२०८३, कार्तिक १२ गते बिहीबार

छपन्न हजार दुई सय चालिस ‘मेट्रिकटन’ आलु उत्पादन

छपन्न हजार दुई सय चालिस ‘मेट्रिकटन’ आलु उत्पादन


  • मेरोभ्यूज
  • कार्तिक १४, २०८१ बुधबार

  • छपन्न हजार दुई सय चालिस ‘मेट्रिकटन’ आलु उत्पादन

    ढोरपाटन, बागलुङ । बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो । किसानले आलुखेतीतर्फ चासो देखाउन थालेपछि कृषि ज्ञान केन्द्रले लगानी गर्दै आएको छ ।

    बागलुङको तमानखोला, ताराखोला, निसीखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिकालगायत क्षेत्र आलु उत्पादनका लागि उपयुक्त रहेको हुँदा किसानलाई प्रोत्साहनसमेत गर्न थालिएको हो ।

    गत वर्ष कृषि ज्ञान केन्द्रले नयाँ क्षेत्र विस्तारका लागि रु दुई करोड ६० लाख लगानी गरेको र चालु आर्थिक वर्ष रु एक करोड ५९ लाख लगानी गर्न थालेको हो । गत वर्ष गण्डकी प्रदेश सरकारले खायन आलुखेतीका लागि रु तीन करोड ६० लाख विनियोजन गरेको कृषि कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । गत वर्ष कृषि ज्ञान केन्द्रले एक सय ३६ हेक्टर नयाँ क्षेत्रमा आलु लगाएको र यस वर्ष थप क्षेत्र विस्तार गर्ने उनको भनाइ छ ।

    बर्खे र हिउँदे गरी दुई सिजनमा आलु उत्पादन हुने जिल्लामा बर्सेनि करोडौँ भित्रिने गरेको छ । प्रमुख सिलवालका अनुसार यस वर्ष आलु तीन हजार सात सय हेक्टरमा लगाइएको थियो ।

    गत वर्षको तुलनामा बढी क्षेत्रफलमा आलु लगाए पनि उत्पादनमा ह्रास आउँदा ५६ हजार दुई सय ४० मेट्रिकटन मात्र आलु उत्पादन भएको प्रमुख सिलवाल बताउँछन् ।

    सिलवालले चैत र वैशाख महिनामा लामो खडेरी पर्दा उत्पादनमा ह्रास आएको उनको भनाइ छ । गत वर्ष प्रतिहेक्टर १६ दशमलव पाँच टन आलु उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर १५ दशमलव दुई मेट्रिकटन मात्रै उत्पादन भएको उनले जानकारी दिए ।

    प्रमुख सिलवालले भने, “पछिल्लो समय बागलुङका किसानले आलुखेतीप्रति निकै चासो दिएको छ, प्रदेश सरकारले पनि बर्सेनि बजेट विनियोजन गर्दै आएको छ, पहिले पुरानो शैलीमा खेती गर्ने किसानले अहिले आधुनिक प्रविधिको प्रयोग गर्दै गएको छ, कृषि ज्ञान केन्द्रले अहिले किसानलाई तालिम, आवश्यक बीउविजन, उपकरयन्त्र उपकरण र प्राविधिक सहयोग गर्दै गएको छ ।”

    बागलुङका किसानले उत्पादन गर्ने आलु बागलुङ, बुटवल, चितवनलगायत सहरमा पुग्ने गरेका छन् । किसानले हिउँदे आलु प्रतिकिलो रु चालीस र बर्खे आलु प्रतिकिलो रु पचासमा बिक्री गर्दै आएका छन् ।

    लामो समयको खडेरीका कारण अघिल्लो वर्षको तुलनामा झन्डै १५ प्रतिशत कम आलु उत्पादन भएको ढोरपाटन–९ का किसान झकेन्द्र विकले बताए ।

    गत वर्ष करिब रु चार लाखको आलु बिक्री गरेकामा यस वर्ष रु दुई लाख ८० हजारको मात्रै बिक्री गरेको उनको भनाइ छ ।

    “किसानका लागि कृषि ज्ञान केन्द्रले राम्रो सहयोग गरेको छ, आलुको बीउ दियो, सिँचाइका लागि पाइप उपलब्ध गराइयो, अरू यन्त्र पनि दियो, पहिले सामान्य तरिकाले आलुखेती गथ्र्यौं, अहिले प्राविधिकले भनेअनुसार गर्छौं”, विकले भने, “यस वर्ष सुरुमा बोट रामै थियो, उत्पादन चाहिँ कम भयो ।”


    प्रकाशित : बुधबार, कार्तिक १४ २०८११०:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार