२०८३, कार्तिक १७ गते मंगलबार

अकबरे खुर्सानी तराईहुँदै काठमाडौँसम्म

अकबरे खुर्सानी तराईहुँदै काठमाडौँसम्म


  • मेरोभ्यूज
  • आश्विन १३, २०८१ आइतबार

  • अकबरे खुर्सानी तराईहुँदै काठमाडौँसम्म

    टक्सार । पहाडी जिल्ला भोजपुरका कृषकमा अकबरे खुर्सानीको मोह बढेको छ ।

    पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ ।

    खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडौँसम्म पनि उत्तिकै छ ।

    अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको जानकारी दिए ।

    उनले भने, “अहिले प्रति केजी रु दुई सय ५० देखि रु तीन सयका दरले खुर्सानी बिक्री हुँदै आएको छ । मैले करिब वीस रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु ।” खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्नेहरु पनि छन् । पौवादुङमा गाउँपालिकाका ध्रुवकुमार राईले त्यसैमध्येको एक हुन ।

    दश वर्षभन्दा बढी वैदशिक रोजगारीमा बिताएका उनले पछिल्लो पाँच वर्षदेखि व्यावसायिक खुर्सानी खेतीमा रमाएका छन् । राईले गाउँमै ध्रुव कृषि तथा पशुपालम फर्म खोलेर व्यावसायिकरुपमा कृषि कर्म गर्दै आएको हो ।

    “वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ”, राईले बताए । रु दुई लाख खर्च गरेर दुई हजार पाँच सय विरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने राईको अनुभव छ ।

    यसअघि मकै, कोदो, आलुलगायतको खेती गर्नेहरु पनि यतिबेला अकबरे लगाउन थालेको स्थानीय सीताराम प्रधानको भनाइ छ ।

    पौवादुङमा गाउँपालिकामा व्यावसायिक अकबरे खुर्सानी सुरु गरेका मन्दिरा विश्वकर्माले यसबाट मनग्गे आम्दानी भएको बताए ।

    जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ ।

    कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नेपालका प्रायः सबै भू-भागमा अकबरे खुर्सानीको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको छ ।

    प्रदेशका पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुरलगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गरेको छ ।


    प्रकाशित : आइतबार, आश्विन १३ २०८१०९:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार