काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने उद्घोष गरेका छन् ।
अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सरकारबाट थालेको सुशासनको अभियानलाई अब सदन र सडकबाट पनि अघि बढाइने बताए । उनले भने, ‘भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौं, यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत पनि सहयोग गर्ने छ । यसले नेपालमा मात्र होइन, विश्व समाजवादी आन्दोलनमा समेत सहयोग गर्ने छ ।’
भर्खरै श्रीलङ्कामा भ्रष्टाचारविरोधी एजेण्डा स्थापित गरेर वामपन्थी राष्ट्रपति निर्वाचित भएको घटना विद्यार्थीहरुलाई सुनाउँदै अध्यक्ष दाहालले यो अभियान नेपालमा पनि सशक्तरुपमा अघि बढ्ने बताए ।
सरकारमा रहँदा दलाल पूँजीपतिको राइदाइमाथि जेहाद छेडेको उल्लेख गर्दै प्रचण्ले सदन र सडकबाट केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिने बताए । ‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौं । तिमीहरु मिलेर बस भनेका छौं तर हामीले चाहँदैमा उनीहरु मिल्दैनन् । अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ’, अध्यक्ष प्रचण्डले भने ।
विरोधीहरुले सँधै षड्यन्त्र गर्ने र त्यसको प्रतिवाद गर्नु क्रान्तिकारीहरुको दायित्व हुने अध्यक्ष प्रचण्डको भनाइ थियो ।
‘हिजो जनयुद्धभरि एकपछि अर्को घेरा र दमन चलाइएको थियो, घेरा तोड्ने र प्रतिरोध गर्ने हाम्रो नीति थियो । अहिले पनि हामी त्यसरी अघि बढिरहेका छौं । संविधान बन्न नदिने, संविधान कार्यान्वयन हुन नदिएर चुनावमा जान नदिने जस्ता षड्यन्त्र थिए, हामी सबै घेरा तोडेर आएका हौं । अहिले फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर संविधानले स्थापित गरेका उपलब्धि खोस्ने खोस्ने षड्यन्त्र गरे भने सदन र सडकबाट एकैसाथ प्रतिरोध गर्न बाध्य हुनेछौं, त्यसका लागि तपाई विद्यार्थीहरु तयार हुनुहोला ।’
‘राष्ट्रिय स्वाधीनताको मुद्दा पेचिलो’
अध्यक्ष प्रचण्डले अहिले ठूलाठूला शक्ति राष्ट्रहरुको अस्वस्थ प्रतिष्पर्धा देखिएको र त्यसको असर दक्षिण एसियामा पनि देखापर्न थालेको उल्लेख गर्दै नेपालमा राष्ट्रिय स्वाधीनतको मुद्दा पेचिलो बन्न थालेको बताए ।

भूराजनीतिक अवस्थितिका कारण अहिले विश्वव्यापीरुपमा देखिएको अस्वस्थ प्रतिष्पर्धाको केन्द्र नेपाल हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उनले विद्यार्थीहरुलाई नेपालको राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हुन आग्रह गरे ।
विदेशी चलखेल रोक्ने र देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न राष्ट्रिय शक्ति निर्माण गर्ने वामपन्थीले मात्रै हो र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्न सक्ने उल्लेख गर्दै उहाँले विद्यार्थी सम्मेलनले राष्ट्रिय स्वाधीनताको लडाईलाई सहयोग गर्ने गरी नीति कार्यक्रम बनाउनुपर्ने बताए ।

