२०८३, कार्तिक १२ गते बिहीबार

अकबरे खुर्सानीको व्यावसायिक खेती

अकबरे खुर्सानीको व्यावसायिक खेती


  • मेरोभ्यूज
  • कार्तिक २२, २०८१ बिहीबार

  • अकबरे खुर्सानीको व्यावसायिक खेती

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे(डल्ले)जातको खुर्सानीको व्यावसायिक खेती थालेका छन् ।

    कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिकरुपमा व्यावसायिक अकबरे खेती गर्न थालेको जानकारी दिए ।

    “भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीको व्यावसायिक अकबरे खुर्सानी खेती सफल देखिएको छ”, उनले भने, “बेनी, दरवाङ, तातोपानी, गलेश्वरलगायत बजार क्षेत्रमा आवश्यक पर्ने अकबरे खुर्सानी तराई र पूर्वी पहाडी जिल्लाबाट ल्याउने क्रम घटेको छ ।”

    भकिम्लीको गङ्गा पशुपक्षी तथा फलफूल कृषि फार्मका सञ्चालक खिमबहादुर आले मगरले कोदो, मकैलगायत परम्परागत खाद्यबालीको विकल्पमा सात रोपनी जमिनमा हालसम्म उत्पादन भएको सात सय किलोग्राम अकबरे खुर्सानी बेचेर रु एक लाख ७५ हजार आम्दानी गरेको बताए ।

    “बेनीका तरकारी पसलमा होलसेलमा प्रतिकिलो रु दुई सय ५० का दरले अकबरे खुर्सानी बिक्री भएको छ”, उनले भने, “परम्परागत अन्नबालीको तुलनामा खुर्सानी खेतीबाट धेरै गुणा बढी आम्दानी गर्न सकिन्छ ।”

    आलेका साथै बेलढुङ्गा कृषक समूहले सात रोपनी, चिनाखेतका दीपक पुन, दिवस घर्तीलगायतका किसानले व्यावसायिक अकबरे खुर्सानी खेती गरेका छन् ।

    बेलढुङ्गा कृषक समूहका सचिव भीमबहादुर रोकाले ताप्लेजुङबाट बीउ ल्याएर परीक्षणका लागि गरेको अकबरे खुर्सानी खेती सफल भएपछि व्यावसायिक खेती थालेको बताए ।

    उनाइस जना किसानले रु पाँच/पाँच लाखका दरले लगानी गरेर ३५ रोपनी जग्गा भाडामा लिएर बसाइँ-सराइसँगै बाँझिएको खेतबारीमा खनजोत गरी खुर्सानी, किबी, सुन्तला, आलुखेती र नर्सरी सञ्चालन गरेका छन् । दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाडी र तराईको भूगोलमा अकबरे खुर्सानी खेती गर्न सकिन्छ ।

    खुर्सानी खेती भकिम्लीका किसानलाई तरकारी खेती प्रवर्द्धन कार्यक्रममार्फत अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख बास्तोलाले बताए ।


    प्रकाशित : बिहीबार , कार्तिक २२ २०८११०:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार