२०८३, कार्तिक १५ गते आइतबार

भोटमा नुन बोक्दाका कथाव्यथाको साक्षी हो गुरुङ सम्पदा पदमार्ग

भोटमा नुन बोक्दाका कथाव्यथाको साक्षी हो गुरुङ सम्पदा पदमार्ग


  • मेरोभ्यूज
  • श्रावण २०, २०८१ आइतबार

  • भोटमा नुन बोक्दाका कथाव्यथाको साक्षी हो गुरुङ सम्पदा पदमार्ग

    गण्डकी ।  पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङ जोडिने गुरुङ सम्पदा पदमार्ग घोषणा भएको छ ।

    सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेका अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको संयोजन एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र कास्कीको मादी गाउँपालिका, लमजुङको क्होलासोथर र मस्र्याङ्दी गाउँपालिकाका साथै मनाङको चामे गाउँपालिकाको सहयोगमा स्थलगत अध्ययन अनुसन्धानपछि पदमार्गको औपचारिकरुपमा घोषणा गरिएको हो ।

    पदमार्गको अध्ययन एवम् अनुसन्धानका लागि गुरुङ पर्यटन व्यवसायी सङ्घ, नेपाल गण्डकी प्रदेशको आयोजनामा यही जेठ २१ देखि ३० गतेसम्म उक्त पदमार्गको खोज तथा अनुसन्धान कार्य सम्पन्न गरिएको सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिए ।

    “हामीले पदमार्ग योजनामा काम गरिरहेका इन्जिनियर, अन्वेषक, जिपिएस एक्सपर्ट सञ्चारकर्मी, सङ्घका पदाधिकारी, पर्यटक पथप्रदर्शक तथा सहयोगीसहित ३७ जनाको समूहले यस पदमार्गको स्थलगतरुपमा नै खोज तथा अनुसन्धान गरेका हौँ”, उनले भने ।

    अध्ययनले यो पदमार्ग सफल हुने सम्भावना उच्च रहेको निष्कर्ष निकालेको उल्लेख गर्दै उनले यस पदमार्गमा गर्नुपर्ने सुधार तथा निर्माण कार्यहरूको विस्तृत परियोजना प्रतिवेदन पनि तयार पारिएको बताए ।

    उनका अनुसार प्रकृति, संस्कृति र इतिहासको सङ्गमका रुपमा रहेको यो पदमार्ग पदयात्रामा जाने जो कोहीलाई पनि मोहित बनाउन सक्नेछ ।

     यहाँको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई असर नपर्ने गरी प्राकृतिक सुन्दरता र जैविक विविधतालाई हानी नपुग्ने गरी यस पटकीय पदमार्गको विकास र प्रवद्र्धन गर्नुपर्ने सङ्घको जोड रहेको उनले बताए ।

    यस पदमार्गले दुईवटा ऐतिहासिक विरासतलाई बोकेको सङ्घका संस्थापक अध्यक्ष बोरबजङ्ग गुरुङ बताउँछ ।

     यसै पदमार्गको बाटो भएर गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमु (गुरुङ) का पुर्खाहरू अहिलेका बस्तीहरुमा फैलिएको भनाइ रहेको उनले बताए ।

     “गुरुङ समुदायको प्ये ल्हु ताँ मा मात्रै नभई क्होलासोँथरमा विभिन्न चरणमा स्वदेशी, विदेशी विशेषज्ञहरूले गरेको पुरातात्विक अध्ययनले पनि यहाँको ऐतिहासिकता पुष्टि गरेको छ”, उनले भने ।

     क्होलासोँथरको पुरातात्विक महत्वका भग्नावशेषहरुको संरक्षण गरेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकेमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिने उनको भनाइ छ ।

    दोस्रो ऐतिहासिक विरासतका रुपमा कास्की र लमजुङका गाउँहरूमा अझै पनि मनाङ भोटको नून बोक्दाका कथा व्यथा सुन्न पाइने उनले बताए ।

     “अहिले खोज गरिएको यो पदमार्ग नै तत्कालीन समयको नूनको व्यापारिक बाटो भएको उजागर भएको छ”, उनले जानकारी दिए ।

    “वर्तमानमा पनि पदमार्गमा भेटिने बिसौनी तथा चौतारीहरू नूनको व्यापारिक मार्गको जीवन्त साक्षी बनेका छन् ।”

    खोज तथा अनुसन्धानका क्रममा एउटा मूल पदमार्गसहित एक दर्जनभन्दा बढी आवश्यकता र चाहनाअनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्गहरू पहिचान गरिएको उनले बताए ।

    यी पदमार्गहरूमा पर्यटकले पाँचदेखि दस दिनसम्म बिताउन सक्ने उनको भनाइ छ ।

    पोखराबाट मादी गाउँपालिकाको पर्यटकीय गाउँ ताङतिङ हुँदै क्रपु डाँडा, तप्रो, क्होलोसोँथर, ठूलेक, थुर्जु, दूधपोखरी, गुरुङ देउराली (नामुन पास) डाँफेखर्क हुँदै मनाङको चामे गाउँपालिकाको तिमाङसम्म पुग्न सकिने गरी पदमार्गको पहिचान गरिएको हो ।

    यही पदमार्गमा कास्कीका सिक्लेस, याङजाकोट, नागिधार, थाकलगायत गाउँका साथै लमजुङको घलेगाउँ, घनपोखरा, भुजुङ, सिङ्दी, पसगाउँ, गिलुङ, घाम्राड, टक्सार, सिउरुङलगायत गाउँहरूबाट सुरु गरेर यिनैमध्येका विभिन्न गाउँमा आवश्यकता र चाहनाअनुसार छोटो तथा लामो दूरीका पदमार्गलाई प्रयोगमा ल्याउन सकिने उनले बताए ।

    एक हजार छ सय मिटरदेखि चार हजार नौ सय दस मिटर उचाइमा पदमार्ग भौगोलिक अवस्थितिका दृष्टिले यो पदमार्ग समुद्री सतहबाट एक हजार छ सय मिटर उचाइको ताङतिङदेखि सुरु भई पदयात्राको उच्चविन्दु चार हजार नौ सय दस मिटर उचाइको गुरुङ देउराली (नामुन भञ्ज्याङ)सम्म रहेको छ ।

     ताङतिङदेखि पछि पदयात्रीहरूको बास तीन हजारभन्दा माथिको उचाइमा हुन्छ ।

    ताङतिङबाट माथि गइसकेपछि तीन हजार मिटर उचाइको कर्पु डाँडादेखि पदयात्रीहरूले धेरै उकालो र ओरालो नगरी तिमाङसम्म पुग्ने संस्थापक अध्यक्ष गुरुङले बताए ।

    पदमार्ग क्षेत्रमा नै पर्ने चार हजार पाँच सय ८५ मिटर उचाइको धार्मिक महत्वको दूधपोखरी यहाँको विशिष्ट धार्मिक गन्तव्य पनि हो । यहाँको दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण यसको महत्व अझै चुलिएको छ ।

    प्रशस्त खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटनहरू रहेको पदमार्गबाट अन्नपूर्ण, माछापुर्च्छे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिनु यहाँको विशिष्टता हो ।

    प्रकृतिसँगै संस्कृतिलाई पनि जोड्ने यस पदमार्गको प्रवेश गर्नेदेखि पदयात्रा समाप्त गर्ने स्थानमा गुरुङ गाउँ पर्दछन् । ती गाउँहरुमा घरवास सञ्चालनमा रहेका छन्भने घाँटु, सोरठी, कृष्ण चरित्र, आमा समूहका नाच प्रचलनमा रहेका छन् ।

     साथै गुरुङ समुदायको गाउँ, बसोबास तथा रहनसहन पनि यहाँका पर्यटकीय आकर्षण हुन् ।

    प्राचीन नून व्यापारको मार्ग, क्होलासोँथरको ऐतिहासिकतासँगै तत्कालीन समयमा धर्मशाला र बिसौनीका भग्नावशेषले यहाँको प्राचीन गरिमा र महत्वलाई अझै उजागर गरेका छन् ।

    त्यस्तै, कास्की, लमजुङ मनाङका भेडा, गाई, भैँसी तथा चौँरीको गोठ बस्ने खर्क, गोठाले जीवनको रहनसहनलाई पनि प्रत्यक्ष देख्न र अनुभव लिन पाइन्छ ।

    जैविक विविधताले सम्पन्न यो पदमार्ग जैविक विविधताको अध्ययन अवलोकन गर्न चाहनेका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

     पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रको हावापानीमा पाइने औषधीजन्य वनस्पति, जीवजन्तु र चराचुरुङ्गीले पनि यहाँको महत्व अझै बढाएको छ । यस पदमार्गमा यार्सागुम्बा, जटामसी, सतुवा, पाँच औँले, वन लसुनजस्ता धेरै प्रजातिका जडीबुटी पाइन्छ भने ठाउँठाउँमा हावापानी अनुसारका लालीगुराँस तथा विभिन्न लेकाली फूलहरू प्रत्यक्ष अवलोकन गर्दै हिँड्न सकिन्छ ।

    डाँफे, मुनाललगायत चराचुरुङ्गीको चिरविराहट सुन्दै पदयात्रा गर्न पाइनुले यहाँको महत्वलाई अझै बढाएको छ ।

    यस पदमार्गमा पदयात्रासँगै कर्पु डाँडामा प्याराग्लाइडिङ, ठूलेकमा स्की खेलका साथै यससँग जोडिएका छ हजार मिटरभन्दा कम उचाइका हिमालहरूमा आरोहण तालिमसमेत सञ्चालन गर्न सकिने संस्थापक अध्यक्ष गुरुङले बताए ।

    गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशले स्थलगतरुपमा गरेको खोज तथा अनुसन्धानसँगै तीनवटै तहका सरकार एवम् पर्यटन सम्बद्ध क्षेत्रका लागि यस पदमार्गको प्रवद्र्धन र विकासका लागि केही सुझावहरूसमेत प्रस्तुत गरेको सङ्घका महासचिव तुल गुरुङले बताए ।

    गुरुङका अनुसार पदमार्गमा ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरू रहेको तथा जैविक विविधताले भरिपूर्ण रहेकाले ती ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरूमा पर्न सक्ने नकारात्मक असरहरुलाई दृष्टिगत गरी विस्तृत गुरुयोजना बनाएर त्यसै अनुसार पदमार्गको विकास तथा प्रवद्र्धन गर्नुपर्ने सिफारिस गरिएको छ ।

    तीनवटै तहका सरकारले यस पदमार्गमा भविष्यमा सडक सञ्जालको विस्तार नगरी पदमार्गकैरुपमा विकास गर्नुपर्ने उनले बताए ।

    पदमार्गको केही स्थानमा बाटो मर्मत गर्नुपर्ने, केही खोलामा झुलुङ्गे पुल हाल्नु पर्ने, केही स्थानका बाटोमा रेलिङ हाल्नुपर्ने उल्लेख गर्दै सङ्घले यसतर्फ यथाशीघ्र स्रोतको व्यवस्थापन गर्नुपर्ने र पदमार्गमा होटलहरूको व्यवस्था नभएको कारण हावापानी र स्थानीय संस्कृति अनुरुपका सेल्टर हाउस बनाउनु पर्ने सुझाव दिएको छ ।

    त्यस्तै, पदमार्गको सूचनापाटी कतिपय बिग्रिएर भत्किएको अवस्थामा रहेको तथा कतिपयमा गलत सूचनासमेत रहेको भेटिएको हुँदा सूचना पाटीहरू, पथप्रदर्शन गर्ने पोललाई मर्मत तथा नयाँ स्थापना गर्नुपर्ने भनिएको छ ।

     जलवायु परिवर्तनलगायत विभिन्न कारणले गर्दा पानीका मुहान सुक्ने तथा भएको मूल पनि सानो भएको हुँदा ती मुलको संरक्षण तथा आवश्यक स्थानमा पानीको स्थायी व्यवस्था गर्नुपर्ने, पदमार्गमा रहेका क्होलासोँथरलगायत पुरातात्विक महत्वका क्षेत्रको उत्खनन र संरक्षणका लागि विशेष ध्यान दिनुपर्ने सङ्घले सुझाव दिएको छ ।

    पदमार्ग क्षेत्रका पुरातात्विक वस्तुको सुरक्षाका लागि विशेष पहल गरिनुपर्ने, पदमार्गको प्रवेश विन्दुका रुपमा रहेका गाउँमा रहेको सांस्कृतिक अवशेषहरू लोप हुने अवस्थामा रहेको हुनाले तिनीहरूको संरक्षण र पुनःस्थापनाका लागि विशेष पहल गर्नुपर्ने, भिरमौरीको मह काढ्ने, राडीपाखी बुन्ने तथा पशुपालनलायत परम्परागत पेसा र जनजीवनलाई पर्यटकीय गतिविधिसँग जोडेर विकास गर्नका लागि पहल थाल्नुपर्ने सुझावमा उल्लेख छ ।

    पदमार्गमा पशुचौपाया हिँडेमा त्यसले पदमार्गलाई चाँडो बिगार्ने भएकाले पशुचौपायाका लागि छुट्टै बाटोको व्यवस्था गर्नुपर्ने भनिएको छ ।

    गुरुङ सम्पदा पदमार्ग पदयात्रा पर्यटनमा महत्वपूर्ण सम्भावना रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेल बताउँछ ।

     “पदमार्गको खोज र अन्वेषणको सुरुवातमा पनि बोर्डले प्रवद्र्धनका लागि सहयोग गरेको हो”, उनले भने, “यसको प्रवद्र्धन र विकासका लागि आगामी दिनमा पनि पर्यटन सम्बद्ध सङ्घ/संस्थाको सहकार्यमा हामीले अघि बढाउँछौँ ।”

    स्थानीय संस्कृति र सम्पदाको संरक्षणका लागि प्रथमतः स्थानीयको नै जागरुकता आवश्यक रहेको उनको भनाइ छ ।


    प्रकाशित : आइतबार, श्रावण २० २०८१०९:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार