२०८३, कार्तिक १७ गते मंगलबार

स्थानीयवासी परिचालन गरी सडक बिस्तार

स्थानीयवासी परिचालन गरी सडक बिस्तार


  • मेरोभ्यूज
  • आश्विन ६, २०८१ आइतबार

  • स्थानीयवासी परिचालन गरी सडक बिस्तार

    रुकुमपश्चिम । यहाँको भूकम्प प्रभावित आठबिसकोट नगरपालिका क्षेत्रको सडक स्तरोन्नति सुरु गरिएको छ ।

    नगरपालिकामा भूकम्पबाट बढी प्रभावित चारवटा वडाका स्थानीयवासीलाई लक्षित गरी सडक स्तरोन्नति सुरु गरिएको हो ।

    बेलायती राजदूतावास काठमाडौँको आर्थिक सहयोग तथा विश्व खाद्य कार्यक्रम र सप्रोस नेपालको सहकार्यमा सञ्चालित ‘सामुदायिक पूर्वाधार उत्थानशीलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजना’अन्तर्गत प्रभावित क्षेत्रमा सडक स्तरोन्नति सुरु गरिएको आठबिसकोट नगरपालिकाले जनाएको छ ।

    प्रभावित क्षेत्रका वडा नं ११, १२, १३ र १४ का गरिब तथा विपन्न नागरिकलाई छनोट गरी कामका लागि नगद, तालिमका लागि नगद र निःशर्त नगद सहायता कार्यक्रमअन्तर्गत रोजगारी प्रदान गरेको आठबिसकोट नगर प्रमुख रवि केसीले जानकारी दिए ।

    उनका अनुसार कामका लागि छनोट भएका कामदारले सडक स्तरोन्नतिको काम गर्नेछन् । तालिमका लागि छनोट भएकाले तालिम सिकेर प्रभावित क्षेत्रमा काम गर्नेछन् । निःशर्त नगद सहायता कार्यक्रममा छनोट भएका अपाङ्गता तथा अशक्त व्यक्तिले काम नगरेरै सहायता रकम प्राप्त गर्नेछन् । छनोट भएका सबैले ४० दिन बराबरको दुई किस्तामा रु ३६ हजार प्राप्त गर्ने जनाइएको छ ।

    कामका लागि नगद कार्यक्रमअन्तर्गत १८ देखि ५९ वर्ष उमेर समूहका तथा विश्व खाद्य कार्यक्रमको कार्ड भएका लाभग्राहीले काम गर्न पाउने विश्व खाद्य कार्यक्रमका प्रतिनिधि मुकेशकुमार शर्माले बताए ।

    शर्माका अनुसार छनोट भएका कामदारले प्राविधिकको सल्लाह अनुसार ४० दिन काम गर्नुपर्ने छ । प्रत्येक वडाबाट कामका लागि नगद कार्यक्रमको लागि तीन सय ९७, तालिमको लागि नगद कार्यक्रमअन्तर्गत ४० र निःशर्त नगद कार्यक्रममा ८८ जना छनोट गरिएको छ ।

    जसअन्तर्गत चारवटा वडाका दुई हजार एक सय सर्वसाधारण लाभान्वित भएका छन् । सामुदायिक पूर्वाधार उत्थानशीलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजनाअन्तर्गत वडा नं ११ को झ्याम खोला गोहिरी तुसारे सडक स्तरोन्नति सुरु भएको छ ।

    यहाँ दुई दशमलव पाँच किलोमिटर सडक स्तरोन्नति हुनेछ । बाँकी तीन वटा वडामा १५ किलोमिटर सडक स्तरोन्नति गरिने नगरपालिकाले जनाएको छ । भूकम्पबाट प्रभावित आठबिसकोट नगरपालिकामा सञ्चालित परियोजनाले गरिब तथा सहाराविहीनलाई लक्षित गरी कार्र्यक्रम सञ्चालन गरेकोले ग्रामीण सडक स्तरोन्नतिका साथै स्थानीयवासीको जीवनस्तर उकास्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।


    प्रकाशित : आइतबार, आश्विन ६ २०८११०:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार