२०८३, कार्तिक १७ गते मंगलबार

शैक्षिक रूपान्तरणका लागि ‘नानीसँगै हामी’

शैक्षिक रूपान्तरणका लागि ‘नानीसँगै हामी’


  • मेरोभ्यूज
  • आश्विन ८, २०८१ मंगलबार

  • शैक्षिक रूपान्तरणका लागि ‘नानीसँगै हामी’

    सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेको छ ।

    छ वर्षीया नातिनी पढ्दै गरेको विद्यालयले नातिनीका लागि तपाईंले पनि पढ्नुपर्छ भनेपछि उनले पनि पढ्न जान थालेको हो ।

    पढ्ने उमेरमा विभिन्न समस्याका कारण विद्यालय पढ्न नपाएकाले आफूले अक्षरसमेत चिन्ने मौका नपाएको कृष्णकुमारी बताउँछन् ।

     “आफूले नपढेर दुःख पाएँ”, उनले भनिन, ‘‘छोराछोरी पनि पढ्न मानेनन् । उनीहरु अहिले दुःख पाउँदैछन् । नातिनातिनालाई पढाउँछु भनेको तर आफूले पनि पढ्नैपर्ने रहेछ । नातिनीलाई गृहकार्य सिकाउन जानिन्छ की भनेर पनि पढ्न सुरु गरेकी छुँ”, उनले भनिन ।

    कृष्णकुमारी जस्तै २३ वर्षीया रीता माझी पनि अचेल छोरीसँगै पढ्न जान थालेकी छिन । घरमा पढेलेखेको व्यक्ति नहुँदा छोरीलाई पढाउन समस्या भएकोले आफैले पढ्न थालेको उनले बताइन ।

    उमेर छँदै पढ्न नसकेकोमा रीतालाई पछुतो छ । अब छोरीलाई उच्च शिक्षा पढाउने उनको रहर छ । नपढेकै कारण छोरीको गृहकार्य गराउन तथा सिकाउन नसकेको रीताको भनाइ छ ।

    थोरै सिकाउने, उनीहरूले के पढिरहेका छन्, भनेर बुझन, उनीहरूले नजानेको कुरा सिकाउन पनि विद्यालय जान थालेको रीताले सुनाइन ।

    विपन्न सुकुम्बासी परिवारको बसोबास रहेको यस क्षेत्रका नागरिक अधिकांश निरक्षर छन् ।

    कृष्णकुमारी र रीता जस्तै १५ अभिभावकलाई बागमती नगरपालिका–१२, बथनीयास्थित जनजागृति प्राथमिक विद्यालयले पढाउन सुरु गरेको हो ।

    बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि पहिला अभिभावक शिक्षित बनाउनुपर्ने देखिएपछि अभिभावक शिक्षा सुरु गरेको विद्यालयका प्रधानाध्यापक हेरम्भराज सुवेदीले जानकारी दिए ।

    "निकै प्रयास गरेपछि पनि साना कक्षाका बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउन थालेका हौँ”, उनले भने, ‘‘अभिभावक निरक्षर हुँदा बालबालिकाले गृहकार्य नै नगर्ने, घरमा नपढ्ने, स्कुल पनि नियमित नपठाउने भएकोले पहिला अभिभावकलाई पढाइको महत्व बुझ्ने र बालबालिकालाई गृहकार्य गराउन सक्ने बनाउन खोजेका हौँ ।"

    बालबालिकाको पठनपाठनमा घरको वातावरण र परिवारमा पनि आमाको भूमिका महत्वपूर्ण हुन्छ । तर, यहाँ अधिकांश आमा अशिक्षित रहेकोले बालबालिकाको पठनपाठन सुधारका लागि आमालाई पढाउन सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवित्रा माझीले बताइन ।

    यसपछि आमाहरुले नानीहरुसँगै बसेर पढ्ने तथा सिकाउन सक्ने अपेक्षा गरेको उनको भनाइ छ ।

    विद्यालयको पहलमा सुरु भएको ‘नानीसँगै हामी’ कार्यक्रमका लागि लुम(तान) नामक गैर सरकारी संस्थाले आर्थिक सहयोग गरेको विद्यालयले जनाएको हो ।

    विद्यालयका अनुसार सहभागी आमा(अभिभावक)हरुलाई ५० दिनसम्म अनौपचारिक शिक्षा प्रदान गरिने छ । यसबाट सहभागीले सामान्य लेखपढदेखि बालबालिकाको पालनपोषण, सरसफाइलगायतको ज्ञान प्राप्त गर्नसक्ने छन् ।

    योसँगै महिला स्वास्थ्य, शिक्षा, अधिकारलगायत विभिन्न विषयमासमेत प्रशिक्षण प्रदान गरिने छ । पहिलो चरणमा १५ अभिभावकलाई समेटे पनि पछि अन्यलाई पनि सहभागी गराउने योजना रहेको विद्यालयले जनाएको हो ।


    प्रकाशित : मंगलबार, आश्विन ८ २०८१०८:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार