक वर्ष २०७९/८० मा शुक्लागण्डकी नगरपालिका-१० स्थित लोग्दीटारमा स्थानीय क्याङ्दी खोलाबाट लिफ्ट प्रविधिबाट सिँचाइको सुविधा उपलब्ध गराइएको थियो ।
क्याङ्दी खोलामा सम्पवेल निर्माण गरी ७० मिटर उचाइमा लिफ्टमार्फत पानी तानेर दुईवटा ट्याङ्कीमा पानी सङ्कलन गरिएको सूचना अधिकारी चापागाईंले उल्लेख गरे ।
“ट्याङ्कीमा सङ्कलित पानी करिब चार किलोमिटर क्षेत्रफलमा पाइप बिछ्याएर प्लट-प्लटमा धारा जडान गरिएको छ । उक्त धाराबाट करिब एक महिनादेखि पानी वितरण गरी सिँचाइ भइरहेको छ”, उनले जानकारी गराए ।
गण्डकी प्रदेश सरकारको करिब रु एक करोड २९ लाखको लागतमा निर्माण गरिएको लोग्दीटार लिफ्ट सिँचाइ आयोजनाबाट करिब तीन सय उपभोक्ता लाभान्वित भएका छन् ।
यस्तै, सिस्नेरी ठूलोफाँट लिफ्ट सिँचाइ आयोजनाबाट १२ हेक्टर क्षेत्रफलमा सुविधा पुगेको छ ।
आयोजना निर्माण भएपछि यहाँ हिउँदमा पनि हरियो सागसब्जी र तरकारी खेती गर्न पर्याप्त सिँचाइ उपलब्ध भएको छ ।
यस आयोजना विसं २०७५ देखि सुरु भएकोमा हाल सम्पन्न भई सञ्चालनमा आएको सूचना अधिकारी चापागाईंले जानकारी दिए ।
सुक्खा जमिनमा सिँचाइका लागि पानी पर्याप्त भएसँगै किसानले तरकारीखेतीसँगसँगै धानखेती पनि गर्दै आएका छन् ।
यहाँका किसानले अहिले गहुँ, धान, मकै, काउली, बन्द, तोरीलगायत खेती गरिरहेका छन् ।
सतहमा पानी भएका स्थानमा कुलो, नहरबाट र सतहमा पानी नभएका स्थानमा सोलार लिफ्टमार्फत सिँचाइको सुविधा उपलब्ध गराउन योजनाबद्ध काम थालिएको कार्यालयका डिभिजन प्रमुख प्रकाश लम्सालले बताए ।
प्रमुख लम्सालका अनुसार कार्यालयले अहिले शुक्लागण्डकी र भिमाद नगरपालिका, बन्दीपुर र देवघाट गाउँपालिकामा सोलर लिफ्ट सिँचाइ आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।
“लोकेतीटारमा २३, सिस्नेरीमा २७ र बेसारघारीमा ३२ वटा धारा निर्माण गरी सिँचाइको व्यवस्था मिलाएका छौँ”, डिभिजन प्रमुख लम्सालले भने, “सोलार लिफ्टको माध्यमबाट लोग्दीटारमा करिब चार सय ६० रोपनी, सिस्नेरीमा करिब तीन सय रोपनी र बेसारघारीमा छ सय रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध भएको छ ।”
सिस्नेरी फाँटमा जमिनभन्दा ७० मिटर गहिराइमा खनिएको बोरिङबाट पानी लिफ्ट गरी ट्याङ्कीमा सङ्कलन गरी वितरण गरिएको छ । उक्त आयोजनाअन्तर्गत तीन किमि क्षेत्रफलमा पाइप बिछ्याइएको छ ।
बेसारघारीमा स्थानीय खोलामा पोखरी बनाएर पानी जम्मा गरी एक सय चार मिटर उचाइमा सौर्य ऊर्जाको माध्यमबाट पानी लिफ्टिङ गरिएको कार्यालयले जनाएको छ ।
सुक्खा क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराई व्यावसायिक कृषि पेसामा आबद्ध किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य ऊर्जा लिफ्टिङ प्रविधिको प्रयोग गरी यी योजना सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयका डिभिजन प्रमुख लम्सालले बताए ।
उनले भने, “पानीको स्रोतभन्दा सिँचाइको सुविधा पु¥याउनु पर्ने क्षेत्र अग्लो स्थानमा भएकोले विद्युतीयमाध्यमबाट सिँचाइ पु¥याएका छौँ । विद्युत् महसुलले किसान मारमा पर्न सक्ने सम्भाव्यतालाई अध्ययन गरी सहज सोलार प्रविधिको उपयोगी गरिएको छ ।”
प्रदेश सरकारबाट सिँचाइका लागि कूल रु पाँच करोड ४१ लाख बजेट विनियोजन भएको छ ।
गत आवमा दुई सिँचाइ योजना सम्पन्न भएको प्रमुख लम्सालले जानकारी दिए । उनका अनुसार सङ्घ ससर्ततर्फ रु एक करोड ८५ लाख बजेट विनियोजन भएको थियो ।

