२०८३, कार्तिक १५ गते आइतबार

वनको संरक्षण गरेसँगै आय-आर्जन बढाउन सामुदायिक वनभित्र उद्यान निर्माण

वनको संरक्षण गरेसँगै आय-आर्जन बढाउन सामुदायिक वनभित्र उद्यान निर्माण


  • मेरोभ्यूज
  • श्रावण २०, २०८१ आइतबार

  • वनको संरक्षण गरेसँगै आय-आर्जन बढाउन सामुदायिक वनभित्र उद्यान निर्माण

    गण्डकी । सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनमार्फत उपभोक्ता समूहले चासो देखाउन थालेका छन् ।

     वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका हुन् ।

    पोखरा महानगरपालिका-२१ स्थित वनपाले सामुदायिक वन समूहले पर्या-पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ रु २६ लाख लागतमा सुविधासम्पन्न मनकामना उद्यान (पार्क) निर्माण गरेको छ ।

    गण्डकी प्रदेश वन, वातावरण तथा भू-संरक्षण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय कास्कीमार्फत रु १५ लाख र एक लाख ६५ हजार सात सय ७४ बराबरको जनश्रम परिचालन गरी उद्यान निर्माण गरिएको वन उपभोक्ता समूहका अध्यक्ष कमल भुजेलले जानकारी दिए ।

    उनका अनुसार यसअघि डिभिजन वन कार्यालय कास्कीको रु पाँच लाख लागतमा जग्गा सम्याउने र पोखरा-२१ द्वारा रु चार लाखको खर्चमा आवश्यक ट्रष्ट भवन र शौचालय निर्माण गरिएको हो ।

     “पार्कबाट आरोहणको पहिलो हिमाल अन्नपूर्ण, कुमारी हिमाल माछापुच्छ्रेसहित हिमशृङ्खला एवं पोखरा बजारको एकैसाथ मनोरम दृश्य देख्न सकिन्छ”, उनले भने, “पार्कमा दुईवटा चौतारासहित हरियाली प्रवर्द्धन गर्दै राष्ट्रिय झण्डा राख्ने तयारी गरिएको छ ।”

    सात सयजना क्षमताको सो पार्कमा सुरक्षाका लागि फलामे पोलसहितको तारजाली लगाउनुका साथै हरियाली प्रवर्द्धन गर्न धुपीका बिरुवा रोपिएको छ भने फलामका कुर्चीसमेत राखिएको अध्यक्ष भुजेलले बताए । थप भौतिक संरचना निर्माणका लागि आर्थिक वर्ष २०८१।८२ का लागि प्रदेश सरकारबाट रु १५ लाख विनियोजन भएको छ ।

    पोखरा महानगरपालिका-१७ स्थित पर्यटकीयस्थल छोरेपाटन हुँदै जाने सो पार्कसम्म पुग्नका लागि पक्की सडक निर्माण भएको छ भने खानेपानी, शौचालयलगायत आवश्यक संरचना निर्माण गरिएको छ ।

    विशेषगरी पोखरा बजारबाट वनभोज खानका लागि सबैभन्दा नजिक र सुविधासम्पन्न एवं मनोरम दृश्यावलोकन गर्न सकिने उक्त पार्कमा प्रति समूहलाई रु तीन हजार पाँच सय शुल्क तोकिएको छ । प्राप्त रकमबाट रु पाँच सय सरसफाइका लागि छुट्याउने र रु तीन हजार वन समूहको खातामा जम्मा गरिँदै आएको भुजेलले जानकारी दिए ।

    यसअघि वन समूहले रु दस लाखको लागतमा वनपाले पार्क निर्माण गरी सञ्चालन गर्दै आएको वन समूहका सचिव प्रकाश सुवेदीले जानकारी दिए ।

     विसं २०६८ मा हस्तान्तरण गरिएको ४७ दशमलव चार हेक्टर क्षेत्रफलमा फैलिएको सो वनमा एक सय १४ घरपरिवार आबद्ध छन् ।

    समूहले वनको संरक्षण, संवर्द्धन, उपयोग गर्दै आय-आर्जनका लागि वैकल्पिक आधार तयारमा जोड दिँदै आएको सुवेदी बताउँछन् ।

    मनकामना पार्कमा वृक्षरोपण नवनिर्मित मनकामना पार्कलाई वातावरणमैत्री बनाउने उद्देश्यका साथ चेरी, अशोका र गुलमोहरका बिरुवा रोपिएको हो ।

    पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीले रोपिएका बिरुवाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

    वृक्षरोपण कार्यक्रममा लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष गणेश छवीसहित सदस्यहरू, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल भुजेल, स्थानीय लक्ष्मीप्रसाद पोखरेललगायतको सहभागिता रहेको कार्यक्रममा संयोजक प्रकाश सुवेदीले जानकारी दिए ।


    प्रकाशित : आइतबार, श्रावण २० २०८१०९:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार