२०८३, कार्तिक १२ गते बिहीबार

नब्बे वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय

नब्बे वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय


  • मेरोभ्यूज
  • मंसिर १, २०८१ शनिबार

  • नब्बे वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय

    डडेल्धुरा । सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ । तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिकरुपमा सक्रिय छन् ।

    यो उमेरमा उनले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक रु वीस लाखसम्म आम्दानी गर्दै आएको छ । उनले ४० रोपनी जग्गामा तरकारीखेती गरेको छ । तरकारीबाटै वार्षिक रु दस लाख आम्दानी लिने गरेको उनले बताए ।

    विगत ३० वर्षदेखि भट्टले खसीबाख्रा र भैँसीपालन गर्दै आएको छ । हाल उनको गोठमा ५० वटा खसी बाख्रा छन् । तीन वटा उन्नत जातका भैँसी छन् । घरका भित्ताभरी माहुरीका आधुनिक तथा परम्परागत घार छन् । आँगनको कुनामा खरायोका खोर छन् । कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उनले बताए ।

    “सानैदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन”, उनले भने, “यही काम गर्दागर्दै मर्न परोस अरु मलाई केही चाहिएन ।” खेती र पशुपालनबाटै आर्थिकरुपमा सम्पन्न उनले गाउँघरका छिमेकीलाई सङ्कट पर्दा सरसापटी दिने गर्छन् ।

    उनको जाँगर देख्ने जोकोहीले प्रेरणा लिने गरेको स्थानीय दुर्गा भट्टले बताए । उनले व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेदेखि हालसम्म सरकारी अनुदान लिएको छैन ।

    तर माहुरीका लागि भने केही अनुदान पाए सहज हुने र हौसला मिल्ने आशामा छन् । भट्टको अनुभवमा पछिल्लो समयमा हावापानीमा देखिएको परिवर्तनले धेरै असर गरेको छ ।

    बजारमा पाइने नयाँ बीउ, मल, विषादीले पनि असर गरेको उनको अनुभव छ । पहिले–पहिले पाँच किलोसम्मको काउली उत्पादन हुने उनको बारीमा आजभोलि त्यत्रो काउली फल्दैन । पहिलेको परिमाणमा भैँसीले दिने दूध नै घटेको उनले बताए ।

    “कतै पछिल्लो समयमा आएका यी विकासे घाँसले दूधको उत्पादन घटाएको त होइन ?”, उनले भने । देशमै व्यावसायिक कृषि गर्न सके केही हदसम्म रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ । आफ्नै देशमा पसिना बगाउन सके सोहीअनुसार फल प्राप्त गर्न सकिने उनको सुझाव छ ।

    -----


    प्रकाशित : शनिबार, मंसिर १ २०८११०:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार