२०८३, कार्तिक १७ गते मंगलबार

सात तले दरबार पुनः निर्माणमा जुटे चिनियाँ

सात तले दरबार पुनः निर्माणमा जुटे चिनियाँ


  • मेरोभ्यूज
  • आश्विन १२, २०८१ शनिबार

  • सात तले दरबार पुनः निर्माणमा जुटे चिनियाँ

    त्रिशूली । भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित यस आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणमा चिनियाँ पक्ष जुटेको छन् ।

    नौ वर्षअघिको भूकम्पले भत्काएका यहाँका सम्पदाको पुनःनिर्माण गर्ने जिम्मेवारी चीन सरकारले लिएको थियो । चिनियाँ पक्षले अब भने नियमित काम अघि बढाउने जनाएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

    चिनियाँ पक्षको मागअनुसार दरबार क्षेत्रसम्म निर्माण सामग्री पुर्याउन सडक पहुँचमार्ग, नियमित र भरपर्दो विद्युत् प्रसारण लाइन, निर्माण सामग्री राख्ने स्थलका साथै पानीको प्रबन्ध मिलाइएको छ ।

    भूकम्पले क्षति पुर्याएका संरचना पुनःनिर्माणमा सहयोग पुर्याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच नुवाकोटको साततले दरबारसहित यहाँको धार्मिक तथा पुरातात्विक महत्वका विभिन्न आठवटा संरचनाको पुनःनिर्माण गर्ने समझदारी भएको हो ।

    सम्झौताअनुसार पहिलो चरणमा साततले दरबारसहित दरबार परिसरमा रहेको गारदघर र रङमहलको आवश्यकताका आधारमा पुनःनिर्माण तथा प्रवलीकरण गरिने चिनियाँ पक्षले जनाएको छ ।

    त्यसपश्चात् लिच्छविकालीन तलेजु (तुलजा भवानी)को मन्दिर, सेतोपाटी, लामपाटी, विष्णु र नारायण मन्दिरको पुनःनिर्माण गर्ने योजना छ । सबै सम्पदाको मौलिकपन कायम गरिने नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पौडेलले जानकारी दिए ।

    विसं २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र दरबारसहितको संरचना निर्माणको जिम्मेवारी चीन सरकारले लिएको थियो ।

    त्यसपश्चात् सोही वर्षको असारमा दरबार पुनःनिर्माणअन्तर्गत कार्यप्रारम्भ गर्न चिनियाँ पक्ष कार्यक्षेत्रमा आइपुगेको थियो । द्विपक्षीय सम्झौतापश्चात् असारमा काम गर्न आएको चिनियाँ टोली ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले यहाँको सम्पदालाई थप क्षति हुन नदिन खट बनाएर नयाँ वर्ष मनाउन भन्दै फर्किएको थियो ।

    विसं २०७६ को मङ्सिर अन्तिम साता चीनमा देखापरेको कोरोना सङ्क्रमणका कारण चिनियाँ टोली फर्केको थिएन । त्यसको तीन वर्ष पश्चात् २०७९ साल असोजमा चिनियाँ प्राविधिक टोली आएर सात तले दरबारको भूमितह, गारो र छानाको वस्तुस्थिति अध्ययन पश्चात् प्रवलीकरण गरेर फर्किएको थियो ।


    प्रकाशित : शनिबार, आश्विन १२ २०८१११:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार