२०८३, कार्तिक १७ गते मंगलबार

पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित

पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित


  • मेरोभ्यूज
  • मंसिर २०, २०८१ बिहीबार

  • पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित

    रामपुर, पाल्पा । जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् ।

    गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो ।

    जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्लामा ३६ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष यहाँ ३४ हजार सात सय ६२ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष तीन दशमलव छ प्रतिशतले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिए ।

    गुणस्तरीय र उन्नत जातका बीउको प्रयोग, अनुकूल मौसम, मलको उपलब्धतालगायत कारण धान उत्पादन बढेको उनले बताए ।

    “केही स्थानामा धान पसाउने बेला रोग, कीराको समस्या देखिए पनि समग्र जिल्लाभर उत्पादन बढेको छ । किसानले उन्नत जातको बीउको प्रयोग गर्नु, यसवर्ष प्रयाप्त सिँचाइ, आधुनिक प्रविधिको प्रयोगलगायत कारणले उत्पादनमा वृद्धि आएको हो”, प्रमुख चौधरीले भने ।

    उनका अनुसार यस वर्ष जिल्लामा आठ हजार छ सय २० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । गतवर्ष आठ हजार दुई सय हेक्टर क्षेत्रमा खेती गरिएको थियो ।

    गाउँगाउँमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहयोगमा सिँचाइ आयोजना कार्यक्रम सञ्चालनमा आएपछि कुलो, नहर व्यवस्थित हुँदा धान लगाउने क्षेत्रफल बढ्न थालेको प्रमुख चौधरीले जानकारी दिए ।

    सिँचाइको अभावले बाँझो रहेका जग्गामा पछिल्लो समय सिँचाइ सुविधा पुगेपछि बारी तथा बाँझिएका जमिनमा पनि किसानले धान लगाउने गरेका छन् । धानखेतीका लागि मौसम अनुकूल हुँदा उत्पादन वृद्धि भएको किसान सीता देवकोटाले बताए ।

    “रोपाइँ गरेदेखि वर्षा भइरहेकाले सिँचाइ गर्न सजिलो भयो, वर्षदिनभरि खाने अनाज राम्रो उत्पादन हुँदा खुसी लागेको छ । भकारीभरि धान भएपछि मन ढुक्क छ, कतै बीउको समस्याले पसाउने बेला रोगकीरा देखिए पनि अधिकांश किसानले यसवर्ष अघिल्ला वर्षमा भन्दा धेरै धान भित्र्याउनु भएको छ”, उनले भने ।

    जिल्लामा साबित्री, साँवामन्सुली, रामधान, हाइब्रिड, उन्नतलगायत जातका धान चलनचल्तीमा छन् । स्थानीय सरकारले अनुदानमा उन्नत जातका गुणस्तरीय बीउ उपलब्ध गराउन थालेपछि विगतका वर्षमा भन्दा पछिल्ला वर्षमा उत्पादन क्रमिकरूपमा बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।


    प्रकाशित : बिहीबार , मंसिर २० २०८१११:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार