२०८३, कार्तिक १२ गते बिहीबार

मिथिला क्षेत्रका डोम र बिन समुदायका मानिस चङेरा बनाउन व्यस्त

मिथिला क्षेत्रका डोम र बिन समुदायका मानिस चङेरा बनाउन व्यस्त


  • मेरोभ्यूज
  • कार्तिक १४, २०८१ बुधबार

  • मिथिला क्षेत्रका डोम र बिन समुदायका मानिस चङेरा बनाउन व्यस्त

    महोत्तरी । मधेशमा चन्द्रमासले कात्तिक टेकेपछि यहाँका अति विपन्न डोम र बिन जाति समुदायको बस्तीमा चहल-पहल बढ्छ ।

    हरेक वर्ष कात्तिक सुरु भएपछि यी समुदायका बस्तीमा बाँसका चोयाबाट निफननाफन र राखनधरनका सामान बनाउने व्यस्तता बढेको छ ।

    उनीहरू चङेरा, ढकी, छिटी, नाङ्लो, चाल्नो, हातेपङ्खा र कोनियाजस्ता सामग्री दीपावली र लगत्तैको छठमा बिक्री हुने आशमा महोत्तरीसहित मधेशका मिथिला क्षेत्रका मानिस सामान बनाउन व्यस्त भएका हुन् ।

    कात्तिक कृष्णपक्षमा यस भेगका यी दुवै समुदाय बाँससँगै खेल्छन् । अब चाडबाड नजिकिएपछि आफ्नो काममा भ्याइनभ्याइ परेको बाँसका चोयाबाट राखनधरनका सामान बनाउनेहरु बताउँछन् ।

    “कात्तिक अन्हरिया(कृष्णपक्ष)को छ दिन त भइ हाल्यो, अब त दीपावली कति छ र ? अनि त्यसलगत्तै छठ ! यी पर्वमा हाम्रो सीप बिक्ने आशमा अहिले बाँससँग खेल्दैछौ” भङ्गगाहा–४ रामनगरका केशो मुखिया बिन भन्छ, “वर्षभरिको नगद खर्चको भर यिनै पर्वमा टिकेको हुन्छ ।”

    बिनजस्तै महोत्तरीका डोमहरुका झुपर बस्तीमा पनि अहिले बाँसका कप्टेरा/चोया काढ्ने र मागअनुसारका सामान बनाउने व्यस्तता बढेको छ ।

    बाँसका चोयाबाट बन्ने यी सामान दीपावलीमा पनि बिक्री त हुन्छन्, तर मुख्यचाहिँ छठकै माग हुने गौशाला–१२ पडरियाकी अञ्जली मरिक बताउँछन् ।

    सामान्यतया छठका बर्तालुले आवश्यकताका सामान बनाइदिन पहिले नै भन्ने गरेका हुन्छन् । तर ग्राहकको पूर्व माग बाहेक पनि चोयाबाट बन्ने यी सामान बिक्री हुने आशमा अहिले डोम र बिन समुदाय बाँस खोज्ने र चोया काढ्ने काममा परिवार नै लागेका छन् ।

    कात्तिकको पहिलो पक्ष डोम र बिन समुदायको कैयौं महिनाअघिदेखिको छोराछोरीको माग पूरा गर्ने सपना साचिएको समय हो । घरमा छोराछोरी र परिवारजनले गर्ने ‘फर्माइस’ घरमूलीले कात्तिक लाग्न देउ भनेर थमाएका हुन्छन् ।

    यसबेला बिक्ने आफ्नो सीपले स-साना नानीहरुको रहर पूरा गर्ने, नयाँ लुगा लइाइ दिने, मिठोमसिनो खाने र वर्षभरिको नुनतेलको जोहो गर्ने कात्तिकका पहिला र दोस्रो साता हुने गरेका बर्दिबास–१ कै भोगेन्द्र मरिक बताउँछन् ।

    बिन र डोम बाँसका चोयाबाट नाङ्ला, चाल्ना, छिटी, हातेपङ्खासहितका सामान बनाउन सिपालु मानिन्छन् ।

    दीपावली र छठमा मात्र आफूहरुको सीप बिक्ने गरेको यी दुवै जाति समुदायको समान पीडा छ । पुर्ख्यौली पेसा र सीप पर्व बाहेक अन्य बेला बिक्न छाडेपछि बिन र डोम समुदायका नयाँ पुस्ता अन्य पेसा र सीपका क्षेत्रमा जान थालेका छन् ।

    हाल ५० वर्ष सेरोफेरोका बिन र डोमको शेषपछि यहाँ बाँसका चोया काढेर टोकरी, मान्द्रा, डोको बनाउने भेटिन कठिन हुने चिन्ताले रामगोपालपुर बजारचोक नजिकका प्रताप मरिकले पिरोलिएको छ ।

    बिन र डोम समुदायका पाँच दशकमाथिका उमेर समूहका मानिस चोया खेलाए आय-आर्जनको आश गर्दैछन् ।

    “बाबु-बाजेले यही काम गरे, हामीले यही सिक्यौँ यही दीपावली र छठको आश छ हामीलाई हो” रामगोपालपुर बजारचोक नजिकका प्रताप मरिकले भने । “हाम्रो वर्षभरिको नगद खर्चको ब्यौंत (जोहो)गर्ने बेला यही हो, अहिले चुके वर्षभरि नगद हेर्न पाँइदैन” लोहारपट्टीको डठोरा बस्तीका रत्नेशर मरिक भन्छ, “स-साना नानीहरुको चाहना हामीले दीपावली र छठ पर्वमा पूरा गर्ने आशा गरेका हुन्छ ।”

    अन्य बेला आफ्नो सीपको खासै माग नहुने हुँदा वर्षभरिको खर्चको जोहो पनि यसै बेला गर्नु पर्ने रत्नेशर बताउँछ ।

    बाबु-आमा काममा ब्यस्त भएसँगै सामान बनाइ दिन भन्न आउने ग्राहक बाक्लिएपछि स-साना नानीको फर्माइस पनि बाक्लिने गरेको छ ।

    “बाबु, दिबाली(दीपावली) मे हमरा फुटबल लादिहा” (बुबा, दीपावलीमा मलाई फुटबल ल्याइदिनु होला) पर्वका लागि माग भएका चोयाका सामान बुनी रहेकी बर्दिवास–१ का भोगेन्द्र मरिकको छेउमै खेल्दै आइपुगेको आठ वर्षीय छोरा शिवु मरिकको माग छ ।

    जनजाति समूहका बिन र दलित समुदायका डोम दुवैको शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा पहुँच कम छ । खासमा बिनभन्दा डोमहरुको जीवनचर्या अझ बढी अभाव र कष्टमा देखिन्छ । गरिबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्निसंस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका समान बेचेर प्राप्त हुने आम्दानी र सुँगुँर पाल्ने पुर्ख्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ ।

    तिहार र छठ भने आफूहरुले पनि निष्ठापूर्वक मनाइने भएकाले यी पर्व प्रयोजनका सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाइने गरिएको डोमहरु बताउँछन् ।

    महोत्तरीका सबै नगर, गाउँ–बस्तीमा सीमित सङ्ख्यामा यी जाति समुदायको बसोबास छ । यी दुवैको सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक र शैक्षिक अवसरमा निकै कम पहुँच छ ।

    अवसर नपाएका सीमान्तकृत समुदाय, दलितहरुको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बजेट भाषण र सम्बोधनमा सुनिने गरिएपनि यस्ता कार्यक्रम भने यी समुदायबीच खासै नपुगेको सामाजिक अभियानीहरुको टिप्पणी सुनिन्छ ।

    सरकारी कार्यक्रमको प्रभावकारी अनुगमन नहुँदा अवसर नपाएका यी समुदायको उत्थानको काम हुन नसकेको सामाजिक संस्था ‘प्रयास’ अध्यक्ष प्रवीण कर्ण बताउँछन ।


    प्रकाशित : बुधबार, कार्तिक १४ २०८११०:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार