२०८३, कार्तिक १७ गते मंगलबार

आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दो

आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दो


  • मेरोभ्यूज
  • आश्विन ९, २०८१ बुधबार

  • आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दो

    बेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ ।

    पछिल्लो समय यो नयाँ गन्तव्यको रुपमा चिनिन थालेको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत थासाङको टाङछारादेखि पाँच घण्टाको पैदल यात्रामा धौलागिरि हिमालको आइसफल क्षेत्रमा पुग्न सकिन्छ ।

    धौलागिरि आइसफल र मानापाथी हिमालको आइसफलसँगै जोडिएको छ ।

    सडकमार्गबाट पैदलयात्रा गरी छोटो अवधिमा त्यहाँ पुग्न सकिन्छ । यहाँबाट हिमाल नजिकै रहेकोले धौलागिरि आइसफल नयाँ पर्यटकीय गन्तव्य बनेको पहिलो पटक उक्त क्षेत्रमा पुगेका म्याग्दीका पथप्रदर्शक सुरेन गुरुङले जानकारी दिए ।

    “छोटो समयमा पैदलयात्रा गरेर हिमालको फेदमा पुग्न सकिँदो रहेछ, वरिपरी हिमालै हिमाल भएकोले त्यसले मनै लोभ्याउँछ । हिमालको टुप्पोबाट नीरन्तर खस्ने हिउँको दृश्यले जो कोहीको पनि मन लोभिन्छ”, उनले भने ।

    पदमार्ग र आइसफल क्षेत्रमा पशुपक्षीको पनि अवलोकन गर्न सकिने भएकोले सो पदमार्ग उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्य बन्न सक्ने गुरुङको भनाइ छ ।

    समुद्री सतहदेखि चार हजार एक सय ५० मिटर उचाईमा रहेको धौलागिरि र मानापाथी हिमालको आइसफल क्षेत्रबाट नीलगिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

    थासाङको ह्याण्डिङ डाँडाको बुकी पाटनबाट धौलागिरि र मानापाथी हिमालको आइसफल नजिकैबाट अवलोकन गर्न सकिन्छ । यहाँको बुकी पाटनमा परम्परागतरुपमा हुँदै आएको चौरीपालनसमेत पर्यटकका लागि आकर्षण बन्ने गरेको छ ।

    असोजदेखि कात्तिक र फागुनदेखि असारसम्म आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा आउने गरेको चौरीगोठका हेरालु सिंहबहादुर तामाङले बताए ।

    पैदलयात्रा गरेर ह्याण्डिङडाँडा आउने पर्यटकले चौरीलाई नजिकबाट नियाल्ने गरेको उनको भनाइ छ ।

    थासाङको छाकताङ गाउँको शिरमा रहेको धौलागिरि आइसफल क्षेत्रमा जाने पर्यटकले चौरीगोठ रहेको बुकी पाटनमा क्याम्पिङसमेत गर्दै आएका छन् ।

    पाँच घण्टाको पैदलयात्रामै पुग्न सकिने भएकोले कतिपय पर्यटक टाङछारा क्षेत्रमा रहेका होटलमा बास बसेर एकै दिनमा आइसफल क्षेत्रको भ्रमण गरेर पुनः फर्कने गर्छन् ।

    बस्तीबाट नजिकको दूरीमा पर्ने भएकोले धौलागिरि आइसफल मुस्ताङ घुम्न आउने पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास हुने सम्भावना रहेको स्थानीय होटल व्यवसायी राजु गौचनले बताए ।

    उनले मुस्ताङ भ्रमणमा आउने पर्यटक अधिकाँश अपर र मुक्तिनाथ पुगेर मात्रै फर्कने गरेका बताए ।

    जिल्लाभित्र उत्कृष्ट र आकर्षक सहायक पर्यटकीय गन्तव्यहरु ओझेलमा परेको उनले बताए ।

    टाङछारादेखि आइसफल जाने पदमार्गमा पर्ने सेकोङ तालसमेत पर्यटकका लागि आकर्षणको रुपमा रहेको छ ।

    उक्त पदमार्गमा पर्यटकको सुविधाका लागि पदमार्गसँगै सेकोङ ताल र प्होतो खर्कमा पर्यटक आश्रयस्थल निर्माण गरिएको छ ।

    सेकोङ तालदेखि आइसफल क्षेत्रसम्मको पदमार्गमा सूचना पोलसमेत राखिएका छन् ।

    आइसफल क्षेत्रबाट मुस्ताङका विभिन्न बस्तीका साथै पोखरा–जोमसोम हवाइ उडान भरेका जहाजको दृश्यसमेत निकै आकर्षक देखिन्छ ।


    प्रकाशित : बुधबार, आश्विन ९ २०८१११:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार