२०८३, कार्तिक १२ गते बिहीबार

बेतका फर्निचरबाट मासिक रु ५० हजार आम्दानी

बेतका फर्निचरबाट मासिक रु ५० हजार आम्दानी


  • मेरोभ्यूज
  • मंसिर १६, २०८१ आइतबार

  • बेतका फर्निचरबाट मासिक रु ५० हजार आम्दानी

    धरान, सुनसरी । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेको छ ।

    परिश्रमी उनले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आएको छ । उनले भने, “बेतका सामान बनाउने र बिक्री गर्दै आएको २२ वर्ष भयो । फर्निचर महँगो भए पनि यसको बजार छ । इटहरी, तरहरा र मोरङको पथरीसम्म बिक्री गर्दै आएको छु, ती स्थानमा मात्र बिक्री गर्दा खर्च कटाएर मासिक रु ५० हजारसम्म बचाउन सकिन्छ ।”

    बेतबाट बनेका डोका, डाला, नाङ्लो मुढा, कोक्रोलगायत फर्निचरमा ग्राहकको आकर्षण बढिरहेको छ । उनले भने, “बेतको फर्निचर आकर्षक र टिकाउ भएकाले ग्राहकको रोजाइमा आफ्ना उत्पादन परेका छन् ।”

    उनले सजावटका सामान पनि बनाउन थालेको छ । ती सामानको उच्च माग रहेकोले आफू त्यसमा नै बढी व्यस्त हुने गरेको बताए । हाल उनको पसलमा १२ प्रकारका बेतका सामान बिक्रीमा छन् ।

    बेतबाट बनेका सजावटका सामान रु सात सयदेखि रु १६ हजारसम्ममा बिक्री हुने गरेका छन् ।

    सिलगुडीबाट एक बण्डल बेतलाई रु तीन हजार पाँच सय पर्ने गरेका छन् । एक बण्डल बेतबाट पाँचवटासम्म सामान बनाउन सकिने भएकाले आफूलाई घाटा नभएको उनले बताए ।

    राजकुमारजस्तै धरान–९ का पर्शु तामाङले पनि बेतका सामग्री बेचेर मनग्ये आम्दानी गरेको छ । एघार वर्षदेखि बेतका फर्निचर बनाउँदै आएका उनले मासिक रु ८० हजारसम्म आम्दानी हुने गरेको बताए ।

    उनले कोक्रो, सोफा, डाइनिङ टेबल, कुर्सी, मुढा, ह्याङ्गर, धाकी, गमला र्याकलगायत सामान बनाउने गरेको छ । उनले भने, “बेतको सामान बनाउन जोकोहीले सक्दैनन्, त्यसैले भारतीय कालीगढ राखेर काम गरिरहेको छु, बिक्रीको समस्या छैन । बेतको सामान दसदेखि २५ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।” हातमा सीप भए रोजगारीका लागि विदेसिनु नपर्ने तथा स्वदेशमै व्यवसाय गर्न उनले युवापुस्तालाई प्रेरित गर्नुपर्नेमा जोड दिए ।


    प्रकाशित : आइतबार, मंसिर १६ २०८१०९:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार