२०८३, कार्तिक १२ गते बिहीबार

बेमौसमी काँक्रा खेतीबाट तीन महिनामै डेढ लाख आम्दानी

बेमौसमी काँक्रा खेतीबाट तीन महिनामै डेढ लाख आम्दानी


  • मेरोभ्यूज
  • मंसिर २५, २०८१ मंगलबार

  • बेमौसमी काँक्रा खेतीबाट तीन महिनामै डेढ लाख आम्दानी

    कञ्चनपुर । बेमौसमी काँक्रा खेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै रु डेढ लाख बढी आम्दानी गरेको छ ।

    तीन कठ्ठा जग्गामा चौधरीले काँक्रा खेती गरेको छ । हालसम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले जानकारी दिए । काँक्रा प्रतिकिलो रु ७० देखि रु ८० मा बिक्री हुँदै आएको छ । काँक्रा रोप्नेदेखि टिपेर बजारसम्म लैजाने कार्यमा चौधरी खटिँदै आएका छन् ।

    बारीमा उत्पादित काँक्रा स्थानीय झलारी, कलुवापुर र अत्तरियालगायत बजारमा बिक्री हुने गरेको छ । “स्थानीय व्यापारीले काँक्रा बारीबाटै खरिद गरेर लैजाने गरेका छन्”, चौधरीले भने, “व्यापारी नआएको दिन आफैँ साइकलमा राखेर काँक्रा बजारमा पुर्याएर बिक्री गरिँदै आएको छ ।”

    अझै बारीमा रु एक लाख मूल्य बढीका काँक्रा बिक्री गर्न बाँकी रहेको उनले बताए । गत वर्ष उनले दुई रु लाख मूल्यका बेमौसमी काँक्रा बिक्री गरेको थियो । पिपलाडी गाउँमा व्यावसायिक तरकारी खेतीमा धेरै किसान भए पनि बेमौसमी काँक्रा उत्पादन गर्नेमा चौधरी एक्ला किसानका रुपमा रहेको छ ।

    बेमौसमी काँक्रा खेती गरेर बजार मूल्य पनि बढी पाइने र बजारमा सहजै बिक्री गर्न सकिने भएकाले यस खेतीलाई दुई वर्षदेखि निरन्तररुपमा गर्दै आएको चौधरीले बताए ।

    भारतीय तरकारी खेती गर्ने व्यक्तिहरुबाट चौधरीले बेमौसमी तरकारी खेती गर्ने तौरतरिका सिकेको बताए ।

    काँक्रासँगै चौधरीले लौका, भन्टा, खुर्सानी, तितेकरेला, चिचिण्डा, धनियाँ, आलु, लसुन, काउली, बोडीलगायतको खेती गर्छ ।

    काँक्रा खेतीबाट रु तीन लाख र अन्य तरकारीखेती गरी वर्षमा उनले रु सात लाखदेखि रु १० लाखसम्मको आम्दानी गर्दै आएका छन् ।

    तरकारी खेती गरी आएको आम्दानीबाट चौधरीले छोरालाई काठमाडौँमा डेरामा राखेर मेकानिकल इञ्जिनियर पढाउँदै आएका छन् । उनले छोरीलाई महेन्द्रनगरमा कम्प्युटर विज्ञानको पढाइ गराउँदै आएका छन् ।

    “तरकारी खेतीबाट आएको आम्दानीमध्ये केही छोराछोरीका लागि खर्च हुन्छ”, चौधरीले भने, “बाँकी रहेको रकम घरखर्चमा सकिन्छ ।” पिपलाडी गाउँमा तरकारी खेतीमा ५० बढी परिवार संलग्न रहेका छन् । त्यसमध्ये चौधरीलाई अधिक आम्दानी गर्ने किसानमा गणना गरिन्छ ।

    चौधरीले एक दशकअघिदेखि तरकारी खेतीमा संलग्न रहँदै आएका छन् । व्यावसायिक खेतीमा संलग्न रहँदै आएका चौधरीले भने अहिलेसम्म अनुदानका कुनै पनि कार्यक्रममा समावेश हुन नपाएको गुनासो गरे ।


    प्रकाशित : मंगलबार, मंसिर २५ २०८१०३:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार