२०८३, कार्तिक १२ गते बिहीबार

जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी

जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी


  • मेरोभ्यूज
  • मंसिर १, २०८१ शनिबार

  • जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी

    धरान,सुनसरी । सङ्खुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो ।

    हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उनले लामो समयसम्म टाढा–टाढासम्म पनि पुगिन । लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गरेकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गरेको छिन ।

    जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उनले यतिबेला सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आएकी छिन । “पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ”, उनले सुनाइन ।

    सुरुवाती समयमा उनी जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली र रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्थिन ।

    “सुरुका दिनमा विभिन्न जिल्ला घुम्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले भने अधिकतम मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुन्छ”, उनले भनिन “जडीबुटी बिक्रीबाट भएको आम्दानीले परिवारको खर्च र सन्तान पढाउन पुगेको छ ।”  उनले यसै आम्दानीबाट धरानको बगरकोटमा साढे दुई तलाको घर पनि बनाइसकेकी छिन ।

    उनले सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासादेखि सिक्किम, दार्जिलिङबाट समेत जडीबुटी ल्याउनुहुन्छ । कहिले आफै गएर त कहिले अर्डर गरेकै भरमा इटहरीमा जडीबुटी आइपुग्ने उनले बताइन ।

    उनको पसलमा यार्सागुम्बा, चिरैतो, पदमचाल, हर्बो, पाषणभेद, सतुवा, जेठी मधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिम्मुरलगायत तीन सयभन्दा बढी जडीबुटी बिक्रीका लागि राखेकी छिन ।

    जडीबुटी बिक्रीको अनुमति लिइसकेपछि भने निक्कै सहज भएको उनको भनाइ छ । त्यसमाथि बर्सेनि नगरपालिकाले औषधि व्यापारसम्बन्धी तालिमसमेत दिने गरेको छ ।

    तालिमले गर्दा आफूलाई यसबारे थप ज्ञान हासिल भएको समेत उनले बताइन ।

    शेर्पा जस्तै धरान–८ का आचुङ्मा भोटे इटहरी–६ को टेङ्ग्रा खोला नजिकै खुला आकाशमुनी पारिलो घाममा जडीबुटी बिक्री गर्दै गर्दा भेटिनुभयो । उनले पनि जडीबुटी व्यवसायमा लागेको झण्डै दुई दशक हुन लाग्यो । पछिल्लो समय जडीबुटीबाट आम्दानी राम्रो भएको उनले सुनाइन ।

    पुर्ख्यौली घर सङ्खुसभा भएका उनी जडीबुटी व्यापारकै लागि १५ वर्षअघि धरान झरेको सुनाइन ।

    “सुरुवाती दिनमा हिमालका जडीबुटी तराई झरेर बिक्री गरी उतै फर्किन्थ्यो, त्यो समयमा अस्पतालको सहज पहुँच नहुँदा बिरामी हुँदा धेरैका लाग जडीबुटीको विकल्प थिएन”, उनले भनिन, “पछिल्लो समय फेरि यसको माग बढेको छ ।”

    पुर्खाले समेत यही व्यापार गरेकाले आफूले पनि यही पेसा अपनाएको उनको भनाइ छ । उनले जडीबुटी बिक्रीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी हुने गरेको सुनाइन ।

    “अहिले जडीबुटीप्रति धेरैको विश्वास बढ्दै गएको छ, काठमाडौँ, विराटनगर, मोरङ, झापालगायतका ठाउँहरुबाट समेत फोन गरेर जडीबुटी अर्डर गर्छ”, उनले भनिन, “पहिले जडीबुटीले पनि रोग निको हुन्छ र ? भन्नेहरु पनि अहिले जडीबुटी किन्न थालेका छन् ।”

    इटहरीको पूर्वको हटिया खोला किनारमा जडीबुटीको व्यापार गर्दै आएका धरानका दावा शेर्पा पनि दस वर्षदेखि यही पेसामा छन् । उनले भने, “जडीबुटी बिक्रीबाटै परिवार राम्रोसँग चलेको छ, दैनिक रु पाँच हजारदेखि दस हजार व्यापार हुन्छ ।” उनले पनि नेपालका विभिन्न ठाउँ र भारतबाट समेत जडीबुटी आउने गरेको सुनाए ।


    प्रकाशित : शनिबार, मंसिर १ २०८११०:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार