२०८३, कार्तिक १२ गते बिहीबार

माछा बेचेर वार्षिक तीन करोड रुपैयाँ आम्दानी

माछा बेचेर वार्षिक तीन करोड रुपैयाँ आम्दानी


  • मेरोभ्यूज
  • मंसिर १५, २०८१ शनिबार

  • माछा बेचेर वार्षिक तीन करोड रुपैयाँ आम्दानी

    पर्वत । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवा-युवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्व राष्ट्र सेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड रुपैयाँ आम्दानी गरेका छन् ।

    मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले गाउँमै रेन्बो ट्राउट माछापालनबाट यति धेरै आम्दानी गर्न सफल भएको हो ।

    एक्काइस वर्ष लामो प्रहरी सेवा र २०७४ सालको स्थानीय तहको निर्वाचनमा मोदी–२ देउपुरको वडाध्यक्ष बनेर कार्यकाल सकेका तिमिल्सिनाले अन्य चार जना स्थानीयवासीको लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गरेको हो ।

    मोदी–५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा झण्डै तीस रोपनी क्षेत्रमा सञ्चालित फार्मबाट वार्षिक तीन करोड रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए ।

    फार्ममा उत्पादन क्षमता रहेको तीस टन माछा बिक्रीबाट तीन करोड रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए ।

    लामो समय ट्राफिक प्रहरीमा रहेर प्रहरी सहायक निरीक्षकबाट अवकाश लिएका तिमिल्सिना जागिर छाडेको तीन महिनामै जनप्रतिनिधि बने ।

    जनप्रतिनिधि निर्वाचित भएसँगै व्यवसायमा जोडिएका तिमिल्सिनाको हालको समय माछापालनमा बित्ने गरेको छ ।

    चारैतिर वन र दुईतिर खोलाको बीचमा रहेको मोदी रेम्बो ट्राउट प्रालि चिसो पानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको ठाउँ हो ।

    पोखरा–बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उनको फार्म जोकोहीका लागि मन लोभ्याउने केन्द्र बन्न पुगेको छ ।

    उनको फार्म यतिबेला विभिन्न क्लब, सङ्घ/संस्था, विद्यालय तथा कलेजका विद्यार्थी एवं किसानका लागि अवलोकनस्थल पनि बनेको छ ।

    पछिल्लो समय बाह्य पर्यटक तथा मत्स्यप्रेमी अवलोकन गर्न, माछा मार्न, विभिन्न परिकार बनाएर खानका लागि फार्ममै आउने गरेका छन् ।

    उत्पादित ट्राउट माछा पोखरा–काठमाडौँका माछा पारखीसम्म पुर्याउन भ्याइनभ्याई छ ।

    वार्षिक तीस टन माछा उत्पादन हुने फार्ममा हाल पाँच जनाले रोजगारी पाएका छन् ।

    विसं २०७१ देखि सुरु भएको उक्त फार्म केही वर्षअघि आएको बाढीले पूर्णरुपमा क्षति भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्काले सामूहिक लगानीमा पुनःसञ्चालन गरेको थियो ।

    अस्थायी र स्थायी गरी ३७ वटा पोखरी रहेका सो फार्ममा सुरुमा तत्कालीन कृषि विकास कार्यालय पर्वतले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

    पछिल्लो समयमा कृषि ज्ञान केन्द्रले केही प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छभने मत्स्य विकास केन्द्रले पनि फार्मको स्तरोन्नति तथा पोखरी निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

    रेम्बो ट्राउट प्रतिकेजी एक हजार रुपैयाँमा बिक्री हुन्छ । स्थानीय लोकल मोदीखोलाको माछाको स्वादमा पाइने उनको फार्मको माछा धेरैको रोजाइमा छ ।

    कुश्मा–बागलुङको बजारका अतिरिक्त पोखरा, काठमाडौँकामा माछाको माग रहेको तिमिल्सिनाले बताए । गत वर्षदेखि उनले भुरा आफैँ उत्पादन गर्न थालेको छ ।


    प्रकाशित : शनिबार, मंसिर १५ २०८१११:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार