२०८३, कार्तिक १५ गते आइतबार

जलेश्वरनाथ मन्दिरको महिमा बढ्दो

जलेश्वरनाथ मन्दिरको महिमा बढ्दो


  • मेरोभ्यूज
  • श्रावण १९, २०८१ शनिबार

  • जलेश्वरनाथ मन्दिरको महिमा बढ्दो

    जलेश्वर । जलेश्वर नगरपालिका-२ मा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरमा साउनभरि साक्षात महादेव विराजमान रहने गरेको विश्वासका आधारमा भक्तजनहरुको निकै घुइँचो लाग्ने गरेको छ ।

     सोमबारे पर्वका अवसर पारेर बाबा जलेश्वरनाथ मन्दिरलाई दुलही झैँ सिङ्गारिएको छ ।

     मन्दिरभरि तथा मन्दिर परिसरमा भव्य झिलीमिली बत्ती, फूलमालाले सजाइएको छ ।

    मन्दिरको पाँच सय मिटर टाढासम्म शिवभक्तिका गीत-सङ्गीतले जलेश्वर गुञ्जायमान बनेको छ ।

    जलेश्वरनाथको महिमा नेपालमा मात्र नभई भारतमा समेत रहेको छ ।

     बर्सेनि बाबा जलेश्वरनाथको दर्शनका लागि हजारौँ दर्शनार्थी आउने गर्दछन् ।

     यस वर्ष पनि बाबा जलेश्वरनाथ महालिङ्गको दर्शन गर्न आठदेखि दस लाख भक्तजन आउने अनुमान गरिएको छ ।

     महाशिवरात्रि र प्रत्येक महिनाको पहिलो सोमबारको दिन विशेष मेला लाग्ने गर्दछ ।

    ठूलो धार्मिक महत्व बोकेको यस मन्दिरको स्थापना कहिले भएको भन्ने बारेमा भने कुनै ठोस प्रमाण भेटिएको छैन ।

    मन्दिरको मूल गुफामा लेखिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयम्’ अर्थात् जलेश्वरनाथ महालिङ्ग स्वयं महादेवले स्थापना गरेको हो ।

    बाबा जगदीशनाथले कसरी बनाउने, जङ्गलमा बाघ, भालु, हात्तीजस्ता खतरनाक जनावरहरु रहेको यस ठाउँमा कोही पनि कामदार काम गर्न नआउने भनेपछि स्वयं रुद्र (महादेव) ले जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गरिदिएको शिवपुराणमा उल्लेख छ ।

    जलेश्वरनाथ महादेवको ठीक अगाडि रहेको बरुण सरोवरमा स्नान मात्र र बाबा जलेश्वरनाथ महादेवको दर्शन मात्रले प्राणी मात्रले मुक्ति पाउने गर्दछ ।

    त्यसबेला यस महादेव मन्दिरमा पूजाआजा द्वेन्द्व गिरी नामका पूजारीले लामो समयसम्म बाबा जलेश्वरनाथको सेवा गरेको थियो ।

    अनादिकालमा जलेश्वर घनाजङ्गल रहेको बेला बाबा जगदीशनाथ, चतुर्भुजनाथ र तसमैया बाबा आएर जलेश्वरमा बसेको बेला स्वयं महादेवले बाबा जगदीशनाथलाई सपनामा आएर जलेश्वरमा महादेवको मन्दिर निर्माण गर्न आदेश दिएको किम्वदन्ती रहेको जलेश्वरनाथ महादेवका मूल पुजारी उपेन्द्र पाठकले बताए ।

    उनका अनुसार रुद्रले स्वयं गुफासहितको मन्दिर निर्माण गरिदिएपछि बाबा जगदीशनाथले नित्य पूजाआजाका साथै यस मन्दिर र महादेवका बारेमा प्रचार-प्रसार गरे ।

    बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा साक्षात् शिवको बास रहेको र चोखो मनवचनले भाकल गर्नेको मनोकामना अवश्य नै पूरा हुने गरेको जनविश्वास रहिआएको पुजारी पाठक बताउँछ ।

     बाबा महादेवको चौतर्फी चर्चा परिचर्चा गरेर प्रख्यात बनाउन भूमिका खेलेका जगदीशनाथ जीवनको अन्तिमकालमा बाबाको मन्दिरको ठीक सामुनेमा समाधि लिएका थिए ।

    मन्दिरका अर्का पुजारी कामेश्वर पाठकका अनुसार बाबा जगदीशनाथले कसरी बनाउने, जङ्गलमा बाघ, भालु, हात्तीजस्ता खतरनाक जनावरहरु रहेको यस ठाउँमा कोही पनि कामदार काम गर्न नआउने भनेपछि स्वयं रुद्र (महादेव) ले जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गरिदिएको शिवमहापुराणमा उल्लेख छ ।

    जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढी (भ¥याङ) मुनि जमिनभित्र रहेको छ जहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको तीन सय ६५ दिन जलमै विराजमान रहन्छ ।

     मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिर भित्रको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ ।

    मन्दिरको पानी फ्यालेर शिवलिङ्गको दर्शन गराउने चलन रहेकोमा यस भित्रका पानी मोटर वा दमकल लगाएर फ्याँकिदा पनि सक्दैनन् ।

    यसका लागि धेरैले धेरैपटक प्रयास गरिसके पनि सकेका छैनन् तर मानव शक्तिले बाल्टिनको सहयोगमा पानी फालेमा मन्दिरको गुफा सुक्ने र भक्तजनले दर्शन गर्ने गरेको पुजारी पाठकको भनाइ छ ।

     एकछिनमै पुनः पानी भरिने हुँदा पटक-पटक पानी फ्याँकेर भक्तजनको दर्शन गराउने गरिएको उनी बताउँछन् ।

    मन्दिर सञ्चालनमै समस्या कुनै बेला अथाह चलअचल सम्पत्ति रहेको यस मन्दिर अहिले सञ्चालन हुन नै समस्यामा रहेको छ ।

     विसं १८६७ मा राजा गिर्वाणयुद्धविक्रम शाहले महोत्तरीको तत्कालीन कञ्चनपुर गाउँस्थित जङ्गल (हाल रामगोपालपुर नगरपालिका-७) मा सिकार खेल्न गएको बेला जलेश्वरनाथ महादेव मन्दिरलाई सञ्चालन, व्यवस्थापन र पूजाआजाका लागि दुई सय ७५ बिगाहा जग्गा र चारवटा महापोखरी मौजाका रुपमा दान दिएको ताम्रपत्रमा उल्लेख छ ।

    मौजेका रुपमा मन्दिरले जलेश्वर मौजे, बजराही मौजे, बहेरा मौजे, डाम्ही महेशपुर मौजेलगायत मौजेहरु पाएका थिए भने बरुण सरोवर, पुरन्दर सरोवर, मखान पोखरी र महन्थ पोखरीजस्ता महापोखरीहरु पनि पाएको थियो ।

    लामो समयसम्म बाबा जलेश्वरनाथसँग रहेको दर्जनौँ मौजे र महापोखरीहरुबाट आएका आम्दानीबाट मन्दिरको दैनिक पूजाआजा, भगवान् शिवको भोग, साधुसन्तको भण्डारा र आगन्तुकहरुको स्वागत सत्कारसमेत हुने गरेको थियो ।

    मन्दिरसँग सयौँ बिगाहा जग्गा र चार महत्वपूर्ण पोखरी रहेकाले निकै भव्य तरिकाले सञ्चालन, व्यवस्थापन हुँदै आएको थियो तर समय बित्दै जाँदा पद्मशमशेरको पालामा यस मन्दिरको अधीनमा रहेको जग्गाहरु आफ्ना गुरु पुरोहित गोपालबहादुर उपाध्याय, रामबहादुर उपाध्यायलगायत चार/पाँच दाजुभाइलाई दान दिएको चर्चा छ ।

    पद्मशमशेरले दान दिएपछि गुरु पुरोहित र उनका सन्तानले मन्दिरका मौजेहरु बेचेर खाएपछि विस्तारै मन्दिरको आर्थिक अवस्था कमजोर हुँदै गएको पुजारी पाठक बताउँछन् ।

    विसं १९९५ मा बडाहाकिम रामशमशेरले जलेश्वरनाथ महादेवको भित्री गुफासहितको मन्दिरको माथि पुनः आकर्षक र ठूल-ठूला बुर्जासहितको अद्वितीय मन्दिर निर्माण गरे ।

     यस मन्दिर निर्माण गर्न उनले रु २५ हजार खर्च गरेको थियो ।

     महामन्दिर निर्माण गर्न सख्खर, उरिद, चुन, सुरखी, कत्थालगायत वस्तुहरुको प्रयोग गरिएको थियो ।

    मन्दिर निर्माणको बेला जलेश्वरनाथ महादेव मन्दिरको पुजारी राजनारायण गिरी रहेको उल्लेख छ ।

     विसं १९८३ को स्रेस्तामा सयौँ बिगाहा जग्गा मन्दिरको नाउँमै उल्लेख रहेको देखाउँछ भने २००२ सालसम्म मन्दिरको महन्थको नाउँमा मौजेहरु रहेको उल्लेख छ तर मन्दिरका सयौँ बिगाहा जग्गाको मौजे २००८ सालबाट हराएको छ ।

    दानको नाउँमा जग्गा हराए भन्ने मन्दिरका चार महापोखरी अहिले जलेश्वर नगरपालिकाको कब्जामा छ ।

     अहिले दैनिक भक्तजनको दान, चन्दा र सहयोग निर्भर हुन पुगेको पुजारीको भनाइ छ ।

    मन्दिरको अवस्था अवलोकनका लागि पुरातत्व विभागबाट पनि चार/पाँच पटक विज्ञहरु आई मन्दिरको अवस्था हेरेर गएको भए पनि जीर्णोद्वार तथा मर्मतसम्भारका लागि कतैबाट कुनै सहयोग नआएको पुजारीहरुको गुनासो छ ।

     जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले मन्दिरको संरक्षणका लागि विशेष पहल र बृहत् योजना बनाउनु पर्ने बताए ।


    प्रकाशित : शनिबार, श्रावण १९ २०८१०८:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार